राजनीति

दलहरुबीचको तित्तता हट्यो, तीनवटै निर्वाचन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरी लागिपरेको बताएका छन्। ‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरी सरकारले काम गरिहेको छ,’ उनले भने, ‘यसको लागि मैले विशेष पहलकदमी लिएको छु।’

पत्रकारहरुको देउसी–भैलो टोलीसँग आफ्नै निवासमा कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन्। उनले सरकारले संविधानको सर्वस्विकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए।

प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तित्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षवीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो ।’

त्यस्तै प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको समेत बताए।

आफू भारतको गोवामा ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँगको भेटमा आफूले त्रिदेशीय साझेदारीको कुरा उठाएको स्मरण गर्दै आफ्नो उक्त प्रस्तावमा दुवै देशका प्रमुखभहरु सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले अघि भने, ‘मैले त्रिपक्षीय भेटवार्तामा त्रिदेशीय साझेदारीको कुरा उठाउनुको साथै नेपालमा अस्थिरता भयो भने तपाईहरुलाई पनि घाटा हुन्छ भनेको थिएँ, उहाँहरु मेरो प्रस्तावमा सहमत हुनुभएको छ ।’
 

प्रकाशित: १४ कार्तिक २०७३ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App