राजनीति

कांग्रेससँग संघीय गठबन्धन सशंकित

कांग्रेससँगकाे छलफलमा गठबन्धनका नेताहरू।

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने मिति बारम्बार सारेको भन्दै मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरु बुधबार नेपाली कांग्रेससँग गुनासो गर्न पुगे। संसदको  सबै भन्दा ठूलो दल आफूहरुले विश्वास गरेको पार्टी भन्दै गठबन्धनका नेताले कांग्रेससँग आफ्ना असन्तुष्टि पोखे। करिव दुई घण्टा भएको छलफलमा नेताहरुले प्रधानमन्त्रीसँग विश्वस्त हुन नसकेको भन्दै संधिवान संशोधनका विषयमा कांग्रेसको धारणा माग गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने मिति बारम्बार सारेको भन्दै मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताद्वारा  नेपाली कांग्रेससँग गुनासो

उनीहरुले माओवादीलाई भन्दा पनि आफूले कांग्रेसलाई विश्वास गरेर वर्तमान सरकारलाई समर्थन गरेको, तर कांग्रेसको व्यवहारबाट आफूहरु सशंकित भएको बताएका थिए। ‘माओवादी र कांग्रेसबीचको गठबन्धन हुँदा भएको सात बुँदे सहमति र संसदको सबै भन्दा ठूलो दल भएको नाताले हामीले कांग्रेसलाई विश्वास गरेर वर्तमान सरकारलाई समर्थन गरेका हौं,’ बैठकमा गठबन्धनका नेताहरुले भनेका थिए,‘ तर पछिल्लो समय कांग्रेसको व्यवहारबाट हामी सशंकित भएका छौं।’

मोर्चाका नेताहरुले प्रधानमन्त्रीले संधिवान संशोधन प्रस्ताव गर्ने मिति बारम्बार सार्दासमेत कांग्रेस मुकदर्शक मात्र बनेको भन्दै आपत्ति जनाएको बैकठमा सहभागी गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

‘प्रधानमन्त्रीले बारम्बार झुक्याउने काम गरेपछि गठबन्धनले सरकारलाई अल्टिमेटम दिनुपर्ने अवस्था आयो,’ उनले भने,‘अब पनि गठबन्धनले दिएको समयसीमाभित्र संविधान संशोधन प्रस्ताव दर्ता भएन भने बाध्य भएर आन्दोलनमा जानुको विकल्प नभएको हामीले कांग्रेसलाई जानकारी गरायौं।’

गठबन्धनमा आबद्ध सबै दलका शीर्ष नेता कांग्रेससँगको छलफलमा सहभागी भएका थिए। उनीहरुले बारम्बार आफूहरुलाई झुक्याउने काम गरेको, प्रधानमन्त्रीले जतिबेला पनि छलफल गर्दैछु मात्र भनेको र बोली र व्यवहार फरक परेको भन्दै कांग्रेस सभापतिसँग गुनासो गरेका थिए। अघिल्लो  सरकारका प्रधानमन्त्री केपी ओली मधेसप्रति कठोर भएपनि स्पष्ट रुपमा हुन्छ वा हुन्न भन्ने गरेको स्मरण गराउँदै गठबन्धनका नेताहरुले वर्तमान प्रधानमन्त्री दाहाल मुखले केही पनि हुन्न नभन्ने तर व्यवहारमा भने केही पनि नगर्ने प्रवृत्ति देखिएको भन्दै गुनासो गरेका थिए।

जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी, आदिवासी जनजाति, थारुलगायतको माग सम्बोधन गर्न आफ्नो दल प्रतिबद्ध रहेको भन्दै कांग्रेसमाथि शंका नगर्न आग्रह गरेका थिए। उनले संविधान संशोधन बीना निर्वाचन सम्भव नहुने र निर्वाचन बीन संविधान कार्यान्वयन नहुने भन्दै गठबन्धनले दिएको समयभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने आवश्वास दिएका थिए।

देउवाले सकेसम्म सबै दलको सहमतिमा संशोधन प्रस्ताव दर्ता गराउने भन्दै त्यसकालागि आफू  र प्रधानमन्त्री दाहालले राजनीतिक भेटघाटलाई तीब्रता दिएको बताएका थिए।
 मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकारलाई मंसिर १५ सम्म पनि संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनमा जाने चेतावनी सरकारलाई दिइसकेको छ। सहमतिमै संविधान संशोधन गर्ने भन्दै प्रधानमन्त्री दाहाल राजनीतिक भेटघाटमा व्यस्त छन्।

 

प्रकाशित: २ मंसिर २०७३ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App