अन्य

प्याराडक्स जिन्दगी

हिउँद्को कुनै महिनाको एक साँझ।
नयाँ सडक पीपलबोटछेउको भीड।
गजलकार ललिजन रावलले परिचय गराइदिए– उहाँ विप्लव ढकाल, घर भोजपुर, हाल काठमाडौँ। अनि उहाँचाहिँ राजेन्द्र पराजुली, कोटेश्वर, काठमाडौँ। त्यसबखत रचनाको मुन्तिर ठेगाना लेख्ने चलन व्यापक थियो। त्यसैले नामका पछिल्तिर ठेगानाको फुँदा जोडिदिएका हुन् रावलले।

त्यसरी परिचय विनिमय भएको ठ्याक्कै २५ वर्ष भइसकेको छ। र, म विप्लवसँगको मित्रताको रजत वर्षको संघारैमा हिँडिरहेको छु। उनका आरम्भताकाका वामविचारबाट प्रभावित, त्यसपछि क्रूर बिम्बमा आधारित र अहिले समाज र माटोसँग नाता गाँस्दै हिँडेका कविताको साक्षी बसिरहेको छु। नदेखेको कविको शारीरिक रूपरंग तथा जीवनशैली अनुमान गर्दा कविताका पंक्ति याद गरिँदो रहेछ। त्यसैले कतिपय प्रसंगमा असल पाठक साहित्यकारलाई नचिनेकै राम्रो भन्ने पनि गर्छन्। कतिपय कविको जीवनशैली कवितासँग ठ्याक्कै मेल पनि खान्छ, कतिपयका सवालमा भने उल्टो लाग्छ। जतिखेर विप्लवसँग मेरो मित्रता आरम्भ भयो त्यसबखत मुलुकमा भर्खरै बहुदलबहाली भएको थियो। नागरिकमा एकप्रकारको उमंग र उत्साह थियो। कवि–लेखक त स्पष्टरूपमै वैचारिक विभाजनमा थिए। राजनीतिक गुट–उपगुट बनिरहेका थिए। दलका चुनावी घोषणापत्रलाई अब्बल कविता भन्नेको संख्या पनि थपिँदो थियो। सर्वसाधारण पनि विभाजित बनिरहेका थिए, राजनीतिक आस्थाका आधारमा। तर, विप्लवले भने त्यसअघि नै वामन्थको जनै फुकालेर जन्मथलो याकुको कुनै भीरबाट फालिदिइसकेका थिए। र, उनी भट्किरहेका थिए क्रूर बिम्बको जंगलतिर। त्यसबेला उनका कविता डरलाग्दा हुन्थे। जीवनलाई सहजताको नदीमा बहाइरहेका उनी सकेसम्म क्रूर बिम्बले आफ्ना कविता सुसज्जित गर्न चाहन्थे।

हिउँद्को मौसममा

आगोलाई फ्रिजमा राखेर

म निराशाका आइसक्रिम पिइरहेको छु

फलामका लिंगहरूमा

बिषका सिलिन्डर झुन्ड्याएर

फेरि एउटा क्रोनिक आशंका

रातभरि मेरी प्रेमिकालाई आलिंगन गर्नेछ।

...

यो फिँजैफिँज आउने काइँयो

र, दाह्री काट्ने टेलिभिजन

यो शुद्ध कर्कटपाताको मासु

र, रेशमी धागाले बुनिएका पवित्र दूधहरू

यो कम्प्युटरको अमर आत्मा

र, तीर्थ गर्न हिँडेका धिमाल्नीहरू!

क्रूर बिम्बले सजिए पनि काव्यिक विपर्यास (प्याराडक्स)का नमूना हुन् यी कविताका पंक्तिहरू। कुनैबेला विप्लव भन्थे– संकटको कारागारबाट म मेरो कवितामा त्रास र आतंकको सौन्दर्य खोजिरहेको छु। जब आफ्नै उपस्थितिले आफूलाई अत्यास लाग्न थाल्छ– म कविताका बेवारिस लार्भाहरूलाई जीवनले निचोरिरहेको छु र पिपजस्तो घिनलाग्दो पदार्थ मेरो सौन्दर्य चेतनाभरि च्यापच्यापी टाँसिइरहेको छ। कवितालाई सकेसम्म भयावहता, निराशा, अन्धकारले ओतप्रोत गर्थे उनी त्यसबखत। उनको शैली पृथक थियो र अद्यापि छ पनि।

सम्बन्धका हिसाबले नजिकको मित्र थिएँ म, तर उनका कविताको भित्रभित्रै इर्ष्या पनि गर्थें। उनी कविता वाचन गर्दा आगो ओकल्थे, अद्यापि ओकल्छन्। जब उनी कविता पढ्न सुरु गर्छन् वातावरणमा मौनता छाउन थाल्छ। दाह्रा किड्नु, टाउको झट्कार्नु, हातलाई आकाशतिर हल्लाउनु र लय हाल्नु विप्लवको कविता वाचन शैली हो। झन्डै देव्रेतिरबाट सिउँदो चिरिएको उनको 'हेयरस्टाइल' उनले कविता वाचन गर्दा बढी सक्रिय रहन्छ। त्यो मज्जाले हल्लन्छ, स्विच अन गरेर एक नम्बरमा राखेको पंखाजस्तै वा विप्लव हल्यिोस् भनी चाहन्छन्! अब त नेपाली कविताको दुनियाँमा उनका शैली (वाचन–लेखन) पछ्याउनेको संख्या पनि निकै भइसकेको छ।

