अन्य

न चिकित्सक न उपकरण, कोरोनाले गाँजेको सुदूरपश्चिम

धनगढी - विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा देखापरेसँगै सुदूरपश्चिमले पनि राम्रो चर्चा पायो। चर्चा पाउनाका दुई मुख्य कारण थिए ः एउटा– कोरोना संक्रमण फैलिएपछि भारतका विभिन्न ठाउँबाट करिब डेढ लाख मजदुर नेपाल भित्रिए र तीमध्ये अधिकतर क्वारेन्टिनमा बसेनन् र अर्काे– नेपालमा कोरोना भाइरस दोस्रो चरण (स्थानीयमा संक्रमण सरेको) मा प्रवेश गर्नु र सबैभन्दा बढी संक्रमित यही प्रदेशमा देखिनु। 

वि.स. २०५१ मा कर्णाली पुल बनेपछि मात्र सुदूरपश्चिम भौगोलिक रूपमा देशका अन्य भूभागसँग जोडिन पुगेको हो। गरिबी, बेरोजगारी, मानव विकास सूचकांकलगायत हिसाबले पछाडि रहेको सुदूरपश्चिमका लाखौं नागरिक परिवारको दुईछाक जुटाउन भारतमा मजदुरीका लागि जान बाध्य छन्। यो उनीहरूको बाउबाजेकै पालादेखिको बाध्यता हो। तर जब भारतमा कोरोना संक्रमण फैलिएर होटल, कम्पनी, उद्योग, निर्माणका काम बन्द भए, तब त्यहाँबाट कयौं युवा नेपाल फर्किए भने सीमाबाट प्रवेश नपाउँदा अझै ठूलो संख्यामा नेपाली श्रमिक उतै अलपत्रमा छन्। भारतबाट फर्केका मजदुरको लामले यहाँको गरिबी र बेरोजगारी प्रस्ट पारेको छ। 

राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र युद्धमा यहाँका बासिन्दाको योगदान पनि कम छैन। तनाशाही राणाशासनविरुद्धको संघर्षमा सहादत प्राप्त गरेका दशरथ चन्द तथा किसान नेता भीमदत्त पन्त पनि सुदूरपश्चिमकै हुन्। यस प्रदेशबाट पञ्चायत कालदेखि अहिलेसम्म ३ जना त प्रधानमन्त्री नै भइसके भने अन्य कयौं मन्त्री बनेका छन्। यही प्रदेशबाट लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भए। तर गरिबी, बेरोजगारी र पछौटेपनले ग्रस्त सुदूरपश्चिममा कोरोना संक्रमण सुरु भएपछि बल्ल यो प्रदेश सरकारको चासोको विषय बनेको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउँछन्। ‘स्वास्थ्य सुविधा अभावकै कारण सुदूरपश्चिममा सधैं कैयौंले अकालमै ज्यान गुमाइरहेकै हुन्,’ उनले भने, ‘तर कसैको ध्यान पुगेको थिएन, अहिले कोरोना महामारीले बल्ल सबैका आँखा खोलेको छ।’

प्रदेशभर जटिल अवस्थाका बिरामी उपचार गर्ने एउटा पनि अस्पताल छैन भने पहाडी ७ जिल्लामा समान्य उपचार पाउन पनि मुस्किल छ।

रतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यहाँबाट फागुनको अन्तिम साता ठूलो संख्यामा नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिन थाले। चैतको सुरुवातमा एकै दिन १० हजारभन्दा बढीका दरले यहाँका मुख्य दुई नाकाबाट नेपाली स्वदेश आए। करिब डेढ लाख व्यक्ति भारतबाट भित्रिएको र उनीहरू क्वारेन्टिनमा नबसी सीधै घर गएकाले कोरोना भाइरसको महामारी फैलिने उच्च जोखिम देखिएपछि संघीय सरकारको पनि ध्यान यतातिर तानियो र नेपालका अन्य प्रदेशमा भन्दा सुदूरपश्चिममा परीक्षणलाई तीव्र बनायो। यहाँ अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भए पनि थप संक्रमित भेटिएका छैनन्। तीमध्ये पनि एक जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन्।

