पत्रकारसँग भेट्नुछ भनेपछि उनले केही दिन लगाएर ६ पानामा आफ्नो कुरा लेखेका रहेछन्। एउटा पत्रकार भेट्ने भन्दैमा त्यतिसारो मेहेनत किन गरे होलान् उनले? सायद कियोसी सातो जस्तै हरेक नागरिक आफ्नो काम र कुरामा सिरियस भएर जापानले विकासमा फड्को मारेको होला भन्ने छनक मिल्यो।
अंग्रेजीमा उम्दा नभए पनि उनी इन्जिनियर हुन्। जापानमा इन्जिनियरिङ वा अरु कुनै प्राविधिक विषय पढ्न नेपालमा जस्तो अंग्रेजीमा पोख्त हुनै पर्ने बाध्यता छैन। त्यस्ता विषयका पाठ्य सामग्री पनि आफ्नै भाषामा तयार पारेका छन् उनीहरुले। इन्जिनियरिङ पेसामा ४० वर्ष बिताएर अवकास लिएको पनि १५ वर्ष भइसकेछ सातोले। इन्जिनियर पनि कस्ता भने जापानले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न चुनेकामध्ये एक थिए उनी। सातोलाई ३७ वर्षअघि जापानले नेपाल पठाएको रहेछ। जापानी सहयोग नियोग (जाइका) मार्फत नेपालमा भूमिगत पानीको सिँचाइ व्यवस्थामा सघाउन उनी त्यो बेला नेपाल आएका रहेछन्।
त्यो सन् १९७८ को कुरा थियो। टोकियो विमानस्थलबाट उड्नुअघि जापान सरकारले उनलाई बताएको थियो— नेपाल हिमालयको देश हो। तर नेपालमा आएर उनले जहाँ काम गर्नुपर्यो्, त्यो ठाउँ मधेस थियो। हिमाल हेर्न त्यति पाउँदैनथे। तर, उनलाई हिमालै हेर्न मन लाग्थ्यो। छुट्टिका दिनहरुमा हिमाल देखिने पहाडी गाउँतिर उक्लन्थे। मन परेको ठाउँ देखाउन पत्नीलाई पनि डाके। ६ वर्षका बीचमा २ चोटि जापान आउजाउ गरे। मन धेरै समय यतै रमायो।
जब सन् २००१ मा उनी इन्जिनियरिङ सेवाबाट निवृत्त भए, त्यसपछि वर्षको एकपटक नेपाल आउने तालिकै बनाए। 'उता जापानमा जाडो सिजन चल्दा म नेपालतिर आउँथें,' उनी बोले, 'वर्षमा ३ महिना यतै बस्थें।' त्यसमा पनि उनलाई हिमाली काखको सहर पोखराले मोहनी लगायो। त्यसरी नै वर्षको एकपटक पोखरा आउँदा सन् २००५ मा उनको भेट तेज गुरुङसँग भयो। उनीहरुको कुरा किन पनि जम्यो भने तेज जापान बसेर फर्केका थिए र जापानी प्रष्ट बोल्थे। त्यसमाथि पनि होटल चलाएर दिन रात मेहेनत गरेको देखेपछि तेजसँग सातो प्रभावित भए।
सातो जति बेला नेपाल आएका थिए, त्यो उनलाई सय वर्षअघिको जापान जस्तो लाग्थ्यो। बारम्बार आइरहे, तर परिवर्तन खासै पाएनन्। प्राकृतिक स्रोतको कुनै अभाव नभएको यो मुलुक विकास हुन नसकेको देखेर उनलाई विरक्त पनि लाग्थ्यो। 'विरक्त मानेर बसेर मात्रै हुँदैन, मैले आफूले सक्ने जति केही गर्नुपर्छ,' उनले सोचे। तेजसँग सल्लाह गरे। सातोलाई शिक्षामा काम गर्ने इच्छा थियो। तेजले पोखराको उत्तरी गाउँ अर्मलामा केही गर्न भने। त्यहाँको सीता प्राथमिक विद्यालयसम्म सातोलाई लिएरै गए। के काम गर्ने भनेर पहिल्यै आफ्नो कुरा लाद्नुभन्दा सातोले समस्या केलाए। थाहा के भयो भने स्कुललाई सरकारले आवश्यकमात्रामा शिक्षक दिएको रहेनछ। गाउँलेले नै दानचन्दा उठाएर केही शिक्षक राखेका रहेछन्। तिनलाई पाल्न धौधौ परेको रहेछ। गाउँलेले शिक्षकलाई तलब खुवाउने व्यवस्था मिलाउन आग्रह गरे। त्यसका लागि एउटा अक्षय कोष बनाउन पाए त्यसैको ब्याजले शिक्षकलाई तलब खुवाउन हुन्थ्यो भन्थे गाउँलेको चाहना रहेछ।
