राजनीति

बाँध हेर्न उत्सुक प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको तेस्रो दिन शनिबार हिमाञ्चल प्रदेशस्थित नाथ्पा झाँक्री जलविद्युत ड्याम अवलोकन गर्दै। तस्बिर सौजन्य : इन्डियन एक्सप्रेस

काठमाडौं- आठ वर्षअघि भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतमा निर्मित उत्तराखण्डको तेहरी बाँध अवलोकन गर्न पुगे। आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा भारत घुमिरहेका उनले शनिबार हिमाञ्चल प्रदेशस्थित नाथ्पा झाँक्री बाँध निरीक्षण गरे।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली पनि तेहरी बाँध हेर्न उत्तराखण्ड पुगेका थिए।

भारतमा निर्मित ठूला जलविद्युत परियोजना अवलोकन गर्न नेपालका नेता उत्सुक देखिए पनि जलविद्युत आयोजना निर्माणका दृष्टिले भारत आफैंमा भने संसारकै कमजोर देशमा गनिन्छ।

आफ्नो कुल जलविद्युत उत्पादन क्षमताको एकचौथाइ पनि प्रयोग गर्न नसकेको भारतका केही सफल जलविद्युत परियोजना भ्रमण नेताहरुको भ्रमणतालिकामा किन पर्छन्?

'भारत आफैंमा जलविद्युत उत्पादन दृष्टिले राम्रो राष्ट्र मानिँदैन। किनकि उसले क्षमताको चौथाइभन्दा केही बढी मात्र उत्पादन गर्न सकेको छ,' स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले नागरिकसँग भने, 'उनीहरुको ऊर्जा उत्पादनको प्रमुख स्रोत कोइला हो। वातावरणको कुरा उठ्न थालेपछि सौर्यऊर्जामा जोड दिन थालेका छन्।'

भारतमा ४२ हजार ७ सय ८३ मेगावाट जलविद्युत उत्पादन भएको छ। त्यहाँ नवीकरणीय ऊर्जा उत्पादनले यसै वर्ष जलविद्युत आयोजनालाई उछिनेको छ। यस वर्षबाट भारतमा वायु र सौर्यसहितका नवीकरणीय ऊर्जा ४२ हजार ८ सय ५० मेगावाट भइरहेको छ।

भारतका विभिन्न नदीको जलाधार क्षेत्रबाट १ लाख ४८ हजार ७ सय मेगावाट विद्युत उत्पादन हुन सक्ने विभिन्न अध्ययनले देखाएको छ। त्यहाँ कुल ऊर्जा खपतको दुई प्रतिशत मात्र जलविद्युतले हिस्सा ओगट्ने गरेको छ।

नर्वे र ब्राजिलजस्ता देशले आफ्नो जलविद्युत क्षमताको ९० प्रतिशतसम्म उत्पादन गर्दै आएका छन्। भारत सरकारले सन् २०२२ सम्ममा नवीकरणीय ऊर्जाबाट एक लाख मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ।

'चीनले ३ लाख मेगावाट जलविद्युतबाट उत्पादन गर्छ र अहिले साढे २ लाख मेगावाट निर्माण चरणमा छ,' जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नागरिकसँग भने।

भारतमा ऊर्जाको प्रमुख स्रोत कोइला हो। कोइलाका थर्मलप्लान्टले कुल ऊर्जा उत्पादनको ४४ प्रतिशत हिस्सा ओगटेको छ।

भारतले पछिल्लो चरणमा नवीकरणीय त्यसमा पनि सौर्यऊर्जाका परियोजनामा समेत जोड दिँदै आएको छ।

ठूला जलविद्युत आयोजना निर्माणको योजनाा रहेको नेपालले भारतका जलविद्युत आयोजा निरीक्षण गरेर खासै सिक्न नसक्ने यस क्षेत्रका विज्ञको तर्क छ।

शनिबार दाहालले हिमाञ्चल प्रदेशस्थित नाथ्पा झाँक्री जलविद्युत आयोजना भ्रमण गरे। सतलज नदीमा निर्माण गरिएको यो जलविद्युत आयोजना क्षमतामा १ हजार ५ सय मेगावाट छ।

