राजनीति

पुष्पखेतीमा आकर्षण बढ्यो

काठमाडौं- 'फूल बेचेर वार्षिक २५ लाख रुपैयाँको व्यापार गर्छु,' काठमाडौंका कुमार कार्की भन्छन्, 'फूलको माग बढ्दै गएकाले पुष्प नर्सरीलाई बढाउँदै आएको छु।' कार्की पहिलेको तुलनामा घरघरमा फूलका गमला राख्ने प्रचलन बढेको बताउँछन्। 'अहिले मागअनुसार फूल उपलब्ध गराउन सकेका छैनौँ,' उनले भने। काठमाडौंको कुलेश्वरमा अजिमा पुष्प नर्सरी सञ्चालन गरेका कार्कीले १३ जनालाई रोजगारी दिएका छन्।

दसैँ–तिहार, विवाह लगायत उत्सवमा प्रयोग हुने फूल पछिल्लो समय बगैँचा, घर, अफिस सजावटका लागि पनि माग हुन थालेको छ। उपत्यकामा पुष्पखेतीका लागि पर्याप्त जग्गा नहुँदा समस्या भए पनि फूलको बजारमा माग बढेसँगै यो व्यवसायमा आकर्षण बढ्दो छ।

काठमाडौंकै नार्गाजुन नगरपालिका–७ पाण्डव श्रेष्ठ पनि पुष्पखेतीमा जमेर लागेका छन्। फूलको माग बढेपछि उनले पुष्पखेतीलाई प्राथमिकतामा राखेका हुन्। उनले कात्तिक र मंसिरमा मात्र करिब १७ लाख रुपैयाँका फूल बेचेका छन्। 'तिहारलगायत चाडबाड र बिहेको सिजन भएकाले फूलको माग निकै बढ्यो,' श्रेष्ठले भने, 'उत्पादन गर्न सके बजारको कुनै समस्या छैन।' उनले यो सिजनमा गोदावरी, सयपत्री फूलको राम्रो व्यापार गरे।

नेपालका तिहार, विवाह, पूजाआजा, चाडपर्व, जन्म दिन, शुभकार्यमा उपहार दिन फूलको प्रयोग गरिन्छ। बजारमा तयारी अवस्थाका फूलसहित बिरुवा, गमलाका फूलको माग धेरै छ। वातावरणीय दृष्टिकोणले घरमा फूलसहितका बिरुवा लगाउँदा राम्रो हुने भएपछि फूल सबैको रोजाइमा परेको व्यवसायी बताउँछन्।

आर्थिक वर्ष ०७२/७३ मा करिब एक अर्ब ३४ करोड रुपैयाँ पुष्पको व्यापार भएको र यो वर्ष कारोबार अझै बढ्ने नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ।

अघिल्लो वर्ष एक अर्ब २९ करोड रुपैयाँको व्यापार भएकामा एक वर्षको अवधिमा करिब पाँच करोड रुपैयाँको बिक्री बढेको छ। 'हरेक वर्ष बजारमा फूलको माग १०–१२ प्रतिशतले वृद्धि भएको छ,' फ्यानका अध्यक्ष कुमार कसजू श्रेष्ठले भने, 'त्यसैले पुष्पखेती पनि विस्तार हुँदै छ।'

उपभोक्ताको रूची अनुसारका पुष्प उत्पादन गर्न सके बजार अझै बढ्ने उनले बताए। 'बजारको अध्ययन गरेर उपभोक्तालाई आकर्षित गर्न सक्ने सम्भावना निकै छ,' उनले भने।

यहाँ उत्पादन गरेको फूल स्वदेशी बजार मात्र नभएर डेनमार्क, जापान, बेलायत, कतार, दुबईमा जाने गरेको छ। तर, स्वदेशी बजारमा खपत बढेपछि यसको निर्यात घट्दो रहेको छ। सन् २००९ मा करिब २० करोड रुपैयाँका पुष्प विदेश निर्यात भएको एसोसिएसनले जनाएको छ। 'अहिले करिब दुई करोडको मात्र निर्यात हुने गरेको छ,' अध्यक्ष श्रेष्ठले भने, 'पुष्पखेती विस्तार गरेर निर्यात गर्ने ठूलो सम्भावना छ।' यसबाट विदेशी मुद्रा आर्जन गरेर व्यापार घाटा घटाउन केही सघाउ पुग्ने भएकाले यसलाई अझै विस्तार गर्नुपर्ने श्रेष्ठले बताए।

'सरकारले पुष्पखेती विस्तारमा सघाउनु आवश्यक छ,' श्रेष्ठले भने, 'उत्पादन बढाउने कार्यक्रम ल्याउनुपर्छ।'

निर्यातको तुलनामा आयात धेरै छ। गत वर्ष करिब १२ करोड रुपैयाँको पुष्प आयात भएको थियो। यहाँको उत्पादनले नथेगेपछि यो वर्षकै तिहारमा भारतबाट ठूलो परिमाणमा सयपत्री फूलका माला ल्याएर बिक्री भएको थियो। सयपत्री फूल सिजनको भएको र नबिकेमा ओइलाएर जाने भएकाले यसको खेतीले अझै व्यापकता पाउन सकेको छैन। 

पुष्पखेतीलाई सघाउन सरकारले पनि विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ। कृषि कार्यालय कार्यालयमार्फत ग्रिन हाउस ६५ प्रतिशतसम्म अनुदान दिने गरेको छ। ३५ प्रतिशत किसानले लगानी गरेपछि यो व्यवसायको प्रवर्द्धन गर्न सघाएको मन्त्रालयले जनाएको छ।

पुष्प व्यापार बढाउन व्यवसायीले पुष्प मेला समेत आयोजना गर्दै आएका छन्। मेलाका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने गरेको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, धादिङ, मकवानपुर, रुपन्देहीमा पुष्प व्यवसाय गरिँदै आएको छ। त्यसका अतिरिक्त पोखरा, विराटनगर, नेपालगन्ज, धनगढीलगायत ठूला बजारमा पनि पुष्प नर्सरी फस्टाउँदै गएको छ। करिब एक सय ४८ हेक्टर जमिनमा व्यावसायिक पुष्पखेती गरिएको छ। फूलको व्यापार बढ्दै गएपछि यसमा लगानीकर्ता पनि आकर्षित भएका छन्। सोसिएसनका अनुसार मुलुकभर करिब व्यावसायिक ६ सय ७८ पुष्प नर्सरी रहेका छन्। यो क्षेत्रमा पाँच अर्ब रुपैयाँको लगानी रहेको र ४० हजार लाभान्वित भएको बताउँछन्।

प्रकाशित: २ पुस २०७३ ०३:५१ शनिबार

पुष्पखेतीमा आकर्षण बढ्यो