राजनीति

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।

बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव विष्टले सरकारले संविधानको सकारात्मक रुपमा कार्यान्वयन गर्न अगुवा गर्नुपर्ने बेलामा संशोधनको कुरा उठाएर नाटक गरेको समेत आरोप लगाए । उनले भने,‘सरकारको अगुवा गर्नेहरुले नै यस्तो काम गरेपछि कसरी संविधान कार्यान्वयन हुन्छ ?’

विष्टले संविधानको धारा २७४ को उपधारा ४ र ५ बमोजिम सीमांकनको हेरफेरकालागि प्रादेशिक सभा अनिवार्यताको परिकल्पना गरेको उल्लेख गर्दै अहिले सीमांकन हेरफेर गर्नेगरी संशोधन प्रस्ताव आउनु संवैधानिक नभएको टिप्पणी गरे । उनले संविधानमा उल्लेख भएका व्यवस्थाहरुलाई बेवास्ता गर्दै सरकारले संशोधन प्रस्ताव ल्याउनु कानूनी तथा संवैधानिक अधिकारलाई उल्लंघन गरेको आरोप लगाए ।

उनले ५ नम्बर प्रदेशका जनताहरु एकमत रहेको बताउँदै भने, ‘जनताहरु एक छन्, तर सरकारले विभाजन गर्ने काम गरिरहेको छ, यो प्रस्ताव कसको हो ? कसको लागि ल्याईएको हो ?’ विष्टले जसको लागि प्रस्ताव ल्याइएको हो त्यही दलले नै नमानेको र जनताहरु आन्दोलनमा रहेकोले यो प्रस्ताव कसको लागि र किन ? आयो भन्ने कुरा रहस्यमय रहेको टिप्पणी गरे। उनले यो प्रस्ताव संसदमा छलफलको विषय नै बन्न नसक्ने जिकिर गरे ।

फरक प्रसँगमा उनले ५ नम्बर प्रदेश हेरफेरसहित आएको संविधान संशोधन प्रस्तावको विरोधमा रुपन्देही बन्दको आन्दोलनको स्वरुप मात्रै बदलिएको भन्दै आन्दोलन जारी रहने स्पष्ट पारे । अहिले आएको संशोधन प्रस्ताव कुनै हालतमा पनि आफूहरुलाई मान्य नभएको उनको भनाइ थियो ।

नागरिकताको सवाल, राष्ट्रिय सभामा प्रतिनिधित्वको कुरा, भाषा र सिमांकनको विषयमा जसरी संशोधन प्रस्ताव आएको छ त्यो कुनै हालतमा राष्ट्रिय हितमा नभएको उनले आरोप लगाए । त्यस्तै उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको बारेमापनि आफूहरुको गम्भिर ध्यानाकार्षण भएको बताए ।

प्रकाशित: २२ मंसिर २०७३ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App