राजनीति

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ

धनगढी— १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्। 

निर्माण सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्गको उद्घाटनलाई स्थानीयले सस्तो लोकप्रियताका लागि गरिएको असफल प्रयास भन्दै टिप्पणी गरेका छन्।

भारतीय राजदूत रणजीत रायलाई नेकपा एमाले र जनमोर्चा कार्यकर्ताले चर्को नाराबाजीका साथ कालोझण्डा समेत देखाएका छन्। एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशी सहित ६ जना पक्राउ परेको प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए। भारतीय राजदूतलाई आसन ग्रहण गराउने क्रममा ‘भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लगाएर कालो झन्डा देखाउने मध्येबाट प्रहरीले ६ जना पक्राउ गरेको हो।

कार्यक्रममा नेपाल र भारतको राष्ट्रियगान बजाउने तय भएको थियो। भारतीय राष्ट्रियगान बज्न सुरु भएपछि सहभागीहरुले भारतविरुद्ध नाराबाजी सुरु गरेका थिए। स्थिति तनावपूर्ण भए पनि भारतीय राष्ट्रियगान रोकिएन।

उद्‌घाटन भएको हुलाकी राजमार्गको रतनपुरदेखि ६ वर्षदेखि निर्माणाधीन छ। निर्माण ठेक्काको जिम्मा लिएको गावर इण्डिया काम अधुरै छोडेर फिर्ता गइसकेको छ। वसन्ता वन क्षेत्रमा वन बिभागले रुख काट्ने आदेश नदिएका कारण सडक निर्माण रोकिएको हो।

धनगढीदेखि सत्तिसम्म ६२ किलोमिटर हुलाकी राजमार्ग मध्ये वसन्त वन क्षेत्रमा पर्ने लालबोझीसम्मको १८ किलोमिटर सडक निर्माण हुन बाँकी रहेको हो। राजमार्ग अन्तर्गतका ६ वटा पुलमा निर्माण भएकै छैनन्।

निर्माण सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्गको उद्घाटनलाई स्थानीयले सस्तो लोकप्रियताका लागि गरिएको असफल प्रयास भन्दै टिप्पणी गरेका छन्। मन्त्री लेखकले बाँकी रहेको १८ किलोमिटरको टेण्डर भइसकेको जानकारी दिए।

हुलाकी राजमार्ग आयोजना धनगढीका तुरन्त मण्डलका अनुसार अहिलेसम्म रुख काट्ने आदेस बन बिभागले दिएको छैन।

 

प्रकाशित: ६ माघ २०७३ ०७:०५ बिहीबार

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन भारतीय राजदूतलाई कालोझन्डा देखाउने पक्राउ