स्वास्थ्य सेवाको अवस्था नाजुक

कोभिड–१९ महामारी फैलिने उच्च जोखिममा रहेको सुदूरपश्चिममा उपचार सुविधाको अवस्था हेर्दा जो कोहीलाई निरास बनाउँछ।  प्रदेशभर जटिल अवस्थाका बिरामी उपचार गर्ने एउटा पनि अस्पताल छैन भने पहाडी ७ जिल्लामा समान्य उपचार पाउन पनि मुस्किल छ।

यसअघि उपचार नपाएकै कारण कैयौंले अकालमा ज्यान गुमाइसकेका छन्। तर यसतपर्र्फ कसैको ध्यान गएन। समान्य बिरामी हुँदा पनि उपचारका लागि यहाँका बासिन्दा भारतलगायत अन्य स्थानमा जान बाध्य छन्। यसरी अन्यत्र जान नसक्नेले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ।  

‘सबै सुविधा भएको अस्पताल नभएकै कारण यहाँ अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पहिलेदेखि नै छ,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘जटिल प्रकारका बिरामीले उपचार नपाएर ज्यान गुमाएका कैयांै उदाहरण छन्।’

पञ्चायतकालमा एकपटक दुई बिरामीलाई राति नेपालगन्ज लाँदै गरिएका बेला बर्दिया राष्ट्रिय निकुन्जले जान नदिएपछि बाटैमा उनीहरूको मृत्यु भएको थियो। ‘त्यतिबेला अहिलेको जस्तो मिडिया र समाजिक सञ्जाल थिएनन्, त्यही भएर घटनाले त्यति चर्चा पाएन,’ उनी भन्छन्, ‘हर्ट अट्याक भयो भने वा २–३ घण्टामै उपचार चाहिने बिरामीले ज्यान गुमाउनुपर्ने परिस्थिति यहाँ पहिलेदेखि नै छ।’ अहिले कोरोना महामारीले उपचारको महत्व सबैलाई बुझाएको उनी बताउँछन्।

‘अहिलेको कोरोना महामारीका लागि मात्र होइन, उपचार सुविधा सधंै आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘भोलिका दिनमा फेरि कुनै महामारी आउन सक्छ, प्राकृतिक प्रकोप आउन सक्छ, तसर्थ विज्ञ र अत्याधुनिक सबै सेवा÷सुविधा भएको अस्पताल बनाउन संघ र प्रदेश सरकारले बजेट बढाउनुपर्छ।’ ६ सय शैय्याको गेटा मेडिकल सञ्चालन भएमा यहाँ उपचार सुविधाको अवस्था सुधार हुने उनी बताउँछन्। ‘भौतिक पूर्वाधार त निर्माण भइसकेको छ, यसलाई छिटो सञ्चालन गर्न ध्यान दिन जरुरी छ,’ उनी भन्छन्। 

सात पहाडी जिल्लामा एउटा पनि छैन आइसियु 

सुदूरपश्चिमका ९ जिल्लामध्ये ७ वटा पहाडमा पर्छन्। जहाँ उपचार व्यवस्था अझ दयनीय छ। कोरोना उपचारका लागि आवश्यक पर्ने न आइसियु छ न उपकरण, न त छन् चिकित्सक नै। कुनै पनि जिल्लामा फिजिसियन, विशेषज्ञ छैनन् भने आइसियु र भेन्टिलेटर एउटा पनि छैन। सामान्य बिरामीबाहेक अरूको उपचार यी सातै जिल्लामा सम्भव छैन। 

दार्चुलास्थित स्वास्थ्य कार्यालय, कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन वीरेन्द्र भट्ट– जिल्ला अस्पतालमा उपकरण र चिकित्सक नहुँदा बिरामीलाई धेरै समस्या भइरहेको बताउँछन्। ‘बिरामीलाई धनगढी रेफर गर्नुपर्छ र त्यहाँ पुगुन्जेल बिरामीको अवस्था खराब भइसक्छ,’ उनी भन्छन्, ‘कोरोना संक्रमण फैलिएमा जिल्लामा उपचार हुन गाह्रो छ। सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रको अवस्था त झन् दयनीय छ।’ 

