राजनीति

त्रिपक्षीय वार्ताका लागि भूपूगोर्खाद्वारा आन्दोलन स्थगित

लन्डन– नेपाल सरकारको सक्रियतामा भूपूगोर्खाको माग सम्बन्धमा हुने त्रिपक्षीय वार्तालाई सघाउने उद्देश्यले भूपूगोर्खाले आफ्नो आन्दोलन स्थागित गरेका छन्। भूपूगोर्खाहरुको अग्रणी संस्था गोर्खा सत्याग्रह संर्घष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापनपत्र बुझाउँदै वार्ताको वातावरण तयार गर्न आग्रहसहित सोमबारदेखि सुरु हुने भनिएको रिले अनसन स्थागित भएको जनाएको छ।

समितिका कार्यवाहक संयोजक सूर्य नेम्वाङका अनुसार नेपाल सरकार र बेलायत सरकारले भूपूगोर्खाको मागलाई त्रिपक्षीय वार्ताद्वारा सम्बोधन गरिने भन्दै आन्दोलन स्थागित गर्न आग्रह गरेपछि तत्कालका लागि सो रिले अनसन स्थागित गरिएको हो। यसअघि त्रिपक्षीय वार्ताको संयोजन गरिरहेको नेपाली दूतावास लन्डनले सत्याग्रह समितिलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो।

सोमबार करिब ३ सय जना भूपूगोर्खाले प्रधानमन्त्री कार्यालय अगाडि उपस्थित भएर आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दै प्लेकार्ड तथा नाराबाजी गरेका थिए। बेलायती प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएपछि समितिले जारी गरेको पे्रसविज्ञप्तिमा चाँडो भन्दा चाँडो वार्ताबाट सम्पूर्ण समस्या समाधान गर्न आग्रह गरिएको छ। साथै विज्ञप्तिमा सम्पूर्ण गोरखा अभियानका लागि स्थापना भएका संघसंस्थालाई वार्ताको ऐतिहासिक अवसरमा सत्याग्रह संघर्ष समितिसँग एकाकार भएर गोरखाप्रति गरिएको विभेदका विरुद्ध लड्न आह्वान गरिएको छ ।

आसन्न वार्तालाई परिणाममुखी बनाउन सम्पूर्ण गोरखा संघसंस्था एकजुट हुन आग्रह गर्दै आन्दोलन परिणामुखी नभइञ्जेल सरोकारवाला सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०७:३४ मंगलबार

त्रिपक्षीय वार्ताका लागि भूपूगोर्खाद्वारा आन्दोलन स्थगित