अन्य

घरमै पढ्दा रमाइलो

रेचल दास, कक्षा : ९ 
कोशी विद्या मन्दिर, विराटनगर ।

आज सिंगो विश्व नै कोरोना भाइरसको शिकार बनेको छ । हामी पनि यसबाट प्रभावित भएका छौं । आफ्ना नागरिकलाई जोगाउन हाम्रो सरकारले पनि चैत ११ देखि निरन्तर लकडाउन गरेको छ । त्यसैले हामी घरभित्रै बस्न बाध्य छौं ।
लकडाउनले हरेक क्षेत्रमा असर पु-याएको छ । कृषि, व्यापार, मनोरञ्जन, स्वास्थ्य, शिक्षा सबै क्षेत्र प्रभावित भएका छन् । हाम्रा शैक्षिक संस्थाहरू विद्यालय तथा कलेज पनि ठप्प छन् । 

विद्यार्थी भनेका देशका कर्णधार हुन् । भोलि यो देश बनाउने आजका हामी विद्यार्थीले हो । त्यही बुझेर कतिपय विद्यालयले अनलाइन कक्षा चलाएका छन् । हाम्रो विद्यालयले पनि अनलाइन मार्फत पठनपाठन सुरु गरेको छ । पहिला स्कुलमा पुगेर पढिन्थ्यो, अहिले घरमै बसेर पढ्न पाइन्छ । रमाइलो अनुभव भैरहेको छ ।  

मेरो विचारमा अनलाइन कक्षा अन्यन्तै प्रभावकारी छ किनभने लकडाउनमा पढ्ने बानी टुट्नाले कतिपय विद्यार्थी किताब कापीसम्म छुँदैनन् । खाली मोबाइल र टिभीमा झुम्मिन्छन् । त्यस्तो हुँदा पढ्ने बानी हट्दै जान्छ । पढ्न अल्छि लाग्छ । यसबाट ठूलो असर पुग्छ । त्यसैले अनलाइन शिक्षाद्घारा हामी आफ्नो पढाईको रुटिन पच्छाइरहेका छौं। 

अनलाइन शिक्षा प्रभावकारी छ । यसबाट हामीले आफ्नो पढाईको रुटिन पच्छाइरहेका छौं । 

अनलाइन शिक्षाले हामीलाई लकडाउनमा पनि उत्प्रेरित गरेको छ । कक्षामा अल्छि लागेर गुरुले पढाएको नबुझेका कुरा पनि हामी अनलाइन कक्षाको भिडियोद्घारा आकर्षित भएर सजिलै बुझ्न सकिरहेका छौं । लकडाउन खुलेपछि पढाइको बोझ नहोस् भनेर अनलाइन कक्षा संचालन गरेकाले हामीले शिक्षाको महत्व बुझ्नुका साथै लकडाउनलाई अर्थपूर्ण बनाउन पाएका छौं ।  

हाम्रो लकडाउन सृजनात्मक बनेको छ । अनलाइनमा पढ्न पाएकाले समयको सदुपयोग भएको छ । अचेल दिनभर पढेर, गृहकार्य गरेर, नयाँनयाँ कुराको जानकारी लिएर समय विताइरहेका छौं । हामीलाई नौलो अनुभव भइरहेको छ । 

अनलाइन शिक्षाको अभावमा विद्यार्थी दिनभर मोबाइल फोन चलाउने, टिभी हेर्ने काम गर्थे जसले गर्दा स्वास्थ्य पनि बिग्रन्थ्यो । अहिले पढ्न पाएकाले शारिरीक र मानसिक दुबै रुपमा फूर्तिला बनेका छौं । समयलाई चिन्न सकेका छौं । 

हाम्रो नेपालमा जहाँ इन्टरनेट सुविधा छ त्यहाँका कतिपयले अनलाइन शिक्षाको महत्व बुझेका छैनन् । उनीहरूले यसलाई हल्का रुपमा लिएका छन् । कति अभिभावक र विद्यार्थीले अनलाइन शिक्षालाई मान्यता दिएका छैनन् । उनीहरूलाई शिक्षासेवी, शिक्षाकर्मी र सरकारले महत्व बुझाउनु पर्छ । 

घरमा त्यत्तिकै बस्नु भन्दा ज्ञान आर्जन गर्दा लकडाउन खुलेपछि हामीलाई सजिलो हुन्छ । त्यसैले नेपाल सरकारले पनि सुविधा नभएका गाउँठाउँमा इन्टरनेटको व्यवस्था मिलाउनु पर्छ । किनकि सबै विद्यार्थीको पढ्ने हक छ । कसैलाई पनि पढ्नबाट बञ्चित गराउनु हुन्न । 

अन्त्यमा कोरोनाको संक्रमणबाट बच्न घरभित्रै बसौं । घरमै बसेर पढौं । अभिभावकलाई घरायसी काममा पनि सहयोग पु-याऔं । पढाईसँगै घर ब्यबहारका कुरा पनि सिकौं । लकडाउनलाई अबसरमा रुपान्तरण गरौं ।

प्रकाशित: २६ वैशाख २०७७ १६:०९ शुक्रबार

लकडाउन काेराेना_भाइरस बालबालिका