फोटो फिचर

टोखाका व्यापारीलाई चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो। परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ।

माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ। माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार माग बढी हुने गर्दछ।  

त्यहीँ माग पुरा गर्ने काठमाडौंको टोखाका चाकु व्यापारीहरु चाकु बनाउन व्यस्त छन्।  

माघेसंक्रान्ती आउन डेढ साता बाँकी रहँदै यहाँका व्यवासायी चाकु बनाउनतिर लागेका हुन्।  

यसरी बनाइन्छ चाकु

पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने। तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने। त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने। यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ।

यस्ता छन् चाकुको फाइदा

गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ। जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ। चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ। सखर र पानीबाट बन्ने चाकुमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा हुन्छ।  

त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर,  सुत्केरी महिला तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ। जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो।

 

माघे संक्रान्ति