नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छिन्।
सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी गरेकी हुन। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै१/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन। मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकीर समेत गरिन।
मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन। उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सो सम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन।
प्रकाशित: १५ चैत्र २०७९ ०८:३९ बुधबार