अन्य

भिरिङ्गी

मन्त्री महोदय छाँगोबाट खसेझैँ भयो। छाँगो पनि पोखराको पाताले होइन, अमेरिकाको नायगारा फल्सबाट। पातालेबाट खस्नु दम्भ र अहंकारका पर्याय उसको हैसियतको मानहानि हुन्थ्यो।'मलाई सिफिलिस कसरी हुन सक्छ? के म भिरिङ्गी सल्किने खालको मान्छे हुँ? तपाईंले टेस्ट त राम्ररी गर्नुभो?' महोदयलाई विश्वास भइरहेको थिएन।

मन्त्रीले डाक्टरको क्षमतामाथि प्रश्न उठाइदिएको थियो। तसर्थ ऊ पनि जंगियो, 'रोगले मन्त्री, पियन, हाकिम, कारिन्दा, ठूलो, सानो भन्छ र? तपाईंलाई भिरिङ्गी भएको छ। र, यो विशुद्ध शारीरिक प्रकृतिको भिरिङ्गी हो, राजनीतिक प्रकृतिको होइन। सत्यलाई स्विकार्नेबाहेक तपाईंसँग अर्काे विकल्प छैन।'

डाक्टरले मन्त्रीको अहंकारमाथि प्रहार गर्योह। तर, यस्ता प्रहारले गल्ने मान्छे होइन ऊ।

'तपाईं डाक्टरहरू के जान्नुहुन्छ र, यार? स्टेथस्कोप भिर्दैमा हुन्छ? टेस्टमा लापरबाही गर्नुभयो कि क्या हो?' मन्त्री ठालू पल्टियो। यो उसको नैसर्गिक चरित्र थियो। कैयौँ लाइभ अन्तर्वार्तामा उसले 'तपाईं पत्रकारहरू के जान्नुहुन्छ र?' भनेर उनीहरूको अपमान गरेको थियो। ऊ ठान्दथ्यो– जान्ने र बुझ्ने एकाधिकार उसलाई र मात्र उसलाई प्राप्त छ। समझको ठेक्का उसको र केवल उसको हो।

यो डाक्टर पनि कम्ती जण्ड थिएन। उसले ढिँडालाई निस्तै शैलीमा सक्रोध भन्यो, 'तपाईं नेताहरू के जान्नुहुन्छ र? मन्त्री पद ओगट्दैमा हुन्छ?' डाक्टरलाई यतिले मात्र पुग्दैन जस्तो लाग्यो र उसले दनकको मात्रा थप्यो, 'तपाईंको एट्टिट्युडमै भिरिङ्गी सल्केको छ।'

मन्त्रीले जिन्दगीमा पहिलोपटक यति चर्काे मुखभरिको जवाफ पाएको थियो। रिस र अपमानबोधले ऊ कालोनीलो भएको थियो। थर्र कामिरहेको थियो।

डाक्टर पनि डराएको थियो। मन्त्रीजस्तो मान्छेसँग यति रुखो व्यवहारको परिणति जे पनि हुन सक्थ्यो। तर, अब शब्दबाणहरूलाई मुखको ठोक्रोमा फर्काउन सम्भव थिएन।

अतः नरम भएर डाक्टरले भन्यो, 'हेर्नुस् मन्त्रीज्यू, सिफिलिस कुनै ठूलो रोग होइन। एउटा पेनिसिलिन इन्जेक्सन लिएपछि ठीक हुन्छ। तपाईं बित्थामा आत्तिरहनुभएको छ।'

'को आत्तेको छ? म आत्तिन्छु? आत्तिने मान्छे हुँ म?' मन्त्रीले उही परिचित पारा देखायो।

'इन्जेक्सन लगाउने हैन त?' डाक्टरले पेशागत धर्म निर्वाह गर्न खोज्यो।

'विचार गरुँला।' यति भनेर मन्त्री क्लिनिकबाट बाहिरियो।

०००

भन्नेहरू मन्त्रीलाई स्त्रीलम्पट भन्ने गर्छन्। तर, ऊ आफूलाई स्त्रीहरूको उद्धारकर्ता भन्न रुचाउँछ। राहतदाता पनि उसलाई प्रिय लाग्ने नाम हो। उद्धार कार्य तथा राहत वितरणको उसको आफ्नै पद्धति छ, सिस्टम छ। जसलाई ऊ आफ्नो कोड भाषामा 'शयनोपरान्त उन्नयन प्रणाली' भन्छ।

समस्यामा परेका, दुःखमा परेका, संकटमा परेका सुन्दर महिला देख्यो वा भेट्यो भने मन्त्री भावुक हुन्छ। यो देशको सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, आर्थिक आदि विद्यमान संरचनामुन्तिर समस्यामा नपर्ने, दुःखमा नपर्ने र संकटमा नपर्ने महिला को होलान्? तर, सबै महिलाका दुःखले मन्त्रीलाई भावुक बनाउँदैन। भावुकताको पनि त सीमा हुन्छ।

दुःखी सुन्दर महिला देख्नेबित्तिकै मन्त्री पग्लिन्छ र भन्छ, 'सुन सुन्दरी! सुन लावण्यवती! म तिम्रो उद्धारकर्ता हुँ। तिमीलाई म आफ्नो प्रणालीमा फिट गर्छु। मेरा केही रातहरूलाई दिव्य आनन्दको सागरमा डुबाइदेऊ र म तिमीलाई दुःखको नदी पार गराइदिन्छु। तिमी आफूलाई मेरो 'शयनोपरान्त उन्नयन प्रणाली'मा समर्पित गर।'

दुःखी सुन्दर महिलासँग धेरै विकल्प उपलब्ध हुँदैनन्। समय र परिस्थिति यति घातक भएका हुन्छन् कि ऊ मन्त्रीसँग खाट सेयर गर्न बाध्य हुन्छे। केही भने असाध्यै महŒवाकांक्षी हुन्छन्। रूप र यौवन लगानी गरेर केही विशेष हासिल गर्न खोज्छन्। मन्त्रीजस्ता महोदयहरूले संसारै यस्तो बनाइदिएका छन् त उनीहरू के गरून्?

अधर्म बोल्नु हुँदैन– मन्त्रीले आफूले रातका रानी तुल्याएकाहरूको केही न केही हित गरिदिएकै थियो। जस्तो कि, हालसालैमात्र दीप्तिलाई अधिकृतको जागिर दिलाइदिएको थियो। राणा शासन बिर्साउने गरी नियमकानुन फाँडेर केही घण्टामै दीप्तिको हातमा नियुक्ति थमाइदिएको थियो। दीप्तिमात्र होइन, मन्त्रीले प्रदीप्ति, उद्दीप्ति, तृप्ति, संतृप्ति आदिको उद्धार गरिदिएको थियो। भनिराख्नु व्यर्थ छ कि उसले आफ्नो 'शयनोपरान्त उन्नयन प्रणाली'को विचार, भावना, मर्म र सिद्धान्तका अधीनमा रही यी सबै नारीको उद्धार गरिदिएको थियो।

०००

जति दम्भी भए पनि मन्त्री सत्य अस्वीकार गर्न सक्दैनथ्यो। भिरिङ्गी सत्य थियो। फेरि डाक्टरले सम्झाएको थियो– चाँडै नै उपचार गरिएन भने यसले हृदयाघात, पक्षघात र अन्धोपन निम्त्याउन सक्छ र मृत्यु पनि हुन सक्छ। त्यसैले मन्त्री चिन्तित थियो। गम्भीर थियो, अत्यन्त गम्भीर। मामिलै गम्भीर थियो। यो राज्य पुनःसंरचना वा शासकीय स्वरूप वा अनिर्मित संविधान थिएन। यिनले व्यक्तिगत रूपमा कुनै हानि पुर्यािउने होइनन्। यी विषयमा जति हल्काफुल्का र लापरबाह भए पनि हुन्थ्यो। तर, भिरिङ्गी? यो त मजाक होइन।

चार पेग ब्ल्याक लेबल लडाउँदा समेत उसलाई रमरमसम्म भएको थिएन। ऊ सोचिरहेको थियो– 'कसबाट मलाई भिरिङ्गी सर्योक?' दर्जनौँ महिलाका अनुहार सम्भि्कयो। सबैमाथि शंका गर्यो–।

दीप्तिमा आएर ऊ अलिक दृढ भयो। मनमनै भन्यो, 'त्यो दीप्तिको क्यारेक्टर ठीक छैन। त्यसको कुनै मान्यता नै छैन। कोसँग सुत्ने भन्ने सम्बन्धमा त्यसको कोड अफ इथिक्स छैन। स्वार्थ पूर्ति हुने हो भने त्यो मान्छे त के? गोहीसँग पनि सुत्छे। एकचोटि त हाकाहाकी भनेकी थिई– 'कोसँग सुत्ने र कोसँग नसुत्ने भन्ने मेरो निर्णयको प्रतिलिपि अधिकार अर्थात् 'स्लिपिङ कपिराइट' म आफैँसँग सुरक्षित छ।''

उसले सबैमाथि शंका गर्यो्। प्रदीप्ति, उद्दीप्ति, तृप्ति, संतृप्ति आदि सबैमाथि।

मन्त्रीले ल्यापटप खोलेर इन्टरनेटमा भिरिङ्गीसम्बन्धी सामग्री पढ्न थाल्यो। दुई घण्टाजति नेटमा बिताएपछि ऊ प्रफुल्ल देखियो।

०००

भोलिपल्ट ऊ क्लिनिक पुग्यो। इन्जेक्सन लगाइमाग्यो।

निस्किनुअघि उसले डाक्टरलाई भन्यो, 'बुझ्नुभो, डाक्साब! मैले नेटमा पढेको– विश्वका महान्–महान् हस्तीहरूलाई सिफिलिस भएको रहेछ। नेपोलियन, हिटलर, मुसोलिनी, अब्राहम लिंकन, सेक्सपियर, बिथोवेन, लियो टल्सटोय, जवाहरलाल नेहरु आदि आदि।'

'अनि?' डाक्टरले उसको भनाइको भेउ पाएन।

'मलाई पनि सिफिलिस भयो,' मन्त्री महोदयले भन्यो, 'म पनि विशिष्ट र महान् मान्छे हुँ कि होइन?' डाक्टरको प्रतिक्रिया नपर्खी यति भनेर मन्त्री बाहिरियो।

डाक्टर उसलाई केही भन्न चाहन्थ्यो। तर, पाएन।

डाक्टरले भन्न नपाएको कुरो अब म भन्छु।

नेपाली राजनीतिमा ऊ स्वयम् एउटा भिरिङ्गी हो। ऊजस्ता असंख्य छन्। र, उनीहरूले नेपाली राजनीतिलाई पनि अन्ततः भिरिङ्गी सल्किने बाटोमा हिँडाइरहेका छन्।

प्रकाशित: १ चैत्र २०७१ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App