राजनीति

महाभियोग पक्षमा सडकबाट दबाब

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव पारित गराउन सडकबाट समेत दबाब सुरु भएको छ। प्रस्ताव पारित गराउन दबाब दिन डा. गोविन्द केसी ऐक्यबद्धता अभियानले सडकमा प्रदर्शन गरेको छ। ठूला दलनिकटसहित १३ विद्यार्थी संगठनले पनि दलका प्रमुख नेतालाई ज्ञानपत्र बुझाएर महाभियोगको पक्षमा उभिन आग्रह गरेका छन्।

प्रस्तावका पक्षमा जनमत जुटाउन ऐक्यबद्धता अभियानले शनिबार माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्‍यो। प्रदर्शनमा पेसाकर्मी, विद्यार्थीलगायतको सहभागिता थियो।

कार्कीले पदको दुरुपयोग गरेको आरोपसहित बुधबार एमालेका एक सय सात र माओवादी केन्द्रका ५० गरी एक सय ५७ सांसदले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि राजनीतिक वृतमा तरंग फैलिएको छ।

सो प्रस्ताव संसद्को आइतबार बस्ने पूर्ण बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ।

१३ विद्यार्थी संगठनले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर महाभियोग प्रस्ताव पारित प्रक्रिया सशक्त रुपमा अघि बढाउन माग गरेका छन्। विद्यार्थी नेताहरूसँगको भेटमा ओलीले संसद्को 'व्याक गियर' नभएको भन्दै महाभियोग प्रस्ताव अघि बढ्ने बताए। 'संसद्को व्याक गियर हुँदैन, यो पारित हुन्छ,' ओलीको दाबी थियो।

पार्टीले नभइ सार्वभौम संसदले महाभियोग लगाएको ओलीको भनाइ थियो। उनले थपे, 'अहिले नेपाली कांग्रेसले महाभियोग प्रस्तावमा हाम्रो हस्ताक्षर भएन भनेर गुनासो गरेको छ। कांग्रेसलाई म ढुक्क हुन आग्रह गर्छु, त्यहाँ मेरो पनि हस्ताक्षर छैन। हस्ताक्षर नहुँदैमा चिन्ता मान्नु पर्दैन।'

महŒवपूर्ण विषय र निर्णयमा प्रमुख राजनीतिक दल एकै स्थानमा उभिने दाबी गर्दै उनले महाभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नलिन पनि कांग्रेसलाई आग्रह  गरे। 'यो लोकमानको षड्यन्त्रविरुद्धको प्रस्ताव हो,' उनले भने। ओलीले महाभियोग पारित गराउन पहल थालिसकेको समेत बताए। लामो सोचविचार गरेरै प्रस्ताव ल्याइएको उनको भनाइ थियो।

कार्कीले '१३ पाने भराइदिन्छु भन्दै कर्मचारीलाई धम्क्याएर' टंगालबाट समानान्तर सरकार चलाइरहेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले भने, 'मुद्दा लगाइदिन्छु भनेर सुरक्षा र अन्य निकायलाई पंगु बनाए।' अख्तियारले कारबाही सुरु गर्दा १३ पृष्ठको विवरण भर्न लगाउँछ।

अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउन उनकै निवास भक्तपुर, बालकोट अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेपाल विद्यार्थी संघका महासचिव कुन्दन काफ्लेसहितका नेता पुगेका थिए।

विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक निकायका प्रमुखको जिम्मेवारी लिएको व्यक्ति स्वयंले श्रृंखलावद्ध संविधान, काननु र विधिको धज्जी उडाएको घटना कसैबाट छिपेको छैन।' ज्ञापनपत्रमा अघि लेखिएको छ, 'कार्की आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारीबाट च्युत भई राज्यका हरेक निकायमा आतंक मच्याउन उद्यत् छन।'

कार्कीको भूमिका वर्तमान राजनीतिक प्रणाली असफल बनाएर प्रतिगमनको आधारभूमि निर्माण गर्न केन्द्रित रहेको आरोप पनि विद्यार्थी संगठनले लगाएका छन्।

१३ विद्यार्थी संगठनले आइतबार बिहान नेपाली कांग्रेस सभापति शेरबहदुर देउवालाई पनि महाभियोग पक्षमा लाग्न माग गरिएको ज्ञापनपत्र बुझाउने भएका छन्। 'आइतबार बिहान नौ बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने छौं,' अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, 'दिउँसो महाभियोगको समर्थनमा माइतीघर मण्डलबाट बानेश्वरसम्म युवा– विद्यार्थीले प्रदर्शन गर्ने कार्यक्रम छ।'

प्रकाशित: ७ कार्तिक २०७३ ०२:०३ आइतबार

महाभियोग पक्षमा सडकबाट दबाब