राजनीति

मधेस प्रदेश: काँग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

मधेस प्रदेश संसदीय दलको नेता चयन गर्न नेपाली काँग्रेसले निर्वाचन गर्ने भएको छ। सहमतिमा दलको नेता चयन नभएपछि निर्वाचन समितिले बिहीबार निर्वाचन गर्ने घोषणा गरेको हो।

निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए। उनका अनुसार समिति तथा पार्टीका शीर्ष नेताहरुले सहमतिमै दलको नेता चयन गर्ने प्रयास गरेपनि सहमति नभएपछि चुनावी प्रकृयाबाट दलको नेता टुङ्गो लगाउने भएको छ।

पुस ७ गते काँग्रेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा  तीन सदस्य निर्वाचन समिति गठन भएको थियो। तर समितिले पाँच दिनपछि निर्वाचन मिति तोकेको छे। दलको नेतामा मुख्यत दुई जना आकांक्षी देखिएका छन्।

संसदीय दलको नेताका लागि मधेस प्रदेशका निवर्तमान मन्त्री रामसरोज यादव र मधेस प्रदेश सभापति कृष्णा यादव प्रमुख आकांक्षी छन्। कृष्णा नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट मधेश प्रदेशका सभापतिमा निर्वाचित भएका थिए भने रामसरोज पराजित भएका थिए। यसअघि मधेस प्रदेशको सभापतिका लागि प्रतिस्पर्धा गरिसकेका उनीहरू फेरि संसदीय दलको नेताको लागि प्रतिस्पर्धामा उत्रेका छन्। कृष्णा यादव पार्टीको केन्द्रीय सभापति शेर बहादुर देउवा समूहका हुन्। रामसरोज १४ औं महाधिवेशनमा नेता बिमलेन्द्र निधि समूहमा थिए। मधेसमा कांग्रेसले २२ सिट जितेको छ।

प्रकाशित: १३ पुस २०७९ ०४:३३ बुधबार

मधेस प्रदेश नेपाली काँग्रेस