अन्य

नेत्रावती डवजोङ गाउँपालिकाको नयाँ अभ्यास: १० दिनसम्म काम, त्यसपछि राहत

धादिङ - कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा छ। लकडाउन लम्बिदै जादाँ दैनिक ज्याला   मजदुरी गरेर छाक टार्ने परिवारहरु मारमा परेका छन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र रहेका नागरिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरण पनि गरिरहेको छ। 

दैनिक ज्यालामजदुरी गर्ने र विपन्न परिवारहरुको पहिचान गरी सम्बन्धित ठाउँमा अथवा निश्चित ठाउँमा बोलाएर राहत वितरण गरिरहेको बेला धादिङमा भने राहत वितरणमा नयाँ अभ्यास थालिएको छ। 

जिल्लाको नेत्रावती डवजोङ गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम गरेर राहत वितरणमा नयाँ अभ्यास थालेको छ। परिवारका एक सदस्यलाई श्रममा लगाएर राहत वितरणको नौलो अभ्यास थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले बताए। 

‘नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज वितरण एक चरणमा गरिसक्यौँ’, अध्यक्ष शाक्यले भने, ‘त्यो राहतले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवालाई लक्षित गरी खाद्यन्न संकट टार्न आपतकालिन रोजगारका लागि श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौ।’

पाँचवटै वडामार्फत मजदुरी गर्ने र विपन्न परिवार छनोट गरि प्रत्येक परिवारका एकजना सदस्यलाई १० दिनसम्म काममा खटाइनेछ। श्रममा आधारित रोजगार कार्यक्रमबाट सडक मर्मत सुधार, खानेपानी मर्मत सुधार तथा मुहान सरसफाई, चौतारा निर्माण, कुलो मर्मत तथा सुधार गर्ने छन्। सम्बन्धित वडामा काम पुरा भए अर्को वडामा समेत काम गर्न पाउने छन्। वडा नं. १ मा ३५ जना, २ मा ३० जना, ३ मा २७ जना, ४ मा ३५ जना र ५ ३५ जना गरी जम्मा १ सय ६२ जना बेरोजगारलाई तत्काल रोजगार आवश्यक भएकाले रोजगारी दिएको छ। रोजगारी दिदाँ सार्वजनिक काम पनि हुने मजदुरी गर्नै पर्ने परिवारका खाद्यन्न संकट टार्न सहज हुने बताइएको छ। 

खाद्यन्न वितरण गर्दा वास्तविक पीडितहरु मारमा पर्ने र हुनेखानेहरु पनि माग्न आउने भएका कारण रोजगारीको सिर्जनाका लागि यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष शाक्यले बताए। ‘हामीले पहिलो चरणमा वितरण गरेको खाद्यन्नले मात्रै पर्याप्त हुँदैन, लकडाउन लम्बिदै जाँदा मजदुरी गर्नेहरुका लागि यो कार्यक्रमले सघाउ पु¥याउनेछ’, अध्यक्ष शाक्यले भने, ‘त्यसैले कार्यपालिका बैठकले नै श्रम गरेबापत एक दिनमा ७ सय ५० का दरले १० दिनमा ७५ सय पाउने गरी रोजगारी दिलाउने निर्णय गरेका हौँ।’  

पाँच वटै वडा भित्र सामाजिक दुरी कायम गरी श्रममा आधारित राहत वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिकाका सूचना अधिकृत कृष्ण बहादर पौडेलले बताए। ‘जनप्रतिनिधि र कर्मचारीको प्रत्यक्ष निगरानीमा दैनिक ८ घण्टाका दरले काममा खटाइने छ’, उनले भने, ‘श्रममा आधारित ज्यालादारी कार्यक्रमबाट १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र एक्सन नेपालसँगको साझेदारीमा गरी झन्डै २६ लाख बराबरको कार्यक्रम छ।’ समस्यामा परेका असाहय, गरिब, अपाङ्ता भएका र जेष्ठ नागरिकहरुलाई भने दोश्रो चरणको राहत वितरण गरिने उनले बताए। 

लकडाउनको पूर्ण पालनमा खटिएको गाँउपालिकाले पहिलो चरणमा क्वारेन्टाइनमा राखेकाहरुलाई बिदाई गरे पश्चात सबैलाई होम क्वारेन्टाइनमा बसाएको छ। माइतीमावली, आफन्त भेटघाटमा आउजाउ बन्द गराएको छ। कृषिको काम गर्न पनि सकेसम्म एकापरिवार र अर्मपर्म गर्नु परेपनि थोरै संख्यामा खेतला बोलाएर काम गर्न आग्रह गरिरहेको छ। यस गाँउपालिकाका दुवईबाट फर्केका युवा नेपालमा कोरोना भाइरस पोजेटिभ देखिने  तेश्रो व्यक्ति हुन्। ती युवा अहिले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन्। 

गाँउपालिकामा भारत सहित अन्य देशबाट यो अवधिमा फर्केको संख्या ९० जना, काठमाण्डौबाट गाँउपालिकाले नै ल्याएको संख्या दुई सय २० जना, अन्य संयन्त्रबाट आउने एक सय जना र जिल्ला भित्र मजदुरी गरेर फर्केको संख्या २० जना रहेको गाँउपालिकाले जनाएको छ। संक्रमणबाट बचाउन सामाजिक दुरी कायम गर्ने, विदेश तथा अन्य भुगोलबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्ने, आर.डि.टी परिक्षण गर्ने र बारम्वार साबुनपानीले हात धुने लगायतका उपायहरु अवलम्वन गरिएको छ।

प्रकाशित: १९ वैशाख २०७७ ०५:३७ शुक्रबार

राहत लकडाउन श्रम