राजनीति

बजेट अभावले चाहेर पनि काम गर्न सकिंदैन: शान्तिमन्त्री

नेपालगन्ज- शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले बजेट अभावका कारण थुप्रै काम चाहेर पनि गर्न नसकिएको बताएकी छन्। नेपाली कांग्रेस बाँकेले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्वोधन गर्दै कांग्रेस कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले भनिन् ‘एउटा जिल्लाबाट १ देखि २ हजार द्धन्द्ध पीडितका निवेदन आउँछन्, हामीले सबै डाटा हेरेर सरकारसँग ३० अर्ब बजेट मागेका छौं, तर सरकारले यति धेरै बजेट दिन सक्ने अवस्था छैन।’

द्वन्दमा भत्केका भौतिक पूर्वाधार निर्माणको काम शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गरिरहेको भए पनि यो काम ओझेलमा पर्ने गरेको उनले बताए। मन्त्रालयभित्र धेरै जटिलता रहेको उनले खुलाईन्। ‘काम गर्ने क्रममा कानुनी कठिनाई हुँदा रहेछन्, त्यतिकै चुनौती पनि छ,’ यादवले भनिन्। मन्त्रायल अन्तर्गत बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्वन्धी आयोगले आफ्नो जिम्मेवारी पुरा गर्नेमा उनले विश्वास गरिन्। द्वन्द पीडितलाई न्याय दिलाउन आफुले हरसम्भव प्रयास गर्ने मन्त्री यादवले प्रतिवद्धता जनाईन्।

मन्त्री यादवले आइतबार नै नेपालगन्जका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधीसँग मन्त्रालयले गरेको कामबारे छलफल गरेको स्थानीय शान्ति समिति बाँकेका कार्यालय सचिव पिताम्वर आचार्यले जानकारी दिए।

प्रकाशित: २ माघ २०७३ १२:१३ आइतबार

बजेट अभावले चाहेर काम गर्न सकिंदैन शान्तिमन्त्री