दार्चुला जिल्ला अस्पतालमा रहेका ४ दरबन्दीमध्ये ३ स्थान रिक्त छन। करार र काजमा रहेका केही चिकित्सक जिल्लामा छन्, तर फजिसियनलगायत कुनै पनि विशेषज्ञ छैनन्। ‘जिल्लामा आइसियु र भेन्टिलेटर त धेरै टाढाको कुरा हो। कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने सतर्कता र सावधानी सम्बन्धमा जानकारी दिने जनशक्ति पनि छैन,’ उनी भन्छन्, ‘प्रत्येक पालिकामा एक जना पब्लिक हेल्थको मान्छे राखेर कोरोना रोकथामसम्बन्धी जानकारी गराउन आवश्यक थियो, तर त्यो पनि छैन, यसले अहिले पनि गाउँमा अझै पनि धेरै कुराको जानकारी अभाव छ।’

सबै पहाडी जिल्लाको अवस्था उस्तै छ। अछाम स्वास्थ्य कार्यालयका देवदत्त जोशी जिल्लामा ४ दरबन्दी रहेकामा चारै ठाउँ रिक्त रहेको बताउँछन। ‘यहाँ पनि कुनै विशेषज्ञ चिकित्सक छैनन्। अलि जटिल बिरामी भएमा उपचार नै हुँदैन,’ उनी भन्छन्।

बाजुरा स्वास्थ्य कार्यालयका अशोककुमार सिंह पनि जिल्लामा विशेषज्ञ चिकित्सक नभएको बताउँछन्। विशेषज्ञ चिकित्सक, उपकरण र साधन÷स्रोत नहुँदा कोरोना संक्रमितको उपचार गर्न गाह्रो हुने बताउँछन्। ‘अहिलेसम्मका परीक्षणमा त कसैमा कोरोना संक्रमण देखिएको छैन, तर देखियो भने यहाँ उपचार हुन गाह्रो छ, रेफर गर्नुको विकल्प छैन,’ उनले भने, ‘कोरोना उपचारका लागि आवश्यक फिजिसियन र क्रिटिकल केयरको उपचार गर्ने स्वास्थ्यकर्मी छैनन्।’

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्ट गम्भीर बिरामीको उपचारका लागि उपकरण र जनशक्ति अभाव रहेको बताउँछन्। ‘आइसियु र भेन्टिलेटर छैन, कोरोनाको बिरामीलाई उपचार गर्न गाह्रो छ,’ उनले भने। सुदूरपश्चिममा संघीय सरकार मातहतको अस्पताल डडेल्धुरा अस्पताल मात्र हो। पहाडी जिल्लामध्येमा राम्रो अस्पताल मानिने यो अस्पतालमा केही जटिल बिरामीको समेत उपचार हुन नसकेर रेफर गर्ने गरिएको छ।

बैतडी स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्ट स्वास्थ्यकर्मीले लगाउने विशेष खालको पोसाक अर्थात् पिपिई, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्री अभाव रहेको बताउँछन्। ‘स्वास्थ्य सामग्री, उपकरण र जनशक्तिको अभाव छ,’ उनले भने।

जिल्लाभरि हाल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करिब ४ सय स्वास्थ्यकर्मी परिचालन गरिएको भए पनि उनीहरूलाई आवश्यक सामग्री र उपचार उपकरण अभाव हुँदा समस्या हुने गरेको उनले बताए । ‘आवश्यक मात्रामा सर्जिकल मास्क, पिपिई, स्यानिटाइजरलगायत सामग्रीको अभाव  देखिएको छ,’ उनले भने। 

बैतडीमा ८४ स्थानमा हेल्थ डेस्क सञ्चालन गरिएका छन् भने २६ बेडका आइसोलेसन कक्ष निर्माण गरिएको छ। तर उपकरण, साधन÷स्रोत र जनशक्तिको अभावले लक्षण देखिएका बिरामीको थ्रोट स्वाब संकलन गर्न पनि सदरमुकाम जानुपर्ने बाध्यता छ।

