काठमाडौं–आफूँले दिएको समयसीमा भित्र माग पूरा नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी रणनीति तय गर्न संघीय गठबन्धन तथा अन्य जनजाति समूहसँग अन्तक्रिया गर्दैछ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा हुने छलफलमा संघीय गठबन्धनमा सहभागी १५ दल तथा विभिन्न जनजाति समूहको उपस्थित हुने मोर्चाका नेताले बताएका छन्।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले तराइमा ६ महिना लामो आन्दोलन गरेको थियो। मधेसी मोर्चाको मागलाई समर्थन गर्दै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी नै गरेको थियो। अन्तर्राष्ट्रिय रुपमासमेत विरोध हुन थालेपछि भारले लगाएको पाँच महिना लगाएको नाकाबन्दी हटाएपछि मोर्चाको आन्दोलन निष्क्रिय भएको थियो।
सरकारले योबीचमा मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन गरिसकेको छ भने सीमाकंनलगायतका विषयमा सहमति खोज्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको छ। तर संयन्त्रमा मधेसी मोर्चाले आफ्ना प्रतिनिधि नपठाएका कारण संयन्त्रले पूर्णता पाउन भने सकेको छैन।
मोर्चाले सरकार मधेसको माग सम्बोधन गर्न तयार नभएको निष्कर्ष निकाल्दै आन्दोलन एकमात्र विकल्प भएको बताउँदै आएको छ। सोही आन्दोलनको तयारी स्वरुप बिहीबार मोर्चाले संघीय गठबन्धन र जनजाति समूहसँग अन्तरक्रिया गर्न लागेको मोर्चा नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए। आज हुने अन्तरक्रियामा आगामी आन्दोलनको खाका, वैशाख ६ मा हुने अन्तरक्रियाको तयारीलगायतका विषयमा छलफल हुनेछ।
स्रोतका अनुसार चैत २९ गते संघीय लोकतान्त्रिक मधेसी मोर्चा सचिवालयको सद्भावना पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनको खाका तयार पारी सबै शीर्ष नेतालाई बुझाइ सकेको छ। सचिवालयले बुझाएको आन्दोलनका कार्यक्रममा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। सचिवालयले वैशाख मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रमको खाका शीर्ष नेतालाई बुझाएको छ। 'एक महिना जनजागरणका कार्यक्रममा मात्र सचिवालयले तयार पारी शीर्ष नेतालाई बुझाएको छ,' एक नेताले भने,' अन्तरक्रियादेखि रिले अनशनसम्मका कार्यक्रम तय गरिएको छ।'
जेठ पहिलो हप्तादेखिभने राजधानी केन्द्रित आन्दोलन सुरु गर्न सुझाव दिएको बताइएको छ। मोर्चाले यही वैशाख ६ गते राजधानीको राष्ट्रिय सभागृहमा बृहद् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ। जसलाई 'जनआन्दोलन' तयारीको रुपमा मोर्चाका नेताहरुले व्याख्या गर्ने गरेका छन्।
प्रकाशित: १ वैशाख २०७३ १८:१५ बुधबार