नेपाली कविताको कुवा निकै गहिरो बन्दै गएको छ। यो कुवामा थोरै माछा छन्, धेरै चेपागाँडा र भ्यागुता सक्रिय हुन्छन्। कर्कश लाग्ने आवाज निकाल्दैनन् माछाहरू। भ्यागुतालगायतका भीडको आवाज ठूलो छ। त्यो भीडमा विप्लवको आवाज मिल्दैन। त्यो नमिल्नु नै उनको फरक परिचय हो, उनको प्रतिभा हो। त्यही नमिल्नुको परिणाममा उनी औँलामा गन्न सकिने राम्रा कवि बन्न सफल भएका छन्।

अन्य विधाभन्दा कविता लेख्नेहरूको चुली निकै अग्लो हुन पुगेको छ। निश्चय नै यो सुखद अवस्था हो। भीडमा हिँडेर नै परिचय स्थापित हुने हो। यद्यपि, कविता लेख्नुमात्र ठूलो कुरा होइन, त्यसको दीर्घायु, शक्ति, मन हल्लाउने र दिमाग तताउने तŒव अन्तर्निहित हुनु सबैभन्दा महŒवपूर्ण कुरा हो। उल्लिखित तŒवयुक्त कविता लेख्न सफल भएकोमा उनका प्रशंसकको पंक्ति निकै लामो भएको हुनुपर्छ भन्ने मेरो विश्वास छ। मेरो समयको एउटा कवि त्यो उचाइँमा पुग्नुलाई म आफ्नो पनि प्राप्ति ठान्छु।

प्रश्न उठ्छ, यस्ता कविको जीवनशैली वा उनको हाउभाउ कस्तो होला? सबैको उत्तर हुन्छ– अराजक। तर, विप्लव 'स्विटमाउथ' व्यक्ति हुन्। उनको एउटा कवितामाथि प्रतिक्रिया लेख्ने क्रममा करिब २० वर्षअघि मैले उनलाई 'नेपाली कविताको डिप्लोम्याट' भनेको थिएँ। डिप्लोम्याटले दुई वा बहुपक्षबीच कुरा मिलाउने काम गर्छ। डिप्लोम्याट स्विटमाउथ नहुने हो भने असफल हुने खतरा पनि उत्तिकै हुन्छ। तर, उनको स्विटमाउथ अनावश्यक प्रशंसा गर्नेखालको नभई कसैलाई नचिढाउने प्रवृत्तिको छ। कहिलेकाहीँ उनी बोलिदिउन् भनी चाहना राख्दा उनको मौनताले मलाई नराम्ररी बिझाएको पनि छ। 'मौनताको सौन्दर्य झनै बढी प्रभावकारी हुन्छ गुरु' यसो भनेर उनी कूटनीतिक जवाफ दिन्छन्।

उनको जीवन तालिकामा चल्छ। रक्सी खानै पर्दा २ पेग खाएपछि उनलाई झ्याप्पै लाग्छ (अभिनय त होइन होला?) 'मलाई त लाग्यो गुरु' सय मिलिलिटर पेटमा पुगेपछि धेरै पटक उनले मसँग यसै भनेका छन्। हामी एकअर्कालाई सम्बोधन गर्दा 'गुरु' शब्द प्रयोग गर्छौं। र, मैले नेपाली साहित्यमा मेरा समकालीन मित्र कसैलाई 'तिमी' भनेको छु भने ती विप्लव नै हुन्– विप्लवमात्रै हुन्।

किन विप्लव कविताजस्ता छैनन्? 'मेरो पेशा (शिक्षण)ले मलाई यस्तो बनायो। नत्र म आफ्ना कविताजस्तै जीवन बाँचिरहेको हुन्थेँ,' उनी भन्छन्, 'मैले बाँचेको जीवन र लेखेको कविताबीचको प्याराडक्स नै हो यो पनि। चाहना त मेरो पनि कविताजस्तै हुने छ नि, तर विभिन्न सन्दर्भले रोकिहाल्छ।'

प्याराडक्समय जीवन बाँच्नु आधुनिक समयको मान्छेको बाध्यता हो। विरामीलाई चुरोट–रक्सी नखानु भन्ने चिकित्सक सबैभन्दा बढी चुरोट–रक्सी खान्छ। भ्रष्टाचारमा चुर्लुम्म डुबेका प्रशासक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च पदमा आसिन हुन्छ। ईश्वरका नाममा प्रवचन दिने धर्मभिरु बाल बलात्कारमा उत्साही हुन्छ। विद्यार्थीलाई चिट चोराउन उत्साही हुन्छ मास्टर। थुप्रै छन् प्याराडक्सका नमूना। कुरा सत्य, तर हेर्दा र देख्दा पनि पत्याउन मुस्किल! प्याराडक्सको जगजगी भएको यो समय!