सुदूरपश्चिमका पहाडी क्षेत्रका सबै जिल्ला अस्पतालमा चिकित्सक अभाव छ। भएका दरबन्दीमा चिकित्सक छैनन्। बैतडीमा हाल तीन डाक्टर मात्र छन्। बैतडी जिल्ला अस्पतालमा दुई र पाटन इलाका स्वास्थ्य कार्यालयमा एक मात्र डाक्टर छन्। मेलौली इलाका स्वास्थ्य कार्यालय त लामो समयदेखि डाक्टरविहीन छ।

‘कोरोना भाइरसले जिल्लामा महामारीको रूप लिएमा दरबन्दीअनुसार डाक्टर नहुँदा ठूलो समस्या हुने देखिन्छ,’ बैतडी जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवनप्रसाद जोशीले भने। थ्रोट स्वाब संकलनका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ। प्रत्येक स्थानीय तहबाट स्वाब संकलनको व्यवस्था भए सहज हुने स्थानीय बताउँछन्। 

चार सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी जिल्ला अस्पतालमा अहिले एक जना मात्रै छन्। अस्पतालमा नवौं÷दसौं तहका दुई जना एमडिजिपी डाक्टरको दरबन्दी रिक्त छन्। तीमध्ये एक जना मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था रहेकामा आठौं तहकी मेडिकल अधिकृत डा.ज्योति पाण्डेले निमित्त भएर अस्पताल धानिरहेकी छन्। अर्को आठौं तहको मेडिकल अधिकृतको दरबन्दी पनि रिक्त छ। 

दरबन्दीअनुसार चिकित्सक नभएका अस्पताललाई लामो समयदेखि ‘निक साइमन इन्स्टिच्युट’ले सहयोग गरिरहेको छ। जसबाट हाल एमडिजिपी डा. प्रमोद भट्ट र मेडिकल अधिकृत डा. खुर्सिद आलम खानले डोटी जिल्ला अस्पतालमा सेवा दिइरहेका छन्। 

बैतडी स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्ट पारामेडिकल दरबन्दीमा हेल्थ असिस्टेन्ट हुँदा अझै अहेबका दुई स्थान रिक्त छन्। अस्पतालले पाँच जना अहेब आन्तरिक स्रोतबाट नियुक्ति गरेको छ। 

ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टको दरबन्दी रिक्त छन्। तीन जना ल्याब असिस्टेन्ट अस्पतालले आन्तरिक स्रोतबाट राखेको छ। 

यही अस्पताललाई डोटीमा कोभिड–१९ उपचारका लागि तयार पारिएको छ। योभन्दा अन्य सरकारी स्वास्थ्य संस्थामा कोभिड–१९  आशंका गरिएका बिरामीको स्वाबसमेत लिन सकिने अवस्था छैन। 

अस्पतालमा १० बेडको आइसोलेसन कक्ष बनाइएको छ। यो अस्पतालले १५ शैय्याका लागि स्वीकृति पाएको छ। व्यवस्थापन समितिको निर्णयबाट थप १० शैय्या थपिएका छन्। शैय्या भए पनि आइसियु र भेन्टिलेटरजस्ता उपकरण अभावका कारण कोरोना संक्रमितको उपचार गर्न गाह्रो हुने डोटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताइन्। कोरोना संक्रमित बिरामीलाई श्वासप्रश्वासमा समस्या हुने हुनाले आइसियु र भेन्टिलेटर आवश्यक पर्ने चिकित्सक बताउँछन्।

प्रादेशिक अस्पतालमा पनि उपकरण/चिकित्सक अभाव 

स्थानीयमा संक्रमण सरेको (लोकल ट्रान्समिसन), भारतबाट आएका २ जनामा संक्रमण र भारतबाट भित्रिएका करिब डेढ लाख नेपाली र भित्रिने क्रम नरोकिएकाले यहाँ कोरोना महामारी फैलिन सक्ने जोखिम रहेको विज्ञको चिन्ता छ। भलै, अहिलेसम्म संक्रमितको संख्या ५ बाट बढेको छैन। कसैगरी कोरोना संक्रमण व्यापक बन्यो भने यहाँ स्थिति भयावह हुने निश्चित छ। सदूरपश्चिमको कोराना विशेष अस्पताल भनिएको सेती प्रादेशिक अस्पतालमा पनि ५ आइसियु र एउटा मात्र भेन्टिलेटर छन्। हालै एनएसआईले थप २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ।

