राजनीति

आवश्यक परे सरकार परिवर्तन : मन्त्री नायक

भक्तपुर- कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाका माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा सहभागी नायकले मधेसी मोर्चा र एमालेलाई आआफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण सिर्जना गर्नेतर्फ लाग्न आग्रह गरे।

सबैले स्थानीय तहको निर्वाचनको विषय उठाइरहेको तर संसद् नचल्दा निर्वाचन विधेयक रोकिएको उनले बताए। उनले विधेयक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नेतर्फ अगाडि नबढे नेपाल र नेपालीले ठूलो क्षति भोग्नुपर्ने पनि बताए।

राष्ट्रको निकासका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुपर्ने पनि उनले बताए। एमालेले परम्परागत प्रतिपक्षको भूमिकाभन्दा पनि राष्ट्रिय पार्टीको भूमिका निर्वाह गरेर समस्याको निकासका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिपक्षी भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ त्यो सान्दर्भिक नभएको टिप्पणी गर्दै उनले विदेशीको पैसाले पार्टीको संगठन विस्तार गर्ने र राष्ट्रवादको कुरो गर्नु अमिल्दो रहेको बताए।

 

प्रकाशित: ७ पुस २०७३ ०२:३३ बिहीबार

आवश्यक परे सरकार परिवर्तन मन्त्री नायक