राजनीति

महाअभियोगको पक्षमा ६ कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं-  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा ६ केन्द्रीय सदस्यले मात्र स्पष्ट धारणा राखेका छन्।  

काँग्रेस बैठकमा हालसम्म युवा नेता विश्वप्रकाश शर्मा, गगन थापा, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, प्रदीप पौडेल र बद्री पाण्डेले मात्र स्पष्ट रुपमा महाअभियोगका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। अन्य अधिकांश सदस्यले संविधान कार्यान्वयनलगायत मुलुकका प्राथमिकताका विषयलाई विषयान्तर गर्न महाभियोगको प्रस्ताव आएको भनी आशङ्का व्यक्त गरेका छन्।

उनीहरुले पार्टीले यस विषयमा गहन अध्ययन गरेर मात्र निर्णय लिुनपर्ने विचार व्यक्त गरेका छन्।

आजको बैठकमा सदस्य सरिता प्रसार्इंले संविधान कार्यान्वयन मुलुकको पहिलो प्राथमिकताको विषय भाएकाले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन काँग्रेसले नेतृत्व लिनुपर्ने धारणा राख्नुभएको जानकारी दिइन्। उनले महाभियोग प्रस्तावका सम्बन्धमा संसद्ले समिति बनाइसकेको र समितिमा उक्त विषय प्रवेश गरिसकेकाले त्यसबारेमा पार्टीले अहिले निर्णय गर्नुपर्ने आवश्यकता नरहेको विचार व्यक्त गरिन् ।

काँग्रेसका अगाडि यतिखेर महाअभियोग प्रस्तावका सम्बन्धमा चार विकल्प तेर्सिएका छन्। एक प्रस्तावका पक्षमा उभिने, दुई प्रमुख आयुक्त कार्कीलाई राजीनामा दिन लगाउने, प्रमुख आयुक्त कार्कीको योग्यतासम्बन्धी मुद्दा सर्वोच्च अदालत सुनुवाइका क्रममा रहेकाले उक्त विषयमा नबोल्ने र चार प्रस्तावको विपक्षमा उभिने रहेका छन्। काँग्रेसले चार विकल्पमध्ये कुन रोज्छ त्यो यतिखेर आम नेपालीको चासोको विषय बनेको छ।

नेता सुरेन्द्र पाण्डेले प्रमुख आयुक्त कार्कीलाई नियुक्ति गर्दा नै गलत भएको भन्दै महाभियोगको प्रस्तावबाट हटाउने मौका प्राप्त भएको धारणा राखेका छन्।  उनले प्रमुख आयुक्त कार्कीका क्रियाकलाप लोकतन्त्र, संविधान र सुशासन विपरीत भएकाले पार्टीले महाभियोग पारित गर्ने सम्बन्धमा पार्टीले निर्णय गर्नुपर्ने विचार व्यक्त गरे। काँग्रेसले उक्त प्रस्तावबारे सबै केन्द्रीय सदस्यको राय लिइरहेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आजको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी, अजयकुमार चौरासिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, वीरबहादुर बलायर, डा डिला सङ्ग्रौला, सरिता प्रसार्इं, बहादुरसिंह लामा तामाङ र लक्ष्मी परियारले आ–आफ्नो धारणा राखेका थिए।

गत बुधबार एमाले र माओवादीका १५७ जना सांसदहरुले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। जनघृणाको पात्र बनेका कार्कीविरुद्ध सबैभन्दा पहिले कांग्रेस नेताहरु गगन थापा तथा धनराज गुरुङ सहितले संसदको समितिमा महाअभियोगको निवेदन दर्ता गराएका थिए। यो विषयमा कांग्रेसले के गर्ला भनेर प्रतीक्षा भइरहेको छ।



 

 

प्रकाशित: ८ कार्तिक २०७३ १४:१३ सोमबार

महाअभियोगको पक्षमा कांग्रेस केन्द्रीय सदस्य