अन्य

घरघरमै औषधि

कास्कीको रूपा गाउँपालिकाभित्रका दीर्घरोगका बिरामीलाई  घरसम्मै औषधि पुर्‍याइदिएर ठूलो गुन लगाइएको छ। गाउँपालिकाले ती बिरामीको अनुरोधमा आवश्यक औषधि किनेर घरसम्मै पुर्‍याउने व्यवस्था मिलाइदिएको हो। रुपा गाउँपालिका–७ का रेवती सुवेदीले भने, ‘मधुमेह र उच्च रक्तचापको समस्या छ। दुवै समस्याका लागि दैनिक रूपमा औषधि सेवन गर्नुपर्छ। कोरोना संक्रमणको त्रासले मुलुकमा बन्दाबन्दी सुरु हुँदा केही दिनका लागि मात्र औषधि मौज्दात थियो।

गाउँपालिकाले किनेर ल्याइदियो। यसले हामीलाई सहज भयो।’ 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलका अनुसार बन्दाबन्दी सुरु भएपछि करिब ५ सय जना बिरामीको औषधि गाउँपालिकाले किनेर घरसम्मै पुर्‍याएको छ। ब्लड क्यान्सर भएका एक बिरामीको औषधि लिन गाउँपालिकाका कर्मचारी चितवनको भरतपुरसम्मै पुगेको उनले जानकारी दिए। ‘पोखरामा सबै औषधि नपाएपछि एक  कर्मचारीलाई मोटरसाइकलमा भरतपुर पठाएर भए पनि औषधि ल्याइदियाैँ,’ पोखरेलले भने, ‘गाउँपालिकाका कोही पनि दीर्घरोगीले नियमित औषधि सेवन गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने हो।’ 

पोखरेलका अनुसार औषधि सेवन गर्नुपर्ने बिरामीले एमएमएस वा फोनबाट औषधिको नाम गाउँपालिकाका पदाधिकारी, वडाका प्रतिनिधिलाई उपलब्ध गराउँछन्, त्यही नामको आधारमा पोखरा झरेर औषधि किनेर लगिदिने गरिएको छ । त्यस्तै, गाउँपालिकाले किसानलाई विभिन्न तरकारीको बिउबिजन पनि निःशुल्क उपलब्ध गराएको छ। गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेको थियो। 

प्रकाशित: ११ वैशाख २०७७ ०८:२९ बिहीबार

दीर्घरोग बिरामी औषधि