राजनीति

चम्पादेवीमा पुगेर राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन्।

शनिबार किर्तिपुरको चम्पादेवी स्थित पुष्पलाल पार्कमा पुगेर उनले महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन्।

उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा (एस) का महासचिव वेदुराम भुषाल, काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए। सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका हुन्।

यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुह्येश्वरी मन्दिर पुगेर पूजा अर्चना गरेका थिए। शुक्रबार नै पौडेलले सुन्दरीजल स्थित बिपी संग्रहालय पुगेर बिपी गणेशमान, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण समेत गरेका थिए।

सोही दिन साँझ उनले विश्व सम्पदा सुचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको अवलोकन गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७९ ०९:३३ शनिबार

रामचन्द्र पौडेल