२०४२ सालमा भोजपुरमा उनी आइए पढ्दै गर्दा प्रहरी पक्र्यो। क्रान्तिकारी, वामपन्थी र बहुदलवादी भनेर बेस्सरी पिट्यो। सायद त्यही पिटाइले उनलाई केही क्रूरताप्रेमी बनाइदियो। सोहीबखत उनले आफ्नो काव्यिक न्वारान पनि गरे। उनी बाबुराम ढकालबाट 'विप्लव'मा अवतरण भए। उनको जिन्दगीको प्याराडक्स यात्रा यहीँबाट आरम्भ हुन्छ। उनको नामै पनि अराजकताप्रेमी देखाउन पर्याप्त छ। नामजस्तै उनी डरलाग्दा बिम्ब खोज्दै कवितामा उन्दै रहे झन्डै डेढ दशक। तर, छैनन् उनी अराजक वा उत्तेजक पनि, उनी कूटनीति पनि राम्रै जान्दछन्।

६० को दशकको पूर्वार्द्धताका उनलाई लाग्यो– कवितामा समाज र आफू उभिएको जमिन हुनुपर्छ, त्यसको खोजी गरिनुपर्छ। त्यसपछि उनले क्रूरबिम्ब, निराशा, भयावहता र अन्धकारमात्र छैन संसारमा आशा, कोमलता र उज्यालो पनि छ भन्ने धारणा बलियो पारे। कुनै समय 'शब्दहरू पागल भएपछि कविता बन्छ' भन्ने उत्तेजक विचार राख्ने उनी शीष्ट, कोमल, प्रेमिल र शक्तिशाली शब्दको खोजमा लागे। उनको कवितामाथि मैले गर्दै आएको इर्ष्याको पारो झनै उकालो चढ्न थाल्यो। अहिले उनी कवितामा 'फलामका लिंग' र 'कर्कटपाताका मासु' खोज्दैनन्। 'अब त मासुकै लिंग खोज्ने हो नि,' उनी भन्छन्।

रुखलाई एक्लै छाडेर

म हिँडेको थिएँ यो जंगलबाट!

धेरै वर्षपछि म फर्किंदा

रुख त्यसरी नै उभिएको थियो!

'अब तिम्रो सट्टामा

म उभिन्छु यो जंगलमा,

तिमी कतै घुमेर आऊ!'

मैले रुखको आँसु पुछिदिँदै भनेँ

यही एउटा कविता पर्याप्त छ उनको कविताको पछिल्लो अवतरण बुझ्न।

कवितासँगको उनको प्रेमले अब ३ दशक नाघिसकेको छ। यो प्रेम कहिलेकाहीँ लघुकथा, नाटक, समालोचना वा गजलमा पनि ठोक्किन खोजेको थियो। तर, पछिल्लो समय उनी कवितामा एकहाते बनेका छन्।

२०५० सालताका 'वन्दना' नामक त्रैमासिक साहित्यिक पत्रिकाको प्रधान सम्पादक थिएँ म। नयाँ सडककै भेटमा मैले उनलाई एकदिन भनिदिएँ– म तिम्रा कविताको छुट्टै अंक निकाल्न चाहन्छु। वन्दनाले 'विप्लव ढकालका कविताहरू' शीर्षकमा विशेषांक निकाल्यो। पछि त्यही संकलनले पुस्तकको रूप पनि लियो– 'निर्जन बन्दरगाह' शीर्षकमा। त्यसपछि उनका 'कालो मध्यान्तर', 'प्रोफेसर शर्माको डायरी', 'च्याउको जंगल'जस्ता कविता पुस्तक प्रकाशित छन्।

२०५० सालमै मेरो सम्पादनमा निस्केको 'कविता सोच' (समकालीन नेपाली कविता र विचार–२०५०) नामक संकलनमा पनि उनको कविता राखेको थिएँ। 'भर्खर कविता लेख्न थालेको काँचो कविको विशेषांक निकालेर वन्दनाले आफ्नो कद होचो पार्योत' भन्ने आवाज केही अग्रज कविबाट आउन थाल्यो। विशेषगरी प्रगतिशील लेखकले यस्तो कुरा गरेका थिए। कविता सोचमा उनको कविता समावेश गरेकोमा पनि कतिपयको विमति थियो। विप्लवले वामपन्थ त्यागेको पनि उनीहरूलाई चित्त नबुझेको हुनसक्छ र सोही कारण यस्तो प्रतिक्रिया आएको थियो। 'यो मान्छेले कुनै दिन नेपाली कवितामा दह्रो हस्तक्षेप गर्नेछ, स्थापित कवि बन्नेछ' भनेर म जवाफ दिन थालेँ। आज उनले मेरो उक्त दाबी र विश्वासलाई मजबुत बनाइदिएका छन्। धन्यवाद कवि विप्लव, धन्यवाद गुरु।

प्रकाशित: १ माघ २०७२ २३:३१ शुक्रबार