राजनीति

जहाजको ढोकामै पुगेर एमाले अध्यक्ष ओलीको स्वागत

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपालगन्ज विमानस्थलमा स्वागत गर्न पुगेका एमाले कार्यकर्ता लगायत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका कार्यकर्ताले जहाजको ढोकामै पुगेर स्वागत गरेका छन्। नेपालगन्ज बिमानस्थलमा सोमबार बिहान ओर्लिएका ओलीलाई स्वागत गर्न कार्यकर्ताले हवाई सुरक्षाको गम्भिर उल्लंघन गरेका हुन्।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन उद्घाटन गर्न नेपालगन्ज आएका हुन्। ओलीको स्वागतका लागि एमालेका नेता तथा कार्यकर्ता, बाँकेका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सुरक्षा अंगका प्रमुखसहित एमाले निकट युवाहरु ठुलो संख्यामा बिमानस्थलको भिभिआईपी कक्ष अगाडी पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार जहाज जब अवतरण गरेर यात्रु ओराल्ने ठाउँमा आईुपुग्यो, कार्यकर्ताहरु स्वागत गर्न अगाडी बढेका थिए।  

बुद्ध एयरको एटिआर–७२ जहाजमा ओलीसहित पार्टीका नेता तथा सांसदहरु सवार थिए। बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले रोक्न खोज्दा खोज्दै पनि एमालेका कार्यकताहरु जहाजको ढोका नजिकै पुगेको बताए। ‘जहाज रोक्ने ठाउँमा पहेलो घेरा लागेको हुन्छ, सुरक्षा मापदण्ड अनुसार त्यो भन्दा भित्र जान मिल्दैन,’ उनले नागरिकसँग भने ‘तर पहेलो घेरा नाघेर भित्रै गईहाले, हामीले रोक्न खोज्यौ, प्रहरीले पनि रोक्न खोज्यो, तर मान्दै मानेनन्।’ आगामी दिनमा यस्ता गल्ती दोहोरिन नदिन यसबारे सरोकारवालाबीच छलफल गर्नुपर्ने शाह बताउँछन्। उनका अनुसार उक्त जहाज करिव १० बजेतिर बिमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल प्रहरी ईन्चार्ज रबिन्द्र बमले भिआईपीहरु धेरै भएकाले स्वभाविक रुपले भिड धेरै बढेको बताए। ‘हामीले सुरक्षा घेराभन्दा भित्र नजान अनुरोध चाही गरेको हो, तर धेरै भिआईपी भएको हुँदा अघिपछिको भन्दा आज धेरै भिड भएको जस्तो देखिन्थ्यो,’ उनले भने।  

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले एमाले अध्यक्ष ओलीको स्वागत गर्न जादाँ उनका कार्यकर्ताहरु पहेँलो घेरा लगाएको ठाउँभन्दा भित्रै पसेको बताए। 

‘नियमले पहेँलो घेरा लगाएको ठाउँभन्दा भित्र जान मिल्दैन, तर कार्यकर्ताहरु जहाजको भर्याङ लागेको ठाउँसम्म पुगेको पाइयो, सुरक्षाको दृष्टिकोणले यस्तो गर्न मिल्दैन,’ खनालले भने। 

प्रकाशित: २७ चैत्र २०७९ ०७:१५ सोमबार