राजनीति

भारतीय राजदूतलाई पदीय मर्यादा नभुल्न युवा संघको चेतावनी

काठमाडौं— एमाले भातृ संगठन युवा संघले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह जोगाउन भारतीय राजदूतले गरिरहेको चलखेलप्रति आपत्ति जनाएको छ। कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा विदेशी चलखेल हुनु अनावश्यक रहेको संघले जनाएको छ।

नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन्। सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ।

प्रवक्ता प्रभावविक्रम कटुवालले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतीय राजदूत रणजीत रायले पदीय मर्यादाविपरित चलखेल गरिरहेको उल्लेख गरेका छन्। भारतीय राजदूत रणजीत रायका पदीय मर्यादाविपरितका क्रियाकलापले नेपालको सर्वभौम स्वतन्त्रतामाथि आँच पुर्‍याएको युवा संघले ठहर गरेको छ।

नेपालको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप रोक्न तथा पदीय मर्यादा भुलेर कुनै पनि गतिविधि नगर्न युवा संघले राजदूत रायलाई चेतावनी दिएको छ।

'नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन्। सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’, विज्ञप्तिमा उल्लेख छ।

पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियारलाई नै बद्‌नाम गराउने कार्यमा संलग्न कार्कीविरुद्ध बुधबार संसदमा एमाले-माअाेवादीका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महअभियोग प्रस्ताव दर्ता हुनुअघि अत्यन्त गोप्य राखिएका कारण भारतीय पक्षले लोकमानलाई जोगाउन सुरुमै चलखेल गर्न समय पाएको थिएन।

दर्ता भएर अघि बढिसकेको महाअभियोग रोक्न भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (र) तथा राजदूत राय सक्रिय भएर लागेका हुन्। भारतीय खुफिया एजेन्सी 'र'का नेपालका स्टेशन प्रमुख विवेक जोहरीले राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई उपयोग गर्दै महाअभियोग रोक्न प्रलोभन तथा धम्की दिइरहेको सार्वजनिक भएपछि एमाले भातृ संगठनले अापत्ति जनाएको हो।

प्रकाशित: ५ कार्तिक २०७३ ०९:४६ शुक्रबार

भारतीय राजदूतलाई पदीय मर्यादा नभुल्न युवा संघको चेतावनी