महाकाली अस्पतालमा ४ आइसियु छन्। सेती प्रादेशिक अस्पतालमा पनि फिजिसियन ३ जना मात्र छन् भने क्रिटिकल मेडिकल केयर गर्ने चिकित्सकको अभाव छ। कोरोनाको उपचारका लागि चाहिने फिजिसियन र क्रिटिकल मेडिकल केयर चिकित्सक प्रदेशमै नभएको प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सक भूषण मिश्रले बताए। ‘सेतीमा पनि ३ चिकित्सक मात्र छन्, पहाडी जिल्लामा त हुने कुरै भएन,’ उनले भने। 

सेती अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.गणेशबहादुर सिंह सुदूरपश्चिममा पहिलेदेखि नै उपचार सेवाको अवस्था नाजुक रहेको बताउँछन्। ‘जिल्ला अस्पताल र अञ्चल अस्पतालमा साधन÷स्रोत र संरचनाको अभाव र चिकित्सकको दरबन्दी नहुने समस्या छ,’ उनले भने, ‘कोरोनासँग लड्न अहिले पनि संरचना, साधन÷स्रोत र जनशक्ति अभाव छ।’ कोरोनाको संक्रमण फैलियो भने बिरामी राख्ने आइसियु, भेन्टिेलेटरको अभाव रहेको उनी बताउँछन्। सेती अस्पताल, सरकारको अधिकारिक रूपमा ५० शैय्याको मात्र हो। त्यही आधारमा तोकिएका चिकित्सकको दरबन्दी नै अहिले पनि कायम छ। त्यही पनि धेरैजसो स्थान रिक्त रहे। अस्पताल विकास समितिले करारमा राखेर टालटुल गरेको अवस्था मात्र हो। अहिले अस्पतालमा अढाई सय बेड छन्। तर सेती अस्पतालमा बिरामीको चाप हेर्ने हो भने धान्न नसक्ने अवस्था छ। चिकित्सकको दरबन्दी पूरा हुनुपर्ने, भौतिक पूर्वाधार बढाइनुपर्ने र उपकरण थपिनुपर्ने उनको सुझाव छ। ‘भेन्टिलेटर, आइसियुको संख्या बढाइनुपर्छ। प्रदेश सरकारले स्वास्थ्य नीति ल्याएर फड्को मार्नुपर्छ,’ उनी भन्छन्। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ २२ विशेषज्ञको दरबन्दी रहेकामा अस्पतालमा अहिले ६ जना मात्र रहेको बताउँछन्। वि.सं. १९९० मा १५ शैय्या राखेर स्थापना गरिएको यो अस्पताल २०४० सालमा ५० शैय्याको बनाई अञ्चल अस्पतालमा रूपान्तरण गरिएको हो। तर अहिलेसम्म यो अस्पतालले कार्डियोलोजिस्ट, प्याथोलोजिस्टजस्ता विशेषज्ञ चिकित्सकको मुख देख्न पाएको छैन। यो अस्पतालमा नभएपछि प्रदेशका अन्य अस्पतालमा यस्तो विशेषज्ञ हुने कुरै भएन। सुदूरपश्चिमभरिकै रेफरल अस्पतालका रूपमा रहेको यहाँ बिरामीको चाप अत्यधिक हुन्छ। तर चिकित्सक, उपकरण र साधन÷स्रोतको अभावले यो अस्पताल आफैं बिरामीजस्तो छ। 

महाकाली अस्पतालको अवस्था अझ कहालीलाग्दो छ। महेन्द्रनगरनजिकै वेदकोट नगरपालिका–१० निवासी कोरोना संक्रमित ४१ वर्षीय पुरुषलाई पनि उपचार गर्न यही अस्पताल ल्याइयो। जम्मा २७ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अहिले २ जना मात्र उपस्थित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। बाँकी २५ दरबन्दी रिक्त छन्। जसमा १९ विशेषज्ञमध्ये १ जनाको दरबन्दी मात्र पूर्ति छ। करारमा राखिएका चिाकित्सकबाट बिरामीको उपचार भइरहेको उनले बताए। एक मात्र भेन्टिलेटर रहेको महाकाली अस्पतालमा त्यसको पनि एक भाग  नभएकाले सञ्चालनामा छैन। अन्य उपकरण र साधन÷स्रोतको पनि अभाव छ। 

