विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फगस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।
अहिले कोरोना भाइरसले वितण्डा मच्चाएको देखेर यसअघि यस्तो त कहिले पनि भएको थिएन जस्तो लाग्छ, तर त्यस्तो होइन । मानव स्वास्थ्यमा प्राचीनकालदेखि नै एकपछि अर्को भाइरसले संक्रमण गर्दै आएको पाइन्छ । महिला तथा बालबालिकामा पनि विभिन्ने खाले भाइरल संक्रमणले आक्रान्त पारेको देखिन्छ ।
बालबालिकालाई जस्तै महिलालाई पनि विभिन्न खाले रुघा, जनै खटिरा, विभिन्न थरिका हेपाटाइटिस, रेबिज, एचआईभी, बर्ड फ्लु, स्वाइन फ्लु, इबोला, चिकन्गुन्या, डेंगी, लगायतका भाइरल संक्रमण भएको पाइन्छ । समय क्रममा कतिपय भाइरल संक्रमण भएका संसर्ग आई आफूमा उक्त भाइरल संक्रमणको कुनै पनि लक्षण देखा नपरे पनि वयस्क महिलाले प्रतिरोधात्मक क्षमता विकसित गरिसक्ने हुनाले बालबालिकाले भन्दा त्यस्ता भाइरल संक्रमणलाई नियन्त्रणमा राख्न सक्दछ । तर पनि जोखिममा रहेका तथा शारीरिक प्रतिरोधात्मक क्षमता कम भएका वयस्क महिलाले पनि इन्फ्लुएन्जा, हेपाटाइटिस बी लगायतका खोप लिइराख्नु बुद्धिमानी नै हुन्छ ।
बालबालिकाको हकमा विभिन्न खाले रुघा, दादुरा, हाँडे, ठेउला, जनै खटिरा, हेपाटाइटिस, पोलियो, रेबिज, एचआईभी, चिकन्गुन्या, डेंगी, बर्ड फ्लु लगायतका अनेक थरिका भाइरल संक्रमण भएको देखिन्छ । अन्य जीवाणुबाट लाग्ने संक्रमणमा भन्दा भाइरस विशेषले गराउने संक्रमणका लागि विशेष औषधोपचार छैन । भाइरस विशेष विरुद्धको खोप, शरीर आफैँले विकसित गर्ने प्रतिरोधात्मक क्षमता, वा लाक्षणिक उपचार मात्र हो ।
बालबालिकालाई सानै उमेरमा दादुरा, हाँडे, हेपाटाइटिस बी, पोलियो खोप, इन्फ्लुएन्जाको खोप दिनुको कारण पनि त्यही हो । त्यसो त कुनै पनि संक्रामक भाइरस मानव शरीरभित्र पसेपछि प्रतिरोधात्मक क्षमता विकसित गरी रोग वा संक्रमणलाई नियन्त्रणमा राख्दछ । समय क्रममा वैज्ञानिकहरुले भाइरस विशेषलाई हुने खोप विकसित गरेको पाइन्छ । निकै समय लगाएर कतिपय भाइरल संक्रमण विरुद्ध खोप विकसित गरे पनि ब्याक्टेरियाका लागि एन्टिबायोटिक औषधि जस्तै ठेट औषधि भने विकसित हुन सकेको छैन । एक खाले भाइरस भए पनि समयसमयमा काँचुली फेरिराख्ने कारण एकपटक बनाएको औषधि वा खोप अर्को पटकका लागि काम लाग्दैन ।
यसका साथै कतिपय भाइरल संक्रमणको हकमा भाइरस विशेष विरुद्ध विकसित भैसकेको प्रतिरोधात्मक क्षमताले अर्कोपटक उस्तै भाइरल संक्रमणमा काम नलाग्न पनि सक्दछ । त्यसो भएर कोरोनालगायतका भाइरल संक्रमण हुँदा लक्षणअनुसारको ज्वरो, जिउ दुख्ने, टाउको दुख्ने कम गराउने सिटामोललगायतका औषधि, प्रशस्त झोलिलो खानेकुरा, आराम नै मुख्य भरथेगको उपचार हो । त्यसो भन्दै गर्दा चिकित्सा विज्ञानको प्रगतिले विगतमा बिफर उन्मूलन भैसकेको छ भने पोलियो पनि उन्मूलन गर्ने क्रममा छ ।
बालबालिकालाई जस्तै महिलालाई पनि विभिन्न खाले रुघा, जनै खटिरा, विभिन्न थरिका हेपाटाइटिस, रेबिज, एचआईभी, बर्ड फ्लु, स्वाइन फ्लु, इबोला, चिकन्गुन्या, डेंगी, लगायतका भाइरल संक्रमण भएको पाइन्छ । समय क्रममा कतिपय भाइरल संक्रमण भएका संसर्ग आई आफूमा उक्त भाइरल संक्रमणको कुनै पनि लक्षण देखा नपरे पनि वयस्क महिलाले प्रतिरोधात्मक क्षमता विकसित गरिसक्ने हुनाले बालबालिकाले भन्दा त्यस्ता भाइरल संक्रमणलाई नियन्त्रणमा राख्न सक्दछ ।
