अन्य

कोरोना विपत्तिमा सकारात्मक कर्म

बिहानको ९ नबज्दै कोही तरकारी केलाउँदै छन्, कोही गेडागुडी र चामल तयार पार्दै छन् । यो दृश्य छहारी घरको हो, जहाँ करिब ८ सय जनालाई खाना तयार पारिँदै छ । लकडाउनका बेला कोही भोको पेट सुत्न नपरोस् भनेर बेलुकाका लागि छहारी घरले खानाको व्यवस्था गर्दै आएको छ ।

एकल महिलाद्वारा छहारी घर सञ्चालित छ । कोरोना संक्रमणबाट बच्न देश नै बन्दाबन्दी गरिएको अवस्थामा धेरैले एक छाकसमेत खान पाएनन् । छहरी घरले यस्तै व्यक्तिलाई  खाना बाँड्न थालेको छ । 

मानवअधिकारका लागि एकल महिलाकी संस्थापक अध्यक्ष लिली थापाले छहारी घरमै खाना पकाएर खुवाउने योजना बनाइन् । लकडाउनको बेला भोकै सुत्नेको पीडा सुनेर उनले खाना पकाएर दिने निर्णय गरेकी हुन् ।
‘आज (मंगलबार) कति जनाका लागि अर्डर आएको छ ?’ 
खाना बनाउन खटिएका स्वयंसेवकले उत्तर दिए, ‘७४० जनाका लागि ।’ 
सुरुमा बूढानीलकण्ठ क्षेत्रमा बस्ने ६० जना ज्यामी, एकल महिला र ज्येष्ठ नागरिकलाई खाना खुवाइएको थियो । बिस्तारै काठमाडौंका अन्य वडाबाट खानाका लागि आग्रह गरिएपछि थापाले वडाध्यक्षहरूलाई सम्पर्क गरिन् । अहिले विभिन्न वडामा ५४ जना स्वयंसेवक यसैका लागि खटिएका छन् । ती स्वयंसेवक नामावलीसहितको लिस्ट लिएर छहारी घर आउँछन् ।  बेलुकी ५ बजेदेखि खान लिन आउनेको लाइन हुन्छ । कतिपयले त्यहीँ खान्छन् । धेरैजसोलाई स्वयंसेवकमार्फत डेरामै खाना पु-याइन्छ ।  

थापाले खाना खुवाउने सिलसिलामै एक जोडी बिरामी वृद्धवृद्धा भेटिन् । जसले राहत पाएका थिए तर  ग्यास नभएर खाना पकाएर खाएका थिएनन् । थापाले उनीहरूलाई खाना खुवाइन् । थापाले भनिन्, ‘हामी घरमा तीनपटक खान्छौं । कति मान्छेले एक छाक  खान पाएका छैनन् । हामी उनीहरूलाई एक छाक तातो खाना खुवाउन लागि परेका छौं ।’
बिहान १० बजेदेखि खाना पकाउन सुरु गरिन्छ ।  छिमेकी, भूपू सैनिक र एकल महिलाले खाना पकाउन सघाएका छन् । ‘हाम्रो उद्देश्य राति भोको पेट कोही नसुतोस् भन्ने हो,’ उनले भनिन् । 

विभिन्न संघसंस्था र व्यक्तिले मुलुकभित्रै स्वास्थ्य सामग्री  उत्पादन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि योगदान गरेका छन् ।

छहारीमा सोमबार धर्मस्थली एकल महिला समूहले गाडीमा तरकारी पठायो । कतिपय पसलेले तरकारी ल्याइदिने गरेको थापाले सुनाइन् । कति मनकारी व्यक्तिले चामल,  तेल, चना, ग्यास  सघाउने गरेका छन् ।  दिनहुँ खानाको अर्डर बढ्दै गएको छ । कपितय सुत्केरी महिलासमेतका लागि खाना पु¥याउने गरिएको थापाले सुनाइन् । 

इटहरीका नरेन्द्र निरौलाले द्वन्द्वमा दाहिने हात गुमाएका हुन् । उनले लकडाउनको अवधिमा छहारीमा आएर खाना पकाउन सघाएका छन् । ‘दिनभर थुनिएर बस्नु, सुत्नुभन्दा हातमुख जोड्न गाह्रो भएकालाई खाना पकाएर सघाएका छौं,’ निरौलाले भने ।

ज्याला, मजदुरी गरेर खानेहरू खाना लिन आउने गरेको उनले बताए । द्वन्द्वमा देबे्र आँखा गुमाएका सुरेन्द्र तामाङ पनि दिनभर खाना पकाउन व्यस्त हुन्छन् । ‘आर्थिक सहयोग गर्न नसके पनि मानवीय सहयोग गरेको छु । एकदम खुसी लागेको छ,’ उनले भने । उनीहरू दुवैजना  द्वन्द्वपीडित सैनिक हुन् । 

बिहान ११ बजेअघि नै सबै वडाध्यक्षले खाना आवश्यक पर्नेको नामावली पठाउँछन् । त्यसकै आधारमा खाना तयार गरिन्छ । मानवअधिकार एकल महिला समूहको भवनलाई क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा नर्स, डाक्टर आएर बस्ने गरेका छन् । 

