फोटो फिचर

अब्बल थारु महिला आत्मनिर्भरको बाटोमा

गुलरिया स्थित राधाकृष्ण बगलामुखी माविमा कक्षा ६ मा अध्यनरत बालापुरकी बर्षा थारुको लकडाउनमा दैनिकी फेरिएको छ ।  

विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आमाका पेशा धान्न पाउँदा खुसी भएको उनले सुनाईन ।  

बजारमा उनले बिक्रि गर्न लैजाने ताजा तरकारी भेन्डि,फर्सीको मन्टा,लौका,घिरमला,बोडि,गब्दा र टमाटर ग्राहकले खोसाखोस गर्छन । ग्राहकहरूको रोजाईमा पर्छ उनले उत्पादन गरेको तरकारी । स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेका छन्। कोरोना संक्रमण हुन सक्ने आंशकामा बजारको तरकारी ग्राहकले किन्ने गरेका छैनन्।

विषादीरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । शान्तीका श्रीमान ग्रिल उद्योगमा काम गर्छन्। लकडाउँनले गर्दा उद्योग बन्द छ । ‘श्रीमानको आयस्रोत बन्द छ’, शान्तीले भनिन्, ‘जिवन चलाउँन तरकाली सहज माध्यम बनेकोे छ ।’

रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् । समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् ।चुलो चौको छाडेर व्यबसायिक तरकारी खेतीमा थारु महिला तल्लिन देखिन्छन् ।

गुलरिया नगरपालिका–५ बालापुर,बढैयाताल गाउँपालिका–६ भदैया, गोला १ शान्ती पुरका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् ।  

तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रु २० देखि ३० हजारसम्म कमाउने गरेका सकुन्तला चौधरीले बताउँछिन्।  

लकडाउन अघि बर्दियाबाट नेपालगञ्ज तरकारी बेच्न पुग्थे । नेपालगंजका व्यापारी घर मै आउँथे ।अहिले आफ्नो उत्पादन स्थानीय बजारमा बेच्छन्। लकडाउनमा बाहिर बाट कुनै पनि तरकारी आयात र निर्यात बन्द गरिएको छ ।

बारीबाटै बेच्नुभन्दा घरघरमा तरकारी बेच्दा नाफा धेरै हुने सकुन्तला बताउँछिन्। ‘यतिबेला हामीहरु घरघरमा पुगेर तरकारी बिक्री गछौँ, श्रीमानले खेतबारीमा सिँचाइ गर्ने, तरकारी गोडमेल गर्ने काम गर्छन’ उनले भनिन् ।  

अधिकांशले पाँच कठ्ठा देखि एक बिगाहामा तरकारी खेती गरेका छन्  । गाउँमा भन्दा घरघरमा पुगेर तरकारी बिक्री गर्दा दोब्बर नाफा हुने गरेको रामकृष्णी थारुले बताईन्।

लकडाउन कृषि