काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि विवाद भागबन्डाका आधारमा टुंगो लागेको छ। महाधिवेशन उद्घाटन भएको तीन दिनपछि मंगलबार राति पार्टी निर्देशक समितिले प्रतिनिधि विवाद टुंगो लगाएको हो।
पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले ३ सय ५० महाधिवेशन प्रतिनिधि थप गर्दै विवाद अन्त्य गरेको छ। थपिएकामध्ये २ सय २५ महाधिवेशन प्रतिनिधि पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला (कुन्दन काफ्ले नेतृत्वको अनशनरत) पक्षलाई दिने र बाँकी १ सय २५ अनशनरत अर्को पक्षलाई दिने सहमति भएको छ।
त्यस्तै सिलिङ मिचेर महाधिवेशन प्रतिनिधि बनाइएका ४ सय १८ जनालाई पनि निर्देशक समितिले मान्यता दिएको छ। 'थपेर आएका सूचीलाई निरन्तरता दिँदै असन्तुष्ट पक्षका केही प्रतिनिधिसमेत थप गरी विवाद समाधान गरेका छौं,' निर्देशक समितिका एक सदस्यले भने, 'सबै महाधिवेशनमा सहभागी हुन पाउने छन्।'
निर्देशक समितिका संयोजक महतले सबै जना महाधिवेशनमा सहभागी हुने वातावरण बनाएको बताए। सबैको सहभागिता नहुँदा महाधिवेशन खल्लो हुने भएकाले उनीहरूको सहभागिता सुनिश्चित गरिएको छ,' पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै महतले भने, 'प्रतिनिधि विवादको पक्ष/विपक्षमा रहेका दुवैपक्षको सहभागिता सुनिश्चित गरिएको छ।'
भागबन्डाको आधारमा प्रतिनिधि टुंगो लगाएको विषयलाई घुमाउरो ढुंगले स्वीकार गर्दै महतले भने, 'पार्टीमा नेविसंघको प्रभावले गर्दा नेताहरूको चासो छ।' पार्टी निर्देशक समितिले विवादित ११ जिल्लाका संघको संगठनात्मक संरचना कायम नरहने निर्णय गरेको छ। संघको नयाँ नेतृत्व चयन भएको तीन महिनाभित्र विवादित जिल्लाको अधिवेशन गर्ने सहमति भएको निर्देशक समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए। 'विवादित ११ जिल्लाकोे नेतृत्व खारेज गर्ने र नयाँ कार्यसमितिले तीन महिनाभित्र छानबिन गरी अधिवेशन गराउने सहमति बनेको छ,' पौडेलले भने।
भक्तपुर, सोलुखुम्बु, कास्की, रुपन्देही, कञ्चनपुर, सुर्खेत, मुस्ताङ, सिरहा, सर्लाही, पर्सा र धनुषा विवादित जिल्ला हुन्। विवाद समाधान भएसँगै आमरण अनशन बस्दै आएका दुवै पक्षले बुधबार नै अनशन तोडेका छन्। दुई सातादेखि आमरण अनशनमा रहेका गणेश सापकोटा र रत्नहरि ढुंगोललाई सभापति शेरबहादुर देउवा र एक सातादेखि अनशनमा रहेका भोलानाथ शर्मालाई नेता धनराज गुरुङले जुस खुवाएका हुन्।
निर्वाचन पार्टी कार्यालयमा
नेविसंघको महाधिवेशन प्रतिनिधिको टुंगो लागेसँगै बन्दसत्र र नयाँ नेतृत्व चयनको गृहकार्यमा माउपार्टी कांग्रेस जुटेको छ। साउन २३ देखि २५ सम्मका लागि बुकिङ गरेको भृकुटीमण्डप एक दिन बढी प्रयोग गरेको संघले महाधिवेशनका बाँकी काम पार्टी केन्द्रीय कार्यालय सानेपामा नै गर्ने तयारी थालेको हो।
विवाद समाधानसँगै महाधिवेशनको बन्दसत्र गर्ने बाटो खुले पनि प्रतिनिधिको अन्तिम नामावली अझै सार्वजनिक भएको छैन। नामावली प्रकाशन र प्रतिनिधि परिचयपत्र वितरण गर्न अझै समय लाग्ने भएपछि बाँकी सबै काम केन्द्रीय कार्यालयमा नै गर्ने तयारी सुरु गरेको छ।
बिहीबार बिहानसम्ममा नामावली प्रकाशित भए दिउँसोबाट कार्यालयमा प्रतिनिधि परिचयपत्र वितरण गर्ने आन्तरिक गृहकार्य छ। 'प्रतिनिधि विवादका कारण बन्दसत्र प्रभावित भएको थियो, अब छिट्टै सुरु हुन्छ,' संघका अध्यक्ष रन्जित कर्णले भने, 'सम्भवतः भोलि (बिहीबार) बन्दसत्रसहित महाधिवेशनको बाँकी प्रक्रिया अघि बढ्ने छ।'
३ हजार ४ सय प्रतिनिधिलाई परिचयपत्र वितरण नगरी बन्दसत्र सुरु गर्न समस्या रहेको एक नेताले बताए। कसलाई प्रतिनिधि भनेर बन्दसत्रमा सहभागी गराउने भन्ने प्रश्न गर्दै भने, 'अन्तिम नामावली र परिचयपत्र वितरणपछि अरु कुरा हुन्छ।'
त्यससँगै नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढाउने पनि तयारी सुरु गरेको हो। निर्वाचन समितिले बिहीबारबाट नै निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। शुक्रबार नेतृत्वका लागि मनोनयन दर्ता र शनिबार नयाँ नेतृत्वका लागि चुनाव गराउने भएको छ। एकै दिनमा निर्वाचन गराउन सम्भव नहुने भन्दै निर्वाचन समितिले दुई चरणमा चुनाव गराउने तयारी छ। खुला र समावेसी/क्षेत्रगततर्फ गरी दुई चरणमा चुनाव गराउने समितिको तयारी छ। चुनावलाई सहज बनाउन विद्युतीय र मतपत्रको प्रयोग गर्ने पनि उनीहरुको आन्तरिक गृहकार्य छ।
अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमिति महाधिवेशनबाट छनोट गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि पाँच सय बढी विद्यार्थी नेताले दाबी प्रस्तुत गर्दै प्रचारमा जुटेका छन्। अध्यक्षका लागि मात्र गुठगत आधारमा एक दर्जन बढीले प्रचार गर्दै आएका छन्। संघको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्षबाट नैनसिंह महरा र जितजंग बस्नेतमध्ये एक र नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य र दीपक भट्टराईमध्ये एकलाई अघि सार्ने तयारी छ। त्यस्तै, कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेत छन्।
नौ वर्षपछि संघको ११ औं महाधिवेशन साउन २३ गते पार्टी सभापति देउवाले भृकुटीमण्डमा उद्घाटन गरे पनि अहिलेसम्म बन्दसत्रसहितका अन्य प्रक्रिया अघि बढेको छैन।
प्रकाशित: २७ श्रावण २०७३ ०२:३१ बिहीबार