नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव धनश्याम भुसालले देश परिवर्तनका लागि नयाँ दल (आन्दोलन) आवश्यक देखिन थालेको बताएका छन् ।उनले २०८४ सालभित्रमा अहिलेका दलले सकारात्मक हस्तक्षेप नगरे अहिलेको राजनीतिक व्यवस्था नै संकटमा पुग्नेतर्फ सचेत गराएका हुन्।
इलाममा सुरु साहित्य महोत्सवमा ‘राजनीतिः एजेन्डा कि अनुहार’ शीर्षकमा वक्ताका रूपमा प्रस्तुत भएका भुसालले आफूहरू अब अर्काे ‘पुनर्गठन र व्यवस्थापनमा’ जाँदै गरेको बताए । म लामो समयदेखि भन्दै आएको छु, अहिलेको व्यवस्थै ठीक छैन, यी दलले भएन भने अब अर्काे दल बन्नेछ,’ छलफलक्रममा उनले भने, ‘त्यो दल वा आन्दोलन भने निकै कष्टप्रद हुनेछ।’
जसले लोकतन्त्र र गणतन्त्र ल्यायो, उसैले पनि बचाउन नसक्ने अवस्था रहेको भन्दै महासचिव भुसालले अबको ५ वर्षभित्रमा अहिलेकै दलहरूबाट देश परिवर्तनका लागि हस्तक्षेप हुनुपर्ने बताए । ‘देशमा लामो समयदेखि उद्योगी, नेता र कर्मचारी मिलेर दलाल पुँजीवाद बनेको छ,’ उनले भने, ‘उद्योगी र नेतालाई मिलाइदिने काम कर्मचारीले गरिरहेका छन्,’ उनले भने, ‘लोकतन्त्रमा नेता भनेका दल हुन् तर तिनै दल र नेताले जनताको एजेन्डा बिर्सिएका छन् । देश दलाल पुँजीवादको भुुमरीमा छ।
भुसालले अहिलेसम्म स्थापित दल र तिनका नेतालाई ‘नक्कली’को संज्ञा दिए । ‘अहिलेसम्म हामीले जनतासँग गरेको कबुल पूरा गर्न सकेनौं, हामी सबै नक्कली भयौं,’ उनले भने, ‘तर, हामीलाई अहिले जसले नक्कली भनिरहेका छन्, उनीहरू त झन् मुखुण्डोमात्र हुन्, उनीहरूबाट पनि देशको आमूल परिवर्तन सम्भव छैन ।’ आफूसँग एजेन्डा नभएका र दल उम्मेदवारलाई ‘फन्टुस’को उपमा दिएका भुसालले थपे, ‘चुनावमा पनि एजेन्डैबिना फन्टुसहरूबीच प्रतिस्पर्धा भइरहेको छ, फस्टुसको प्रतिस्पर्धामा जो सबैभन्दा बढी फन्टुस छ, उसैले जित्ने हो, अहिले भइरहेको पनि त्यही हो।’
पत्रकार बसन्त बस्नेतले सहजीकरण गरेको छलफलमा लेखक खगेन्द्र संग्रौला र नेपाली कांग्रेस नेता गुरुराज घिमिरे पनि वक्ताका रूपमा थिए।संग्रौलाले गणतन्त्र र संघीयतालाई अहिल ेसम्मकै उत्तम राजनीतिक व्यवस्था भएपनि नेतृत्वका कारण व्यवस्थाकै बदनाम भइरहेको बताउँदा भुसालले व्यवस्थामाथि नै जोखिम औंल्याएका हुन्।घिमिरेले वर्तमान राजनीतिक व्यवस्था कुलीनतन्त्रतिर जाने जोखिम बढेको भन्दै त्यसलाई सुधार्नुपर्ने नभए नयाँ आन्दोलनमा जानुपर्ने धारणा व्यक्त गरे । सदरमुकामको गौतम बुद्ध सभागृहमा सुरु महोत्सव सोमबारसम्म चल्नेछ।
प्रकाशित: २६ चैत्र २०७९ १०:३७ आइतबार