राजनीति

सरकारलाई महत्वपूर्ण निर्णय नलिन आग्रह

काठमाडौं- व्यवस्थापिका संसद्का प्रमुख दुई दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महत्वपूर्ण निर्णय नलिन आग्रह गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बिहीबार संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको जनाउँदै कामचलाउ सरकारलाई महत्वपूर्ण निर्णय लिने अधिकार नभएको स्पष्ट पारेका हुन्। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री अल्पमतमा परेको उनीहरूको जिकिर छ।

'वर्तमान सरकारबाट सत्तासाझेदार दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्›) ले आफ्नो समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट छ,' विज्ञप्तिमा भनिएको छ, 'संविधान तथा प्रचलित कानुनबमोजिम ओली सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसद्भित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्›) लगायत तेह्रवटा राजनीतिक दलले संसद् सचिवालयमा २०७३ असार २९ गते अविश्वास प्रस्ताव दर्तासमेत गरिसकेको अवस्थामा वर्तमान सरकार केवल कामचलाउ हैसियतमा मात्र रहेको छ।'

माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बुधबार प्रमुख प्रतिपक्षी कांग्रेसको समर्थनमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ।

त्यस्तै, दुई दलले ओली नेतृत्वको सरकारलाई दैनिक प्रशासन सञ्चालन गर्नेबाहेक अन्य अधिकार नभएको पनि जनाएका छन्। 'वर्तमान सरकारले दैनिक कामकाजका सामान्यबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्›) वर्तमान सरकारको ध्यानाकर्षण गराउँछ,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३१ असार २०७३ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App