फोटो फिचर

६० रुपैयाँमै एक किलो प्याज, खाद्य व्यवस्थामा किन्नेको लाइन(फाेटाे फिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६० रुपैयाँ प्रतिकिलोमै प्याज बिक्री गर्न थालेपछि बिहानैदेखि किन्नेको भीड लागेको छ। व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज कम्पनीको थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको हो। उक्त प्याज एक जनालाई बढीमा तीन किलोसम्म दिने गरिएको छ। बजार अनुगमनका क्रममा १४ हजार ६०० किलो प्याज सरकारले नियन्त्रणमा लिएको थियो ।

केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ अकासिएको हो। यो पोहोर यही बेलाको तुलनामा दोब्बर हो ।

भारतले पोहोर पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा यसको भाउ दुई सय ३० रूपैयाँसम्म पुगेको थियो । राजधानीमा मात्र दैनिक साढे दुई सय मेट्रिक टनभन्दा बढी प्याज खपत हुन्छ । कालीमाटी तरकारी बजारबाट मात्र ६० टन प्याज बिक्री हुने गरेको छ ।

वार्षिक अर्बौं रूपैयाँको आयात भए पनि सरकारले प्याजका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छैन । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यका अनुसार मुलुकमा २० हजार नौ सय आठ हेक्टर क्षेत्रफलमा प्याज खेती छ । यहाँ वार्षिक करिब तीन लाख मेट्रिक टन प्याज उत्पादन भए पनि दुई लाख मेट्रिक टन विदेशबाट आयात हुन्छ । वार्षिक करिब पाँच लाख मेट्रिक टन प्याज खपत हुने अनुमान छ ।

सरकारले आव ०६४/६५ देखि २०६९/७० सम्म ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरेको थियो । ६० करोड रूपैयाँ खर्च गरेको कार्यक्रम प्रभावकारी नभएपछि २०७० मा खारेज गरेको थियो । प्याज आयात प्रतिस्थापन गर्न सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही, दाङ बाँके र बर्दिया जिल्लामा ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरे पनि परिणाम आएन ।

मुलुकमा खपत हुने प्याज र आलु ठूलो परिमाणमा विदेशबाट आयात हुन्छ । स्वदेशमा उत्पादन गर्न सकिने अन्य कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको छ ।

प्याज