आविष्कार केन्द्रको काम 
कोरोनाको महाविपत्तिमा आविष्कार केन्द्रले स्वास्थ्य सामग्री उत्पादन गरेर निःशुल्क वितरण गर्न थालेको छ । केन्द्रमा महामारी उपचारमा चाहिने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), कोरोना भाइरस टेस्टिङ बुथ, एरोसल बक्स, आइसोलेसन च्याम्बर र रोबर्ट बनाइएको छ । केन्द्रले कोरोना बुथदेखि रोबर्टसम्म निःशुल्क बाँड्दै आएको छ ।  केन्द्रबाट ४ हजार वटा पिपिई  एम्बुलेन्स चालक, स्वास्थ्यकर्मीलगायतलाई निःशुल्क बाँडिएको छ । 
उपचारमा खटिँदा लगाइने एउटा गाउन तयार गर्न हजार रुपैयाँ खर्च लाग्ने आविष्कार केन्द्रका इन्नोभेसन म्यानेजर सुनिल बानियाँले बताए । 

कोरोना भाइरस टेस्टिङ बुथ 
स्वास्थ्यकर्मी असुरक्षित देखिएपछि दक्षिण कोरियाले प्रयोग गरेको भाइरस टेस्टिङ बुथका आधारमा कोरोना भाइरस टेस्टिङ बुध बनाइएको केन्द्रले जनाएको छ । हालसम्म केन्द्रले १६ वटा बुथ बनाएर अस्पतालमा प्रयोगमा ल्याएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, काठमाडौं मोडल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, सिन्धुली जिल्ला अस्पताल, हेटौंडा अस्पताल लगायतमा बुथ पुगिसकेका छन् । दक्षिण कोरियामा बनाइएको बुथ उपयोगी लागेर वीर अस्पतालका डाक्टर, विज्ञको सल्लाहमा बनाइएको आविष्कार केन्द्रका इन्नोभेसन म्यानेजर बानियाँले बताए । 

‘इन्जिनियर, टेक्सिनिसियनले अस्पतालमै बुथ बनाएर डाक्टरलाई देखाएका छन्,’ उनले भने, ‘सिसा, आल्मुनियमको माध्यमबाट बनाइएको, इनलेट–आउटलेट पंखा जोडिएको बुथ बनाउन लकडाउनको बेला सामान जुटाउन सहज छैन ।’ एउटा बुथको लागत १ लाख १० हजार रुपैयाँ पर्ने गरेको छ । केन्द्रले बनाएको बुथ निःशुल्क बाँडिएको छ । 
यो एउटा सानो बाकस जस्तो हुन्छ । जहाँ सिकिस्त बिरामीको टाउको राखेर उपचार गरिन्छ । यसले बिरामीबाट चिकित्सकलाई रोग संक्रमण हुनबाट बचाउँछ । यो बक्स वीर अस्पताल, शुक्रराज ट्रपिकल लगायत अस्पतालमा प्रयोग गरिएको छ । बक्स बनाउन एक्रेलिक पाउन गाह्रो भएको केन्द्रले जनाएको छ । हालसम्म १२ वटा बक्स बनाइएको छ । यसको निर्माण लागत १२ देखि १५ हजार रुपैयाँ मूल्य परेको छ । 

आइसोलेसन च्याम्बर 
एक  सिकिस्त बिरामीलाई अर्को ठाउँमा सुरक्षितसँग सार्न हुने गरी आइसोलेसन च्याम्बर बनाइएको छ । यसले बिरामी बोक्नेलाई सुरक्षित राख्न मद्दत गरेको छ । 

स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न आइसोलेसन च्याम्बर  तयार पारिएको म्यानेजर बानियाँले बताए । त्यस्तै, आविष्कार केन्द्रले अस्पतालका लागि रोबर्ट तयार गरेको छ । अस्पतालमा चिकित्सक र बिरामीसँगको भेट कम गर्न रोबर्टले मद्दत गर्छ । यसले बिरामीलाई खाना पु-याउन र पिपिई कम गर्न सघाउने बानियाँको भनाइ छ ।

रोबर्टले बिरामीको तापक्रम नाप्नेलगायतका काम गर्ने केन्द्रले बताएको छ । रोबर्टले पटक–पटक बिरामी भेट्नुपर्ने  स्वास्थ्यकर्मीको काम गर्नेछ । चीनलगायतका देशले रोबर्ट प्रयोगमा ल्याइसकेका छन् । सबैभन्दा पहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रोबर्ट  प्रयोग गरिने उनले बताए । 

म्यागासेसे पुरस्कार विजेता महावीर पुन आविष्कार केन्द्रका संस्थापक हुन् । केन्द्रमा १५ जनाको टिम छ । केन्द्रले नेपालमा कोभिड–१९ को संक्रमण रोक्न अन्य देशमा गरिएका प्राविधिको विषयमा अध्ययन गरी उपचारमा सघाइरहेको छ । 

केन्द्रले मास्क, पिपिई गाउन पुनः प्रयोगमा ल्याउने विषयमा काम थालेको छ । नेपालमै एन नाइन्टी फाइभ मास्क बनाउन अध्ययन थालिएको पुनको भनाइ छ । 

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा विश्वमै स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । त्यसले मुलुकभित्र पर्न सक्ने प्रभावलाई ध्यानमा राखी विभिन्न संघ संस्था, व्यक्तिहरूले मास्क, सेनिटाजर, व्यक्तिगत सुरक्षा लगायत स्वास्थ्य सामग्री मुलुकभित्रै उत्पादन गरेका छन् ।

प्रकाशित: ११ वैशाख २०७७ ०६:०८ बिहीबार

काेराेना_भाइरस रोकथा नियन्त्रण