अन्य

स्वस्थ जीवनका लागि खेल

एलिना राई, कक्षा: १०, 
श्री प्रेशस् पब्लिक इङलिस स्कुल,बालकोट, भक्तपुर।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । यसै कारण अनिश्चितकालका लागि हाम्रो एसइई परीक्षा पनि रोकिएको छ । म जस्ता हजारौं परीक्षार्थी परीक्षा नदिई घर बस्न बाध्य छौं । तर, जे हुन्छ राम्रैका लागि हुन्छ भनेझै मैले कोरोनाको कारण भएको लकडाउनको समयलाई भरपूर उपयोग गरेकी छु ।

हामी नेपालीका लागि लकडाउनको विकल्प छैन । हामी त्यसै गरिबीको रेखामुनि छौं । केही गरी हामीलाई कोरोना लाग्यो भने हामीसित उपचार गर्ने हैसियत छैन । त्यसैले नेपाल सरकारले गरेको लकडाउन हाम्रै भलाइका लागि हो । त्यसैले हामी सबै विद्यार्थी घरमै बसेर लकडाउनको नियम पालना गर्दै परीक्षाको तयारीमा छौं ।

अरू विद्यालयले जस्तै हाम्रो प्रेशस् पब्लिक स्कुलले पनि अनलाइन कक्षा शुरू गरेको छ । हामी प्रत्येक दिन बिहान ११ देखि २ बजेसम्म अनलाइन कक्षामा व्यस्त हुन्छौं । पहिले हामीलाई अनलाइन कक्षा के हो थाहै थिएन । तर, समयले पाठ सिकाउँछ भनेझैं अहिले अनलाइन कक्षाबाट धेरै कुरा घरैमा बसीबसी सिक्न पाएका छौं । घरैमा बसीबसी नजानेका कुराहरू सिक्न पाउँदा निकै हर्षित छौं । यसरी विज्ञान र प्रविधिले यो दुनियाँलाई एउटै घरमा अँगाले जस्तै बनाएको छ । म जसरी हुन्छ सबै साथीहरूलाई घरैमा सुरक्षित रहन सल्लाह दिन्छु । उहाँहरूले पनि मलाई राम्रोसँग बस्न सुझाव दिनुहुन्छ । हाम्रो अनलाइन मार्फत् दिनहुँ भेटघाट भइरहेको छ । यसरी हामीले लकडाउनका उपयोग गर्दै प्रत्येक दिन केही न केही नयानयाँ कुरा सिकिरहेका छौं ।

कहिल्यै कथा, कविता र गीत नलेख्ने साथीहरूले पनि लेखेर फेसबुकमा पोस्ट गर्नुभएको हुन्छ भने केही साथीहरूले राम्राराम्रा चित्रहरू कोरेर पोस्ट गर्नुभएको देख्छु ।

फुर्सदको समयमा म घरिघरि फेसबुक पनि हेर्ने गर्छु । म जस्ता धेरै विद्यार्थी साथीको गतिविधि हेर्न पाउँदा म फुरुङ्ङ छु । कहिल्यै कथा, कविता र गीत नलेख्ने साथीहरूले पनि लेखेर फेसबुकमा पोस्ट गर्नुभएको हुन्छ भने केही साथीहरूले राम्राराम्रा चित्रहरू कोरेर पोस्ट गर्नुभएको देख्छु । कसैकसैले बालकथा पनि वाचन गरेर पोस्ट गर्नुभएको हुन्छ । कसैकसैले हाते सीप पनि देखाउनुहुन्छ । धेरै साथीले युट्युबको सहयोगमा मीठामीठा परिकारहरू पकाउन सिकेको पनि देखिन्छ । 

म पनि साथीहरू जस्तै सक्रिय रूपमा नयाँनयाँ काम सिक्दै छु । आमालाई सके जति घरायसी काम गर्न सघाउँदै छु । स्वस्थ जीवनका लागि खेल अत्यावश्यक कुरा हो । रुचिको खेल राम्रोसँग खेल्दा शारीरिक र मानसिक रूपमा तन्दुरुस्त भइन्छ । म कहिल्यै त्यसै बस्दिनँ । केही न केही खेलहरू खेलिरहेकी हुन्छु । म घरैमा बसेर लुँडो, चेस, क्यारिमबोर्ड, सुडुको जस्ता खेलहरू खेलेर मनोरञ्जन लिइरहेकी हुन्छु । घरमा दाजुभाइ र दिदीबहिनीहरूसित मिलेर खेल्दा समय बितेको थाहै हुँदैन । अहिले जमघट नगरी घरैैमा एकान्तबास बस्नु परेको हुँदा पहिले जस्तै कपर्दी, भलिबल, लुकामारी केही पनि खेल्न नपाउँदा भने खल्लोे लागेको छ । तर, टेलिभिजनका खेलहरू हेरेर चित्त बुझाउँदै छु ।

साँच्चिकै स्वास्थ्य र मनोरञ्जनका लागि खेल महत्वपूर्ण कुरा रहेछ । अग्रजहरू पनि खेलले स्वस्थ र दीर्घ जीवनका लागि खेल खेल्न सुझाव दिनुहुन्छ । त्यसैले यो लकडाउनपछि म आफूलाई मन लागेको खेल धक फुकाईफुकाई खेलेर आनन्द लिने छु ।

साउथ एसियन गेम्समा गौरीका सिंह, सन्तोषी श्रेष्ठ, सोनी गुरुङ, आयसा शाक्य, सन्जु चौधरी, संगीता धामी, मिनु गुरुङ, दुवाना लामा, किरणसिंह बोगटी, सुवास तामाङ जस्ता नेपाली खेलाडी सहभागी भई  विजेता हासिल गरेर आफ्नो देशको इज्जत राख्नुभएको छ । अन्तिममा ‘स्वस्थ र दीर्घ जीवनका लागि सम्पूर्ण साथीलाई रुचिअनुसार खेल खेल्न अनुरोध गर्छु ।

प्रकाशित: १८ वैशाख २०७७ ०३:०५ बिहीबार

लकडाउन बालबालिका