गाउँको प्रस्ताव सातोलाई ठिक लाग्यो। तर, सर्त पनि राखे—अक्षयकोषका लागि आधा पैसा गाउँलेले नै जुटाउने र आधा उनले। त्यसो गरेमात्रै गाउँलेमा अपनत्व र जिम्मेवारी महसुस हुन्छ भन्ने सातोको सोचाइ थियो। 'त्यस्तो राम्रो प्रस्ताव हामीले नमान्ने कुरै थिएन,' तेजले सुनाए, 'हामीले पनि आफ्नो तर्फबाट पैसा संकलन सुरु गर्यौंउ, उहाँले पनि जुटाउनुभयो।' सन् २००७ बाट सुरु भएको त्यो अभियानमा अहिलेसम्म १३ लाख रुपैयाँ संकलन भइसकेको छ। त्यसमध्ये सातोले ८ लाख ३५ हजार रुपैयाँ जुटाएका हुन्। त्यो पनि ५ लाख रुपैयाँ आफैंले दिएका हुन् र बाँकी साथीभाइबाट जुटाएका। त्यही अक्षयकोषबाट अहिले स्कुलमा शिक्षकहरुलाई तलब खुवाउन थालिएको छ। विद्यार्थीलाई स्कुल आऊँआऊँ बनाउने वातावरण होस् भनेर पिङ हालिएको छ। खेलौना दिइएको छ। कपी कलम पनि बेलाबेला बाँडिन्छ।
कुराकानी गर्न भेट्नासाथै सातोले थमाएको कागजमध्येको पहिलो पानामा उनले लेखेका छन्, 'मलाई नेपालका हिमालहरुले सधैं स्वागत अभिवादन गरिरहेझैं लाग्छ।' उनलाई नेपाल डोर्यााउने तत्व त्यही थियो। अचेलचाहिँ अर्काे कुरा पनि थपियो—सीता प्राथमिक विद्यालय अर्मलामा पढ्दै गरेका केटाकेटीको मुस्कान। उनीहरुको पढाइ र निच्छल हाँसोले बुढ्यौली उमेरमा सातोलाई ऊर्जा दिइरहेको छ। त्यसैले वर्षेनी आउँछन्, तीन महिना पोखरामै बस्छन्। होटलभन्दा अपार्टमेन्ट लिएर बस्न रुचि छ। यो बुढ्यौलीमा वर्षमा तीनतीन महिना हराउने र त्यो पनि अर्काको देशको विकास गर्छु भनेर भन्दै पत्नी ठुस्किन्थिन् पनि। 'पोखरा आएर उनले पनि घुमिन्, देखिन् अनि अचेल के भइरहेको छ भनेर सोध्छिन्,' सातोले पत्नीका कुरा सुनाए।
७८ वर्षे जिन्दगीको आधा समय इन्जिनियरिङमा बिताएर पनि शिक्षामा रुचि किन इन्जिनियर सा'ब? प्रश्नको उत्तर झ्वाट्ट दिएनन्। एकछिन मौन रहे अनि बोले, 'नेपालको विकास गर्ने हो भने शिक्षामा सुधार गर्नुपर्छ।' उनले सन् १९७८ मा भूमिगत सिँचाइको काम गर्न आउँदा नेपाल विकास नहुनुको कारण ठम्याएका रहेछन्। 'कसैसँग केही योजना नै थिएन,' उनले सम्भि्कए, 'न भूमिगत सिँचाइको काममा पनि योजना थियो न अरु कुनैमा।' त्यही कामका सिलसिलामा सरकारी कार्यालय धाउँदा पनि उनलाई लागेको थियो—यहाँ कुनै योजना नै छैन। तर, केही इन्जिनियरहरुलाई पढाउँदा भने ती अब्बल पाएका थिए।
जब स्कुलहरुमा पुगेर हेरेर हालत पत्ला पाए। सबैभन्दा पहिला त कोर्स नै स्तरीय नरहेको उनको ठम्याइ छ। जापानमा ७/८ कक्षामा हुने गणितको पढाइका हिसाब ल्याएर यहाँका शिक्षकलाई दिँदा तिनको हल यहाँकाले गर्न सकेनन्। भन्छन्, 'यहाँको गणित पनि घोकन्तेखालको रहेछ, हाम्रोमा दिमाग लगाउने खालको हुन्छ।' देशको विकास गर्ने भए सबैभन्दा पहिला शिक्षामै सुधार गर्नुपर्ने उनी बताउँछन्। तर कसरी सुधार गर्ने भन्नेचाहिँ नेपालीहरुले नै छलफल गरेर योजना बनाउनुपर्छ भन्ने उनलाई लाग्छ। कुराको बिटा मारौं न त भनेपछि उनले दुई हात जोडे। अनि भने, 'सरी है, मैले यहाँसँग योजना नभएको कुरा गरें, शिक्षा स्तरीय नभएको कुरा गरें।' फेरि एकछिनपछि थपे, 'हुन त यी सबै कुरा मैले नेपालकै भलाइका लागि भनेको हुँ।' हो इन्जिनियर सा'ब यी नेपालकै भलाइका लागि हुन्। त्यसैले सरी त हामी नेपालीले पो भन्नुपर्ने हो कि?
प्रकाशित: १२ चैत्र २०७२ २३:४५ शुक्रबार