राजनीति

छानविन गर्ने हो भने सबै नेता जेल जान्छन्ः महासचिव विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन्।

आईतवार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशमा भ्रष्टाचारको समस्या रहेको बताएका हुन्।

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए। उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको उल्लेख गरे।

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने उल्लेख गरे। सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए।  पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको उनको भनाइ थियो।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए। उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे। उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १० वैशाख २०८० १२:१९ आइतबार

महासचिव नेत्रविक्रम चन्द