तर पनि जोखिममा रहेका तथा शारीरिक प्रतिरोधात्मक क्षमता कम भएका वयस्क महिलाले पनि इन्फ्लुएन्जा, हेपाटाइटिस बी लगायतका खोप लिइराख्नु बुद्धिमानी नै हुन्छ । ह्युमन पापिलोमा भाइरसजस्ता क्यान्सर गराउन सक्ने अन्को भाइरसले पाठेघरको मुख, योनीमार्ग, स्त्री जननेन्द्रिय वरिपरिको भाग (भल्भा) को क्यान्सर गराउन सक्छ । ईब्स्टेन बार भाइरसको संक्रमण र्यालबाट सर्ने भएकोले किसिङ डिजिज भनिन्छ, जसले गर्दा किशोरकिशोरी चुम्बन गर्ने क्रममा यो संक्रमण सर्न सक्दछ ।
वयस्क महिलाको हकमा गर्भवती महिला भाइरल संक्रमणको दृष्टिले जोखिम समूहमा पर्दछन् । गर्भावस्थामा हर्पिस, रुबेल्ला, विभिन्न थरिका हेपाटाइटिस, एचआईभीलगायतका भाइरल संक्रमणहरु घातकसावित हुन सक्छ । हेपाटाइटिस ए, बी, सी, डी र ई मध्ये गर्भावस्थामा हेपाटाइटिस बी, सी र ई अति जोखिमयुक्त हुन्छ । गर्भावस्थामा हेपाटाइटिस ई लाग्यो भने करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु हुन सक्छ । विशेषतः पश्चिम नेपालमा विदेशिएका श्रीमान्बाट श्रीमतीमा अनि गर्भवती महिलाबाट गर्भे शिशुमा एचआईभी/एड्स तथा हेपाटाइटिस बी सार्ने गरेको पाइन्छ । रुबेल्ला, हर्पिसलगायतका कतिपय भाइरल संक्रमण गर्भवती महिलामा लाग्यो भने गर्भे शिशुमा शारीरिक विकलाङ्ग तथा विकृति विकसित हुनसक्छ ।
भाइरस सम्भाव्य आतिथ्य जीवमा पसेर त्यसकै वंशाणु अंश अपहृत गर्दछ त्यसैले यसलाई अवसरवादी जीवाणुभन्दा फरक पर्दैन । भाइरस कसरी मर्छ कुनै जवाफ छैन किनकि आपैंmमा वंशाणुतत्व भए पनि अन्य जीवित कोषको सहायताबेगर भाइरस आफै बाँच्न सक्दैन । भाइरस परजीवी हो पनि होइन पनि, परजीवी किन हो भने यसको जीवन निर्वाहका लागि अन्य जीवमा भर पर्ने गर्दछ अर्थात् आफैँले खाना बनाउन सक्दैन । परजीवी किन भन्न मिल्दैन भने अन्य परजीवीले आश्रय कोषको वंशाणु तत्वमा दख्खल अन्दाजी गर्दैन र अन्य परजीवी आफैँमा केही दिन बाँच्न सक्छ ।
भाइरस पनि अनेक थरिका हुन्छन् । प्रायः भाइरसले प्राणीको आतिथ्य कोषको वंशाणुअंश अपहृत गरी आतिथ्य कोषको वृद्धिलाई नै मात ख्वाई दिन्छ । यस क्रममा भाइरसले आतिथ्य कोषमा टाँसिने, छिर्ने, परिमार्जन, जैविक निर्माण, वयस्क हुने, ध्वस्त पार्न थाल्ने गरी ६ चरण पार गर्दछ । प्रायः भाइरल संक्रमणमा औसत शारीरिक तापक्रम भन्दा निकै बढ्ता ज्वरो आउँछ । यसका साथै सबैजसो भाइरल संक्रमणमा रुघा लाग्ने, पातलो सिँगान बग्ने, खोकी लाग्ने, वाकवाकी आउने, थकान महसुस हुने, जिउ दुख्ने हुन्छ । भाइरस शरीरमा हुञ्जेल असर बाँकी रहन्छ । यस्ता लक्षण धेरैजसो भाइरल संक्रमणमा केही दिनदेखि दुई हप्तासम्म मात्र रहन्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार ज्वरो हराएपछि पनि घरमै कम्तीमा २४ घण्टा आराम गर्नु पर्दछ । भाइरल संक्रमणमा प्रायः लाक्षणिक उपचार नै गरिन्छ । भाइरल संक्रमणमा ज्वरो कम हुने, दुखाइ कम गर्ने पारासिटामोल औषधि बहुगुणी छ । भोड्का, रम पिएपछि भाइरल संक्रमण अस्थायी तवरमा निको अनुभूति गराए पनि यस कार्यले जलवियोजन गराउन सक्ने हुनाले लक्षण झन् लम्बिन सक्छ ।
प्रकाशित: १९ वैशाख २०७७ १४:१८ शुक्रबार