अन्य

हँसाउने फिल्म हेर्छु

क्रिश्चल थापा, कक्षा: ६
एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुल ठैब, ललितपुर। 

कोरोना भाइरसबाट मान्छेलाई बचाउन नेपालमा पनि लकडाउन भएको छ । लकडाउनले हाम्रो विद्यालय पनि बन्द छ । धेरै दिन भैसक्यो विद्यालय जान नपाएको  । लामो बिदा रमाइलैसँग वितिरहेको छ । 

हाम्रो घरतिर गाउँले जनजीवन छ । खेतबारीको काम चलिरहेकै छ । लकडाउनको केही दिन पछि म मामासँग मामाघर दधिकोट, भक्तपुरमा आएको छु । हाम्रो मामाघरतिर पनि गाउँले वातावरण छ ।  

लकडाउन भए पनि मान्छेहरू सुरक्षित हिसाबले आ–आफ्नो खेतबारीका काम गरिरहेका छन् । घरभित्रै कुँजिएर बस्नु परेको छैन । म घरमा हुँदा परिवारलाई घरायसी काममा सघाउँथे । आमाले बारीमा काटेको घाँस घरमा ओसार्थे । हाम्रो घरमा गाई पालिएको छ । गाईलाई पानी खुवाउँथे । कहिलेकाहिँ भित्रबाहिर सार्ने काम पनि गर्थें । 

मामाघरमा पनि सकेको सघाउँछु । आफ्ना लुगा आफैं धुन्छु । आफुले खाएका भाँडा आफैं माझ्छु । अण्डा पनि आफैं पकाउँछु । खेतबारीका काममा पनि सघाउँछु । मामाघरमा आलु खन्न पनि सघाएँ । 

हाम्रो मामाघर र घर दुवै ठाउँ शान्त छ । हरियाली छ । वातावरण रमाइलो छ । दिनहरू रमाइलोसँग वित्दैछन् । म बेलाबेलामा टिभी र मोबाइल फोनमा चलचित्रहरू हेर्छु । मलाई नेपाली  टेलिसिरियलहरू ‘सक्किगो नि’, ‘मेरी बास्सै’ र ‘हल्का रमाइलो’ एकदमै मन पर्छ । यी सबै सिरियलले खुब हसाउँछन् । हेर्दा मज्जा आउँछ । मलाई त्यसका कलाकारहरूमा राजु मास्टर र ध्रुबे बल्छीको अभिनय एकदमै राम्रो लाग्छ ।   

मलाई टेलिसिरियलहरू ‘सक्किगो नि’, ‘मेरी बास्सै’ र ‘हल्का रमाइलो’ एकदमै मन पर्छ । मलाई कलाकारहरूमा राजु मास्टर र ध्रुबे बल्छीको अभिनय राम्रो लाग्छ ।     

कहिलेकाहिँ कार्टुन पनि हेर्छु । हिन्दी फिल्म पनि मन पर्छ । घरमा ममी, बाबा र बहिनी बसेर सँगै हेर्छौं । यता मामाघरमा पनि परिवारसँगै हेर्छु । कहिलेकाहिँ बुबाको मोबाइलमा युट्युवमा पनि हेर्छु । 

मामाघरमा भएका बेला वैशाख ११ गते मामाको जन्म दिन मनाउन पाइयो । त्यही दिन आमाको मुख हेर्ने दिन परेकाले मैले बिहानै हजुरआमा र आमालाई डेरि मिल्क किनेर खान दिएँ । मामालाई उपहार पनि दिएँ । त्यस दिन खानेकुरा बनाउन पनि सहयोग गरें ।  

धेरै भयो स्कुलका साथी र शिक्षकसँग भेटघाट नभएको । लकडाउनमा कसरी बसिरहेका होलान् हाम्रा साथीहरू ? कस्तो भेट्न मन लागेको छ । स्कुल चाँडै खुले पनि हुन्थ्यो नि ! कहिले खुल्ला हाम्रो स्कुल !  

लकडाउनले गर्दा यही वैशाख २० गतेदेखि हामीलाई पनि अनलाईनमा पढाउने कुरा छ । अब अनलाईनमा पढ्न पाइन्छ होला । हाम्रो भबिश्यका लागि हामीले पढ्नु पर्छ । म पढेर पाइलट बन्न चाहन्छु । 

अहिले कोरोनाले गर्दा मान्छे डराएका छन् । मैले त कोरोनाबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुने गरेको छु । सबै साथीहरूलाई लकडाउनमा घरमै बस्न, साबुनपानीले हात धुन र आमाबुबालाई काममा सघाउन अनुरोध गर्दछु ।

प्रकाशित: १७ वैशाख २०७७ ०२:५३ बुधबार

लकडाउन बालबालिका