राजनीति

मन्त्रीको घरमा चोरी

लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्क नगरपालिका-१ हटारीनेटास्थित उनको निजी निवासमा मंगलबार राति चोरी भएको हो।

लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य र उनकोे परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ। घरमा रहेका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

के कति चोरी भयो भन्ने यकिन भइनसकेको भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए। ‘के कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ,’ प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौं।’

यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो। गत पुस २८ गते चोरीको प्रयास भए पनि धेरै क्षति हुन पाएको थिएन। यसपालि सबै ताल्चा फोडेको र सामान लगेको मन्त्री आचार्यका स्वकीय सचिव प्रदीप नेपालीले बताए। ‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो,’ उनले भने, ‘अहिले वरिपरिका बासिन्दा पनि असुरक्षित महसुस गरिरहेका छन्।’

प्रकाशित: २६ फाल्गुन २०७९ ०२:२१ शुक्रबार

लुम्बिनी प्रदेश सरकार मन्त्री चेतनारायण आचार्यको घरमा चोरी