राजनीति

सरकार परिवर्तनबारे माओवादीमा दुई धार, दाहाल द्विविधामा

काठमाडौं- वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा सरकारलाई दिएको सथमर्न फिर्ता लिने-नलिने विषयमा अन्योल बढेको छ।

वर्तमान सरकारको विकल्पमा सकेसम्म सहमतीय त्यसो हुन नसके अधिकतम सहमतिको सरकार गठन गर्न पहल थालेपनि यही सरकारलाई निरन्तरता दिने नदिने विषयमा कुनै सहमति हुन नसकेको माओवादी नेताहरुले बताएका छन्।

वर्तमान सरकारको विकल्पमा सहमतीय सरकार गठन गर्न पहल गर्ने  सम्पूर्ण अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ। दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।

कांग्रेस सभापति देउवाले सहमतीय सरकारको सम्भावना नरहेको भन्दै सहमतीय सरकारका लागि माओवादीलाई समर्थन गर्न नसकिने बताएका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा दाहालले मंगलबारसम्म सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए।

सत्ता हस्तान्तरण गर्ने नगर्ने विषयमा प्रधानमन्त्रीको कुनै जवाफ नआएको भन्दै वर्तमान सरकारको विकल्पको विषयमा के गर्ने भन्ने विषयमा माओवादी केन्द्रले कुनै निर्णय गर्न सकेको छैन। 'उहाँ (दाहाल) निकै द्विविधामा हुनुहुन्छ,' दाहाल निकट स्रोतले भन्यो, 'समर्थन फिर्ता लिने वा वर्तमान सत्ता गठनबन्धनलाई नै निरन्तरता दिने विषयमा कुनै निर्णय गर्न सक्नु भएको छैन।'

दाहालले आजसम्म प्रधानमन्त्रीको जवाफ पर्खने मनस्थिति बनाएको स्रोतले बतायो। माओवादी केनद्रका नेता नारायणकाजी श्रेष्ठले आजै सरकार छोड्ने विषयमा कुनै निर्णय नभएको बताए। 'हिजोको जे निर्णय हो आज त्यसमा कुनै परिवर्तन भएको मलाइ थाहा छैन,' श्रेष्ठले नागरिकन्युजसँग भने, 'आजै सरकारबाट फिर्ता आउने विषयमा पनि मलाई जानकारी छैन।'

सोमबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सम्पूर्ण अधिकार अध्यक्ष दाहाललाई दिएको थियो।

माओवादी केन्द्रका नेता मणि थापाले भने आजै सरकारलाई दिएको समर्थन फिर्ता हुने सम्भावना रहेको बताए। एमालेसँगको नौं बुँदे सहमति र भद्र सहमति कार्यान्वयन गर्ने अवस्था नरहेको देखेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनले बताए।

तर अध्यक्ष दाहाल भने समर्थन फिर्ता लिने नलिने विषयमा द्विविधामा रहेको निकट स्रोतहरुले जनाएका छन्। स्रोतका अनुसार दाहालले सरकारका विषयमा निर्णय गर्नुअघि नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र टोपबहादुर रायमाझीसँग छलफल गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार दाहालले पछिल्लो समयमा श्रेष्ठ, पोखरेल र रायमाझीलाई बढी विश्वास गर्दै आएका छन्।

वर्तमान सरकार परिवर्तन गर्न दबाब दिने नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मालगायतका नेता वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन्। सरकारमा सहभागी मन्त्रीहरु वर्तमान सरकारको विकल्प खोज्न नहुने पक्षमा छन्। सरकारमा बस्ने नबस्ने विषयमा माओवादीमा दुई धार देखिएको छ। जसका कारण अध्यक्ष दाहाल द्विविधामा परेका छन्।

प्रकाशित: २८ असार २०७३ ०५:५० मंगलबार

सरकार परिवर्तनबारे माओवादीमा दुई धार दाहाल द्विविधामा