राजनीति

मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा छैन्, चुनौती कायम छ: प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती कायम रहेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत भने देखा परेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको बताए।

‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए।

प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गरे। उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे। देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गरे। नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: ९ वैशाख २०८० ०९:०६ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल