अन्य

कठै वाल्मीकि आश्रम

चितवनको वाल्मीकि आश्रमस्थल भौगोलिक रूपमा राष्ट्रिय निकुञ्जभित्र चुरे पहाडको दक्षिण नेपाल–भारत सीमानामा पर्छ। नेपालमै भए पनि जाँदा भने भारत हुँदै जानुपर्छ। नेपाल तर्फबाट त्यहाँ पुग्न स्थलमार्ग छैन।

नवलपरासीको बर्दघाटदेखि ३० किलोमिटर दक्षिण त्रिवेणीधाम पुगेर नारायणी नदीमा डुंगा तरेर पनि वाल्मीकि आश्रम जान सकिन्छ। तर, सहज भने त्रिवेणीधाममै अवस्थित झन्डै १ किलोमिटर लामो गण्डक ब्यारेज (पुल) बाट मोटरमा जाँदा हुन्छ। पुलपारि बिहार चम्पारन जिल्लाको भैसालोटन अथवा वाल्मीकि नगरबाट १० किलोमिटर उत्तरपूर्व, ३–४ किलोमिटर जंगलको कच्ची बाटो र दुई स–साना खोला, छिचोल्दै पुग्ने बेलामा एउटा बाग्मती जत्रो खोला पार गरेपछि नेपाल आइपुगिन्छ। त्यहीँ छ, पौराणिक महत्व बोकेको वाल्मीकि आश्रम।

shanibar RKC 5984
फैलिएको नारायणी नदी किनारमा एकान्त जंगलबीच चराचुरुंगीको चिरबिर र हावाको सिरसिरबाहेक शून्य आवाज छ। दुई वटा मन्दिर सँगसँगै छन् त्यहाँ मुख्य मन्दिर लेखिएको हरिहर मन्दिर र सीता पाताल प्रवेश स्थल। यसबाहेक केहीपर वाल्मीकिका विभिन्न कार्यस्थल छन्। सीतामाताको जडिबुटी पिस्ने सिलौटा, जसमा अझै पनि महिला रोगबाट मुक्त भइने विश्वासमा चन्दन पिस्ने गर्छन्। अमृत कुवा, लवकुशले रामको घोडा बाँधेको ठाउँ, अमूल्य गौरीशंकर शंख, प्राचीन हवनद्वार, वाल्मीकिको ब्रह्मज्ञान प्राप्त स्थल, लवकुशको पाठशाला, पिङ खेल्ने लहरे रूख आदि छन्। हरेक स्थल भग्नावशेषका रूपमा छन्। सबै स्थलमा नाम लेखिएको मक्किएका टिनका पाता गाडिएका छन्।

shanibar RKC 6027
वाल्मीकि आश्रम जति सुनियो, जति पढियो, जति देखियो त्यति गरिएको भने देखिँदैन। अर्थात् राज्यलाई यस स्थलबारे पत्तो रहेनछ। यसको संरक्षण र संवर्द्धन राजा महेन्द्रले २०२२ सालमा जति गराए, लगभग त्यति नै, त्यस्तै छ। दुई मन्दिर भवनमध्ये सीता पाताल प्रवेशस्थल अलि नयाँ देखिन्छ। 
यी दुवै मन्दिरका रेखदेख र पूजाअर्चना गर्ने दुई भिन्न पुजारी भेटिए। हरिहर मन्दिरको बाहिर लेखिएअनुसार यहाँका प्रथम औपचारिक पुजारी जदु गिरी गोसाईंको अवसानपछि तिनका सन्तानले मन्दिर रेखदेख गर्दै आएका छन् भने सीता पाताल प्रवेशस्थललाई स्वामी शेखर सुवेदीजी महाराजले सम्हालेका छन्। दुवै मन्दिरभित्र विभिन्न देवदेवीका सानाठूला मूर्ति छन्। हरिहर मन्दिरभित्रका मूर्तिहरू यहाँ उत्खनन् गर्दा भेटिएको दाबी मन्दिरकी हेरचाह गर्दै आएकी जुद्ध गिरी गोसाईंकी बुहारीले गरिन्।

shanibar RKC 6037
‘उत्खनन भएको भए ती मूर्तिमा वैज्ञानिक अनुसन्धान भई सरकारको पुरातत्व विभागले प्रमाणित गरिदिनुपर्ने हो,' अर्का पुजारी सुवेदी भन्छन्। हरिहर मन्दिरको बाहिर मुख्य मन्दिर जनाउँ दिइँदा दुई थरीको रेखदेखमा फाटो दर्शाउँछ। 
सुवेदीको भनाइमा रामायणमा वर्णन भएअनुसार १७ लाख ५० हजार वर्षअघिको भौगोलिक जंगल तथा खोलानालाको वर्णनका आधारमा वाल्मीकि ऋषिले यसै स्थानमा तपस्या गरेको मान्यता इतिहास कालदेखि रहँदै आएको छ। त्यसैको आधारमा यस स्थानलाई वाल्मीकि आश्रम मानिन्छ, जुन नेपालमै पर्छ।
स्थानीय सुकुम्बासीका अनुसार केहीअघिसम्म यहाँ भारतीय सुरक्षाकर्मी आएर आश्रमलाई भारतीय भूभाग भनि दाबी गर्थे। तर, पाँच महिनाअघि मन्दिर परिसरमा नेपालको शसस्त्र प्रहरी बलको पोस्ट खडा भएदेखि भारतीय सुरक्षाकर्मी सीमा खोला तरेर यता आउन छोडे। सशस्त्रका सुरक्षाकर्मी पनि यो दाबी स्विकार्छन्। 
करिब डेढ घन्टा यहाँ बिताउँदा १५ भन्दा बढी भारतीय गाडी भरिभराउ पर्यटक आउने जाने गरे। नेपालीतर्फबाट भने यो पंक्तिकारको दुइटा गाडी थिए। नेपालीलाई गाडी ल्याउन असहज भने छैन। तर बाटो बाटोमा कुनै बेला भारतीय सुरक्षाकर्मीको रुखो बोलीवचन भने झेल्नुपर्ने हुन्छ, चाहे भारतीय नै किन नहुन्। भारतीय पर्यटक मध्य प्रदेशदेखिका भेटिए। उनीहरू यस स्थलमा निकै रुचिपूर्ण विभिन्न किंवदन्तीका प्रश्न राख्दै भ्रमण गरेको देखिए। तर यहाँ नेपाली सम्बन्धित पर्यटन तथा प्रशासनिक निकायको उपस्थिति पनि किंवदन्ती नै छ।
हालै त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुंगे पुल शिलान्यास भएदेखि स्थानीयमा आशा पलाएको देखिन्छ। पानी र बिजुलीको चर्को अभाव रहेको सुरक्षाकर्मी बताउँछन्। ‘दैनिक करिब दुई घन्टा परबाट पानी बोकेर ल्याउनुपर्छ, विकट छ, रासन भारतबाट किनेर ल्याउँछौं,' सशस्त्रका एक सुरक्षाकर्मीले बताए।
यहाँको रेखदेख दानभेटी सम्हाल्ने कसको जिम्मेवारी हो भन्दा कसैले उत्तर दिन सकेनन्। तर, महाराज सुवेदीले भने एक हिन्दु संस्थाले सहयोग उपलब्ध गराउँदै आएको दाबी गरे।
यहाँ कुनै प्रशासक वा मन्त्री वा उच्च नेता आएर कत्तिको चासो वा आश्वासन दिन्छन्? 
एक स्थानीय भन्छन्, ‘आउँछन्, दिन्छन्, जान्छन्।' 
कोको आए? 
‘अस्तिन हेलिकप्टरमा आएका थिए, देवेन्›राज कँडेल, गोपाल रायमाझी र विक्रम पाण्डे। यहाँको विकास गर्ने रे।' 
फर्कंदा सुरक्षाकर्मीले पाँच सय मिटरपरको गाडीसम्म पनि एक्लै नजान सुझाए।

प्रकाशित: २८ कार्तिक २०७१ २२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App