राजनीति

बढी बोले पूर्व राजाले दु:ख पाउने छन्: प्रधानमन्त्री

दाड- प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनावश्यक रुपमा सल्बलाउन खोज्नु जायज नभएको भन्दै चुप लाग्न चेतावनी दिएका छन्। अन्यथा पूर्व राजाले दु:ख पाउने दाहालको चेतावनी दिएका छन्। मुलुकको समसामयीक  बिषयमा अनावश्यक रुपमा पूर्व राजाले विज्ञप्ती प्रकाशित गरेर ‘धमिलो पानीमा माछा मार्न खोजेको’ टिप्पणी गरेका दाहालले चुप लागेर बस्नुनै शाहको बुद्धिमानी हुने बताए। उनले पूर्व राजाको यो अभिव्यक्ति उनी बलियो नभई छट्पटिका कारण आएको बताए। ‘पूर्व राजा बलियो भएका होईनन्,उनि छट्पटिएको मात्रै हो,’प्रेस सेन्टर नेपालले शनिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा दाहालले भने ‘उनि चुप लागेर बसे हुन्छ, बढि बोले भने दु:ख पाउने छन्।’

 पूर्वराजाको यहि चासोकै कारण मन्त्रिपरिषद बैठकमा ‘दरबार हत्याकाण्ड’ छानवीनको प्रसंग उठेको भन्दै दाहालले आँफू यो घटनाको छानवीन हुनुपर्ने पक्षमा रहेको बताए। गत बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा पूर्व राजाको अभिव्यक्तिको बिषयलाई लिएर दरबार हत्याकाण्डको छानवीन गरिनु पर्ने प्रसंग उठेको थियो। दाहालले यो बिषयमा उच्चस्तरिय छानवीन थालिनु पर्ने भन्नेमा आँफू लामो समय देखि रहेको बताए। ‘म पहिला प्रधानमन्त्री भएकै बेला देखि दरबार हत्याकाण्डको उच्चस्तरिय छानवीन गरेर जाऔँ भनेको हुँ,’दाहालले भने ‘म लामो समय देखि यो घटनाको निष्पक्ष छानवीन गरिनुपर्छ भन्ने पक्षमा छु।’ प्रधानमन्त्री दाहालले बिहीबारको बैठकमा मन्त्रीहरुले दरबार हत्याकाण्डको छानवीन गरिनु पर्ने भन्दै व्यक्तिगत रुपमा आवाज उठाएको तर बैठकमा प्रस्तावकै रुपमा यो कुरा भने नआएको बताए। उक्त बैठकमा पूर्व राजाको अभिव्यक्तिको बारेमा आँफूलाई जानकारी गराएको र राजनीतिक बिषयमा धारणा राख्न भनेपछि मन्त्रीहरुबाट यो कुरा आएको उनले बताए।  उनले भने ‘मुलुकको राजनीतिक बिषयमा धारणा राख्न भनेपछि केहि मन्त्रीहरुले दरबार हत्याकाण्डको छानवीनको कुरा उठाउनु भएको हो,तर वैठकमा प्रस्तावकै रुपमा यो कुरा आएको भने होईन।’

प्रधानमन्त्री दाहालले संसदीय प्रकृयाभित्र रहेर संविधान संशोधन प्रस्ताव फेल गराउन प्रतिपक्षी एमालेलाई चेतावनी दिएका छन्। उनले भने ‘एमालेले प्रस्ताव फिर्ता गराओस्,तर फिर्ताको कुरा मान्य हुँदैन।’ आन्दोलन गरेरै सशोधन प्रस्ताव फिर्ता गराउने प्रयास कुनै पनि हालतमा सफल नहुने भन्दै दाहालले एमालेलाई संसदीय पद्धति पालना गर्न आग्रह गरे। ‘संसदीय पद्धति पालना गरेर यसको प्रकृयामा एमाले सामेल होओस्,’उनले भने ‘प्रकृयागत रुपमा दुईतिहाई जुटाएर संशोधन प्रस्ताव फेला गराए पनि म स्वीकार्न तयार छु।’ आँफू संशोधन प्रस्तावको प्रस्तावक भएकाले जसरी पनि पास हुनुपर्छ भन्नेमा रहेको भएपनि संसदीय पद्धति अनुसार ‘भोटिङ ’निर्णयलाई मान्न तयार रहेको बताए। ‘भोटिङमा जाऔँ,’उनले भने ‘संसदको बहुमत जसको पक्षमा हुन्,त्यो निर्णय मलाई मान्य हुने छ।’ 

 

प्रकाशित: ९ पुस २०७३ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App