राजनीति

प्रजातान्त्रिक योद्धा सम्मानित

काठमाडौं- मुलुकको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्‍याएका योद्धालाई सम्मान गरिएको छ। सर्वाेच्च नेता गणेशमान सिंहको १०१औँं जन्मदिवस अवसरमा शनिबार गणेशमान सिंह केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाललाई सम्मान गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाबाट प्राप्त संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए। सिंहले भने, 'संविधानको रक्षार्थ पार्टीले जस्तोसुकै निर्णय लिन तयार हुनुपर्छ।'

संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन अनिवार्य रहेको उनले बताए। लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा रहेर चलेको पार्टी भएकै कारण जनताले विश्वास गरेको बताउँदै सिंहले भने, 'संविधान सफल कार्यान्वयनका लागि सबैलाई समेटेर अघि बढ्नुपर्छ।'

यसैबीच, नेपाल विद्यार्थी संघले प्रजातान्त्रिक योद्धा स्वर्गीय भक्तबहादुर कार्कीकी धर्मपत्नी पदमकुमारीलाई आर्थिक सहयोग गरेको छ। संघका महामन्त्री कुन्दनराज काफ्लेसहितका नेता रामेछापको तिल्पुङ  पुगेर पदमकुमारीलाई ५० हजार पाँच सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन्। निःसन्तान र सहाराविहीन पदमकुमारीका श्रीमान्ले लामो समय प्रवास र जेलमा बिताएका थिए।

 

प्रकाशित: ३ पुस २०७३ ०२:३७ आइतबार

प्रजातान्त्रिक योद्धा सम्मानित