दाहालले नै २०६५ सालको भ्रमणमा जाँदा उत्तराखण्डस्थित तेहरी बाँध अवलोकन गरेका थिए।

'यत्रो ऊर्जा संकट भोग्दै आएको नेपालमा पनि जलाशययुक्त निर्माण गरिनुपर्छ भन्ने विषय जोडसँग उठ्दै आएको छ,' विष्टले भने, 'त्यसैले उहाँको प्राथमिकतामा यस्ता आयोजना अवलोकन परेको हुन सक्छ। यस्तो भ्रमणमा जानु राम्रो हो।'

विष्ट भने एउटा भ्रमणले मात्र यहाँको समस्या समाधान हुनेमा आशावादी छैनन्। 'नौ–नौ महिनामा सरकार फेरिन्छ, यस्तो अवस्थामा त्यहाँ सिकेर आएको कुरा कसरी लागू गर्न सकिन्छ?' विष्टले भने।

जलविद्युत उद्यमी प्रधान पनि यस्तै धारणा राख्छन्। 'हाम्रोमा समस्या भनेको कर्मचारीतन्त्रको नियन्त्रणमुखी प्रवृत्ति हो,' प्रधानले भने, 'यस्तो समस्या समाधान नहुन्जेल भ्रमणले केही हुँदैन।'

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली पनि भारत भ्रमण क्रममा तेहरी बाँध पुगेका थिए। २ सय ६० मिटर अग्लो बाँध निर्माण गरी उत्पादन गरिएको उक्त जलविद्युत आयोजनाबाट हजार मेगावाट बिजुली उत्पादन हुने गरेको छ।

यस्तै अग्लो बाँध निर्माण गरेर धादिङ र गोर्खाको सीमामा निर्माण हुने भनिएको बूढीगण्डकी आयोजनासँग यसको तुलना गर्ने गरिएको छ। त्यसो त नलसिंहगाढ जलविद्युत आयोजना पनि यही मोडेलमा निर्माणमा जोड दिइँदै आएको छ।

देशमा ऊर्जा संकट निवारणका लागि निर्माण गर्न लागिएको उक्त आयोजनाबाट ४५ हजार मानिस विस्थापित हुनेछन्। यसबाट १ हजार २ सय मेगावाट बिजुली उत्पादन हुनेछ।

तेहरी बाँध निर्माण क्रममा वातावरणका बिगार्ने भन्दै पर्यावरणविद् मेघा पाटकरको नेतृत्वमा ठूलो विरोध भएको थियो जहाँबाट एक लाख मानिस विस्थापित भएका थिए।

नेपालको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने ठेक्का प्राप्त गरेको सतलज जलविद्युत निगमले नै नाथ्पा झाँक्री आयोजना निर्माण गरेको हो। ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण कार्य सुरु नगरेको सतलजले ४ सय मेगावाटका तल्लो अरुण आयोजना पनि माग गरेको छ।

२ अर्ब अमेरिकी डलरमा ११ वर्ष लगाएर निर्माण गरिएकोे नाथ्पा झाँक्री आयोजनामा देखिएको समस्या समाधान नेपाली विज्ञले गरेको प्रधान सम्झन्छन्।

'सो जलविद्युत आयोजनाको टर्वाइनको आयु जति समय भनेर निर्धारण गरिएको थियो, त्यसका दसांश पनि चलेन,' प्रधानले भने, 'आयोजना निर्माता र टर्वाइन निर्माण गर्ने कम्पनीबीच चर्को विवादको रुपमा लिएको थियो। बुटवल पावर कम्पनीको अध्ययन गरेर समस्याको निकास दिएका थियो।' पानीसँग आउने बालुवाको कारण टर्वाइनमै समस्या देखिएको बताए।

उद्यमी प्रधानले तेहरी बाँधले अतिवृष्टी जस्ता समस्या हुँदा बाढी रोक्न धेरै सहयोग गरेपनि भारतले त्यसको सफलतालाई खासै चासो नदिएको बताए।

'आफ्नो सफलताबाट भारतले खासै चासो दिएको जस्तो देखिदैन,' प्रधानले भने, 'भ्रमणका जाने हाम्रो नेताहरुले के चासो होला र?'

प्रकाशित: २ आश्विन २०७३ ०१:३३ आइतबार

बाँध हेर्न प्रधानमन्त्री