राजनीति

एमालेले उपाध्यायको विपक्षमा मतदान गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मतदान गर्ने भएको छ। उपाध्यायलाई राजदूत बनाउने सरकारी निर्णय 'प्रतिशोधपूर्ण' भएको निष्कर्ष निकाल्दै एमालेले विपक्षमा मतदान गर्ने जनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उपाध्यायलाई भारतबाट फिर्ता बोलाएको थियो। उपाध्यायलाई फिर्ता बोलाउँदा एमाले नेतृत्वको तत्कालीन सरकार गिराउन भूमिका खेलेको आरोप लगाएको थियो।

'राजनीतिक स्थायित्वका लागि भूमिका सन्तोषजनक हुन नसकेकाले उपाध्यायलाई राजदूतबाट पूर्ववर्ती सरकारले फिर्ता बोलाएको हो,' संसदीय सुनुवाइ समितिका सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'अहिलेको सरकारले प्रतिशोधपूर्ण ढंगले सिफारिस गरेकाले हाम्रो दलले विपक्षमा मतदान गर्नेछ।'

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले कांग्रेस केन्द्रीय सदस्य उपाध्यायलाई भारतका लागि राजदूत मनोनयन गरेको थियो। 'राजनीतिक नेतृत्वका व्यक्ति छिमेकमा जाँदा त्यसले देशलाई राम्रो हुनसक्ने ठानेर त्यस समयमा सर्वसम्मतिसाथ मनोनयन स्वीकृत गरिएको थियो,' ढकालले भने, 'तर उहाँले सो भूमिका निर्वाह गर्नसक्नुभएन।' त्यस समय उपाध्यायको सिफारिस हुँदा सर्वसम्मत रूपमा पारित भएको थियो। संसदीय सुनुवाइ समितिको बैठक आइतबारका लागि डाकिएको छ।

एमाले र राप्रपा नेपालका सांसदले उपाध्यायको विपक्षमा मतदान  गर्न लागेका हुन्। १५ सदस्यीय समितिमा नेकपा एमालेका ४ र राप्रपा नेपालका एक सदस्य छन्। तर, यो संख्या उपाध्यायलाई राजदूत अस्वीकृत गर्नका लागि पर्याप्त भने होइन। दुई तिहाई सदस्यले अस्वीकृत गरे मात्रै राजदूत सिफारिस बदर हुने व्यवस्था छ।

एमालेले उपाध्यायसँगै सरकारले चीनका लागि राजदूत सिफारिस गरेका पूर्व मुख्यसचिव लीलामणि पौड्यालको भने पक्षमा मतदान गर्ने जनाएको छ। पौड्यालविरुद्ध संसदीय समितिमा एउटा पनि उजुरी परेको थिएन।

प्रकाशित: १५ आश्विन २०७३ ०२:३३ शनिबार

एमालेले उपाध्यायको विपक्षमा मतदान गर्ने