राजनीति

इलामको नगरसभा: चिया बगान संरक्षणदेखि मेडिकल कलेज स्थापनाको प्रस्ताव पारित

तस्बिर: भीम/नागरिक

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाको १२औं नगरसभाले ३३ ‘विशेष प्रस्ताव’ पारित गरेको छ। सभाले इलामको पर्यटन, कषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत समेटिएका प्रस्ताव पारित गरेको हो।  

नगरले नेपालकै पहिलो चिया बगानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास र सौन्दर्यीकरण गर्न सहयोगका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने भएको छ। देशकै ऐतिहासिक चिया बगान र पुरानो कारखाना क्षेत्रलाई चिया संग्रहालय, चिया अध्ययन–अन्वेषण केन्द्रका रूपमा विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन पनि नगरसभाले प्रस्वाव गरेको छ।  

मेची राजमार्ग जीर्ण भएकाले मर्मत–सुधार गरिदिन र यो राजमार्गको सवारी चापलाई मध्यनजर गरी सडकको चौडाई विस्तार गर्न पनि नगरसभाले संघीय सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ। साथै, मेची राजमार्गकै राजदुवालीदेखि पेनस्टक लाइनसम्मको क्षेत्र बर्सेनि भास्सिँदैगएको र कुनैपनि बेला सवारी सञ्चालन अवरुद्ध हुनसक्ने भन्दै सिमलगोलाइ वा बगैंचा क्षेत्रबाट वैकल्पिक राजमार्ग निर्माण गर्न पनि नगरले ध्यानाकर्षण गरेको छ।  

इलामको कृषि र पर्यटन प्रवद्र्धनका लागि सिक्किमको गान्टोकसँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाको स्वीकृतिका लागि थप पहल गर्ने र जापानको अनान सिटीसँगसमेत भगिनी सम्बन्ध स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने विशेष प्रस्ताव नगरसभाले पारित गरेको छ। इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र प्रतिष्ठानका लागि आवश्यक जग्गा व्यवस्थापन सर्वपक्षीय सहकार्यमा अघि बढाउने, पूर्वीपहाडको पाँचथर र इलाममध्ये एक ठाउँमा मेडिकल कलेज स्थापनाका लागि नेपाल सरकारबाटै सम्भाव्यता अध्ययन भएकाले मेडिकल कलेज स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको मेयर केदार थापाले जानकारी दिए।

नेपाल वायु सेवा निगमले इलाम–काठमाडौं व्यावसायिक उडान सुरु गरेकाले उडान नियमित, सुरक्षित गर्न र पर्यटन प्रवर्धक सेवाका रूपमा चालु गर्न फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको पूूर्वाधार स्तरोन्नतिका लागि नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। खानेपानी अभाव रहेका बस्तीमा यो सुविधा दिन योजना सञ्चालन गर्ने÷गराउन पनि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।  

११औं नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब २२ करोड ३७ लाख रुपैयाँको आय–व्यय अनुमान गरेको थियो। चालु आवको हालसम्म ४५ प्रतिशत प्रगति भएको नगरले जनाएको छ। खर्चतर्फ चालुमा ४५ प्रतिशत र पूँजीगत १५ प्रतिशत छ। आन्तरिक राजस्वमा गतवर्षको कुल आन्तरिक आय ८ करोड २४ लाख रुपैयाँ रहेकामा त्यही वर्षको साउनदेखि पुससम्म ३ करोड ३१ लाख ७३ हजार थियो । चालु आवको अहिलेसम्म २ करोड ८१ लाख २८ हजार रुपैयाँ छ।  

प्रकाशित: ७ माघ २०७९ ११:०८ शनिबार

इलाम नगरपालिका जिल्ला सदरमुकाम