राजनीति

कांग्रेसलाई पछ्याउँदै एमाले

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। बिहीबार साँझसम्म सार्वजनिक परिणाममा नेपाली कांग्रेसका उम्मेदवारहरूले धेरै स्थानमा जित निकालेका छन्। जसअनुसार प्रतिनिधिसभातर्फ ३६ स्थानमा जित निकाल्दा प्रदेशसभातर्फ ७६ क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्दै कांग्रेस अग्रस्थानमा छ। दोस्रो स्थानमा रहेर एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। उसले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ ५७ क्षेत्रमा जित निकालेको छ। माओवादी केन्द्र ९ स्थानमा जितेर तेस्रो स्थानमा छ। उसले प्रदेशसभातर्फ ३६ क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रतिनिधिसभाका ९ क्षेत्रमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ क्षेत्रमा जित निकालेको छ।

मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल (तनहुँ १), कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला (नवलपरासी पूर्व १), रामनाथ अधिकारी (धादिङ २), देवीप्रसाद तिमलसेना (रौतहट ४), दिनेशकुमार यादव (सप्तरी ३), दुर्लभ थापा (भक्तपुर २) र श्यामकुमार घिमिरे (सिन्धुली १) ले जित हासिल गरेका छन्।

त्यस्तै राजेन्द्र बजागाईं (गोरखा १), किशोरसिंह राठोर (बाँके ३), दिक्पालकुमार शाही (दैलेख २), पुष्पबहादुर शाह (अछाम २), रमेश लेखक (कञ्चनपुर २) र वीरबहादुर बलायर (कैलाली ४), पूर्णबहादुर खड्का (सुर्खेत १) पनि कांग्रेसबाटै निर्वाचित भएका हुन्। एमाले सचिव लेखराज भट्टलाई पछि पार्दै बलायरले जित निकालेका हुन्।

त्यस्तै एमालेबाट लालप्रसाद साँवा (झापा ४), राजेन्द्रकुमार राई (धनकुटा), मानवीर राई (सोलुखुम्बु), राजकुमार गुप्ता (पर्सा ३), रामशंकर यादव (सिरहा १), महेशकुमार बर्तौला (मकवानपुर २), विद्या भट्टराई (कास्की २), पदम गिरी (पर्वत), पृथ्वी सुब्बा गुरुङ (लमजुङ), टोपबहादुर रायमाझी (अर्घाखाँची), सूर्य थापा (प्यूठान) र सूर्यप्रसाद ढकाल (बाँके १) निर्वाचित भएका छन्। लमजुङबाट निर्वाचित पृथ्वी सुब्बाले माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पछि पर्दै जित निकालेका हुन्। अर्घाखाँचीबाट एमाले नेता रायमाझीले पनि निवर्तमान उपसभामुखसमेत रहेकी कांग्रेस नेत्री पुष्पा भुसाललाई पराजित गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (गोरखा २) सहितका नेताहरू पनि निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक मतपरिणाम अनुसार माओवादी केन्द्रबाट रामकुमार राई (खोटाङ), माधव सापकोटा (सिन्धुपाल्चोक), रेखा शर्मा (दाङ २), वर्षमान पुन (रोल्पा) र शक्तिबहादुर बस्नेत (जाजरकोट) बाट निर्वाचित भएका छन्। दाङ २ बाट शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल (रौतहट १) पनि निर्वाचित भए। उनका साथै राजेन्द्रप्रसाद पाण्डे (धादिङ १), अमरबहादुर थापा (दैलेख १), प्रकाश ज्वाला (सल्यान १), शेरबहादुर कुँवर (अछाम १), प्रेमबहादुर आले (डोटी), भानुभक्त जोशी (बझाङ) निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ मा विजयी हुँदा सोही पार्टीबाट हरि ढकाल (चितवन १) र तोसिमा कार्की (ललितपुर ३) निर्वाचित भएका छन्। लामिछानेले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई पछि पार्दै भारी मतसहित प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्। चितवन १ बाट निर्वाचित ढकालले पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका कांग्रेस नेता विश्व पौडेललाई पराजित गरेका हुन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट निर्वाचित भएका छन्। एमालेसमेतको समर्थनमा लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन्। मकवानपुर १ बाट दीपक सिंहले पनि कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायका साथै एमाले समर्थनमा उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्।

वैशाख ३० को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका सिंह पहिलोपटक जनताबाट अनुमोदित भएका हुन्। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ कैलाली १ बाट निर्वाचित भएकी छन्। जनता समाजवादी पार्टी (जसपा) बाट नवलकिशोर साह सुडी सप्तरी १ र सर्लाही १ बाट रामप्रकाश चौधरी निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह (सर्लाही ४) र प्रभु साह (रौतहत ३) पनि निर्वाचित भएका छन्।

पदाधिकारी नै हारे

कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका पार्टी पदाधिकारीहरू मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित भइसकेका छन्। सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष यादवलाई पराजित गरेका हुन्। मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष थापालाई उनकै पूर्वसहकर्मी दीपक सिंहले हराएका हुन्। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि पराजय उन्मुख छन्। नवलपरासी पश्चिम १ बाट चुनावी प्रतिस्पर्धामा रहेका त्रिपाठीलाई कांग्रेस नेता विनोद चौधरीले पछि पारिरहेका छन्।

काठमाडौं ५ बाट उम्मेदवार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका छन्। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट पराजित भएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उनलाई पछि पारेका हुन्। एमाले महासचिव शंकर पोखरेल पनि पराजित भएका छन्। दाङ २ बाट उम्मेदवार बनेका पोखरेललाई माओवादी केन्द्रकी नेत्री रेखा शर्माले पराजित गरेकी हुन्। एमाले सचिव लेखराज भट्ट पनि कैलाली ४ बाट पराजित भएका छन्। कांग्रेस नेता वीरबहादुर बलायारले उनलाई पराजित गरेका हुन्।

माओवादी महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित भएका छन्। त्यस्तै ऊर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पनि पराजित बनेकी छन्। नेकपा एसकी सचिव रामकुमार झाँक्री, उपमहासचिव जगन्नाथ खतिवडा पनि पराजित भएका छन्। झाँक्री गुल्मी २ र खतिवडा उदयपुर २ बाट एमाले उम्मेदवारसँग पराजित भएका हुन्।

त्यस्तै नेकपा एसका सचिवसमेत रहेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भए। मकवानपुर १ बाट प्रतिस्पर्धामा उत्रिएकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय राप्रपा नेता दीपक सिंहसँग पराजित भइन्। कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट पराजित भए। बारा १ बाट प्रतिस्पर्धामा रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी पनि एमाले उम्मेदवारको भन्दा ६ हजार बढी मतले पछि परे।

प्रकाशित: ९ मंसिर २०७९ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App