सुदूरपश्चिममा सबै राजनीतिक दलका नेताले वर्षांैदेखि चुनावी अजेन्डा मेडिकल कलेज निर्माणलाई बनाइरहेका छन्। गेटामा मेडिकल कलेजको भवन निर्माणको काम बल्ल अहिले धमाधम भइरहेको छ। 

स्वास्थ्य सेवा पहिलो प्राथमिकता ः मुख्यमन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिममा पहिलेदेखि अन्यजस्तै स्वास्थ्य क्षेत्रको पनि विकास हुन नसक्दा सरकारी अस्पताल व्यवस्थित हुन नसकेको बताउँछन्। प्रदेश सरकारको अब पहिलो प्राथमिकता नै अत्याधुनिक सुविधासहितको स्वास्थ्य संस्था बनाउने रहेको उनको भनाइ छ। कोरोना महामारीले विकसित देशमा समेत उपचार सेवाको व्यवस्थापन सबैभन्दा महत्वपूर्ण रहेछ भनेर स्पष्ट पारेको उल्लेख गर्दै उनी भन्छन्, ‘प्रदेश सरकारको मूल उद्देश्य सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र व्यवस्थित र सुविधा–सम्पन्न बनाउने रहेको छ।’ यस विषयमा मन्त्रीबीच छलफल पनि भइरहेको उनको भनाइ छ। 

कोरोनासँगको लडाइँ जित्न तत्काल गर्नुपर्ने व्यवस्था मिलाउन तथा  दीर्घकालीन रूपमा पनि सुदूरपश्चिममा स्वास्थ्य सेवा प्रभावकारी बनाउने ढंगले प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ। ‘भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर अस्पताललाई अत्याधुनिक र सुविधा–सम्पन्न बनाउने नीति ल्याउँदै छौं,’ उनले भने। यो वर्षको बजेट पनि यसैमा खर्च गरिने र अगामी बजेटमा यी कुरालाई प्राथमिकतामा राखिने उनले बताए। बैतडी, डोटी र कैलालीमा अत्याधुनिक प्रयोगशाला बनाउने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ। यसैगरी प्रदेश अस्पतालमा सिटिस्क्यान, एमआरआईलगायत सबै अत्याधुनिक उपकरण राखिने उनको दाबी छ। 

एक महिनाका लागि ३३ चिकित्सक 

सुदूरपश्चिमका अस्पतालमा चिकित्सकलगायत जनशक्तिको अति  अभाव रहेका बेला गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ महिनाका लागी ३३ चिकित्सक पठाएको छ। सामाजिक विकास मन्त्रालयका डा. चेतराज जोशीका अनुसार वीर अस्पतालमा एमएस र एमडी अध्ययनरत ३३ चिकित्सकलाई यहाँ पठाइएको हो। जसमा फजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलगायत चिकित्सक छन्। तीमध्ये १० जना सेती अस्पताल, ४ महाकाली अस्पताल, ४ दार्चुला, ३ अछाम, ३ बाजुरा, ३ बैतडी, २ डडेल्धुरा, २ बझाङ र २ चिकित्सकलाई डोटी पठाइएको उनले जानकारी दिए। 

‘अहिलेकै अवस्थामा पनि जनशक्तिको अभावले समस्या भएको थियो, तत्काललाई त अलि सहयोग पुग्छ,’ उनले भने, ‘कोरोनाको संक्रमण फैलियो भने सुदूरपश्चिममा उपचारको समस्या हुने देखिन्छ।’ ३३ चिकित्सकले मात्र सुदूरपश्चिमका ९ जिल्लामा रहेको जनशक्तिको अभाव पूर्ति नहुने उनी बताउँछन।

प्रकाशित: ११ वैशाख २०७७ ०३:४२ बिहीबार

चिकित्सक उपकरण सुदूरपश्चिम