अन्य

डाँफेको नाचले मन्त्रमुग्ध

भावना सुवेदी, कक्षा: १०
न्यू मोडल डायनामिक एकेडेमी, नागढुंगा,पोखरा ।


संसारमा भएका चराहरूमा मलाई रंगविरंगका प्वाँख फिँजाई नाचेर मन्त्रमुग्ध बनाउने डाँफे चरी औधि मन पर्छ । सुन्दरताको प्रतीक हो डाँफे । हाम्रो राष्ट्रिय पंक्षी पनि । त्यस्तै जनाबरहरूमा मलाई जंगलका राजा सिंह मन पर्छ । सबैलाई आफ्नो अधिनमा राख्न सक्ने । नेतृत्व क्षमताको धनी सिंह ।  

डाँफे नाचेको दृश्यले सबैलाई लोभ्याउँछ । भुलाउँछ । हेरिरहुँ जस्तो लाग्छ । अरु चरा भन्दा डाँफे ठूलो हुन्छ । डाँफे भाले हो पोथीलाई मुनाल भनिन्छ । भालेको तौल २,३८० ग्राम र पोथीको २,१९० ग्रामसम्म हुन्छ । पोथी भन्दा भाले बहुरंगी हुन्छ । त्यसैले त ज्यादै सुन्दर देखिन्छ । 

सामान्यतः डाँफेहरू दुई हजार मिटर भन्दा माथि लेकमा बस्छन् । नेपालको हिमाली भेक पनि डाँफेको बासस्थान हो । तिनको बाक्लो प्वाँखले हिउँ र चिसोबाट बचाउँछ । चैत–वैशाख प्रजननको मौसम । यतिबेला भाले र पोथी सँगै हुन्छन् ।
अब कुरा गरौं सिंहको, आक्रोश र साहस भरिएको सिंहको धार्मिक महत्व पनि छ । बलियो शरीर भएको सिंहका चम्किला आँखा हुन्छन् । टाउको चाहिँ ठूलै हुन्छ । दौडन सिपालु सिंहको प्रकृतिको बरदान हो । यसका पञ्जा दह्रा हुन्छन् जुन शिकार गर्न प्रयोग गर्छ । 

मलाई चरामा हाम्रो राष्ट्रिय पंक्षी डाँफे र जनावरमा जंगलका राजा सिंह औधी मन पर्छ । प्रकृतिका यी सुन्दर सन्तानको हामीले संरक्षण गर्नु पर्छ । 

सिंह अफ्रिका, भारत, अरेबिया लगायत देशमा पाइन्छ । यसको शरीर करिब १२ फिट लामो हुन्छ जसमा भुत्लैभुत्ला हुन्छ । अल्बानिया, बेल्जियम, इङग्ल्याण्ड, इथोपिया र सिंगापुरको राष्ट्रिय जनावर हो सिंह । सिहंको आयु २५ वर्षसम्म हुन्छ ।

दुःखको कुरा, बढ्दो जनसंख्या र औद्योगिकरणले गर्दा दिनदिनै वातावरण विनास भैरहेको छ । धर्तिका कतिपय चरा र जनाबर लोप भैसके । कतिपय लोपोन्मुख अबस्थामा छन् । मानिसको लोभ र स्वार्थका कारण जीवजन्तु मारमा परेका हुन् जसले गर्दा इकोसिष्टम (पर्यावरण) प्रभावित भैसक्यो ।   

वन फँडानी, आगलागि लगायत अमानवीय गतिविधिले जीवजन्तु संकटमा परेका छन् । यसरी चराचुरुङ्गी र जंगली जनावर घट्दै गए भने वातावरणमा त्यसको नकारात्मक असर पर्छ । 

वास्तवमा यो धर्ति सबै प्राणीको साझा घर हो । सबैले आआफ्नै किसिमले बाँच्न पाउनु पर्छ । त्यसैले जीवजन्तुको बाँच्ने अधिकारको रक्षा गरौं । कहिल्यै गुलेली नबोकौं, चरा नमारौं । के सिंह, के भालु, के चित्तल कुनै पनि जनाबरहरू शिकार नखेलौं ।  

अन्त्यमा, कोरोना भाइरसको संक्रमणबाट बच्न यतिबेला हामी लकडाउनमा छौं । त्यसैले घरभित्रै सुरक्षित भएर बसौं । बेलाबेलामा साबुन पानीले हात धोऔं । परिवारसँग आत्मीयता बाँडौं । घरायसी काम गरौं, नजानेका कामकुरा सिकौं । समयलाई सृजनशील बनाउँ । बिहान–बेलुका पढ्न पनि नछोडौं । 

प्रकाशित: २२ वैशाख २०७७ ०४:०२ सोमबार

काेराेना_भाइरस लकडाउन बालबालिका