राजनीति

पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित

इलाम क्षेत्र नम्बर १ को मतगणना गएराति १२ बजेदेखि स्थगित गरिएको छ। मतपेटिकाको सिलको विषयमा विवाद भएपछि गणना रोकिएको हो।  

मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। ‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौं, रुजु गराएका हौं तर मतपेटिका खोलिसकेपछि प्रदेशसभाका एक उम्मेदवार आएर यो रुजुबिनै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भने, ‘त्यसपछि वातावरण केही खल्बलिँदा सहमतिका लागि छलफल हुन सकेन।’ उनले छलफल र सहमति गरी आजदेखि मतगणना चालू गर्ने प्रयास भइरहेको जानकारी दिए।  

यो क्षेत्रको २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्। नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ०१:१९ बुधबार

Election 2079