अन्य

मिठो सेल रोटी

भार्गबी तिवारी, कक्षा: ८
प्यारागन पब्लिक स्कुल,काठमाडौं।

मलाई मन पर्ने परिकार सेल रोटी हो । नेपाली समाजमा विशेषतः तिहार पर्वमा सेल रोटी पकाइन्छ । चामलको पिठो, पानी, चिनी÷सख्खर र तेलबाट सेल रोटी बन्छ । तात्तातो रोटी खाँदा मज्जा आउँछ ।   

तिहारमा आमा चुल्होमा सेल रोटी पकाउनु हुन्छ । आमाले चिनी भएको र नभएको दुई थरि सेल रोटी पकाउनु हुन्छ । पकाउँदा हरर चल्ने बासनाले मनै रमाउँछ । तरकारी, चटनी, दूध, दही वा चियासँग पनि यो परिकार खाइन्छ । त्यत्तिकै खाँदा पनि मिठो हुन्छ ।

रोटी जति गिलो त्यति मिठो हुन्छ । तताएर खाँदा पनि मिठो हुन्छ तर अलिक कडा हुन्छ । आमाले पकाएको रोटी हामीलाई त खुवाउनु हुन्छ नै, आफन्त र छिमेकीलाई पनि बाँड्नु हुन्छ । 

कोरोना भाइरसको संक्रमणबाट बच्न यतिबेला हामी लकडाउनमा छौं । घरमा बसेका बेला मैले त धेरैथरि खानेकुरा पकाएँ । तर, बाबा र आमालाई मैले बनाएको सेल रोटी नै मिठो लागेछ । धेरै प्रयास गरेर सेल रोटी पकाउन सिकें । मैले आमाबाट सिकें, उहाँले पनि आफ्नी आमा अर्थात् मेरी हजुरआमाबाट सिक्नु भएको रहेछ । 

रोटी बनाउन जति गाह्रो हुन्छ, खान एकदमै मिठो र रमाइलो हुन्छ । पहिलो पटक बनाउँदा तातो तेलले हात पनि पोल्यो । तर, पनि मैले प्रयास छाडिनँ । हामीले आफ्नो काममा निरन्तर प्रयास ग-यौं भने जीवनमा सफल भइन्छ । 

बजारको खाना भन्दा घरकै खाना स्वास्थ्यबर्धक हुन्छ । लकडाउनको बिदामा मैले सेल रोटी, दाल, भात र तकारी पकाउन सिकें ।

सेल रोटी मात्र होइन, मैले लकडाउनकै बेला दाल, भात र तरकारी बनाउन पनि सिकें । मलाई दालभात, तरकारी पनि असाध्यै मन पर्छ । तराईमा उत्पादन हुने दाल मलाई मन पर्छ । मुसुरको दाल लौकासँग स्वादिस्ट हुन्छ । नेपालको पहाडी भेकमा पाइने चामल स्वादिलो हुन्छ । सिजन अनुसार विभिन्न तरकारी पनि हाम्रै देशमा उत्पादन हुन्छ । दाल, भात र तकारीले तागत दिन्छ । घरको खाना स्वास्थ्यबर्धक पनि हुन्छ । हामीले बाहिर बजारको भन्दा घरमै पाकेका खाना खानु पर्छ । 

अब कोरोनाकै कुरा गरौं, यसले विशेषतः पाका उमेरकाहरू, जीर्ण रोग जस्तै मधुमेह, क्यान्सर, हृदय रोग, श्वासप्रश्वास सम्बन्धी रोग भएकालाई छिट्टै संक्रमण हुन्छ । त्यसैले हामी सबै सुरक्षित रुपमा बस्नु पर्छ । कोरोनाको शंका लागेमा आइसोलेसनमा बस्नु पर्छ । र, अस्पतालमा परिक्षण गर्नु पर्छ । 

ख्याल गरौं कि स्वास्थ्य नै ठूलो धन हो । सबैजना सर्तक बनौं । बेलाबेलामा साबुन पानीले हात धोऔं । मास्क लगाएर बसौं । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कौं । लकडाउनको समयलाई सदुपयोग गरौं । परिवारसँगै बसौं, आफ्नो काम आफैं गरौं । खानेकुरा बनाउन सिकौं । सरसफाइमा परिवारलाई सघाऔं । घरको बगैंचा र करेसाबारी गोडमेल गरौं । 

कोरोनाबाट वातावरण मुक्त नभई हाम्रा विद्यालय खुल्दैनन् होला ! हाम्रो विद्यालयले अनलाईन कक्षा सुरु गरिसकेको छ । त्यसैले अचेल म घरमै बसेर अध्ययनमा व्यस्त हुन्छु । 
अन्त्यमा, म सबैलाई सुरक्षित किसिमले घरमा बसेर लकडाउनको सदुपयोग गर्न आग्रह गर्दछु ।

प्रकाशित: २० वैशाख २०७७ ०२:४६ शनिबार

लकडाउन काेराेना_भाइरस बालबालिका