हालको जनकपुरधाम प्राचीन समयमा मिथिला नगरीको रुपमा प्रचलित रहेको धार्मिक ग्रन्थहरुबाट ज्ञात हुन्छ । प्राचीन मिथिला, विदेह, तिरहुत हुँदै आज जनकपुरधाम हुन पुगेको यो शहर चौधौँ शताब्दीमा मात्र बढी चर्चामा आएको देखिन्छ । यद्यपि चिनियाँ यात्री यो क्षेत्रबाट आफ्नो यात्राको क्रममा केही खास नाउँबाट यस क्षेत्रको चिनारी गराउने प्रयास गरेका थिए ।
ऐतिहासिक साक्ष्यको आधारमा राम मन्दिरका आदि संस्थापक स्वामी चतुर्भुज गिरी र जानकी मन्दिरका आदि संस्थापक सूरकिशोर दास समकालीन थिए । जब चतुर्भुज गिरी श्रीरामको मूर्ति पत्ता लगाए र पूजा–पाठ सुरु गरे तब उनले पूजा व्यवस्थालाई अझ प्रभावकारी बनाउन तत्कालीन मकवानपुरे राजालाई जाहेर गरे । त्यसबेला यो क्षेत्र मकवानपुर राज्यको अधिनमा थियो । त्यसपछि राज्यबाट विक्रम सम्बत् १७१४ मा श्रीरामको पूजा चलाउन प्रशस्त जमीन विर्ता प्रदान गरेको अभिलेख छ ।
समयको लामो अन्तरालपछि वि.सं. १८३९ मा तत्कालीन राजा रणबहादुर साहको पालामा जेनरल अमर सिंह थापाले पैगोडा शैलीमा राम मन्दिरको निर्माण गराए, जुन तराई क्षेत्रमा पहिलो पैगोडा शैलीको मन्दिर हुन पुग्यो । तब जनकपुर त्यति बेला चर्चामा आएको थियो । सम्भवतः त्यसकै प्रभावबाट टिकमगढकी महारानी वृजभान कुअरिले यहाँ भव्य जानकी मन्दिरको निर्माण प्रारम्भ गरिन् जो वि.सं. १९६७ मा सम्पन्न भै मूर्ति समेत प्रतिस्थापित गरियो । यद्यपि त्यस बेला पनि यो क्षेत्र जंगलकै रुपमा रहेको ऐतिहासिक विवरणबाट थाहा हुन्छ ।
जनकपुरधाममा त्यति बेला भारत, अयोध्याका साधु –सन्तहरुको बाक्लो आवागमन हुने गर्दथ्यो । जानकी मन्दिरको निर्माणमा यी साधु सन्तहरुको योगदान पनि न होला भन्न सकिँदैन । यद्यपि यस बारे कतै उल्लेख भएको छैन । सामान्य कुरा हो, एउटी राजघरानाकी महारानीलाई जनकपुरको सुनसान र आवागमन समेत ओझेलमा रहेको ठाउँसम्म कसरी तान्न सकियो । त्यो पक्कै पनि अयोध्याका सन्तहरुको धार्मिक प्रवचन, जनकपुर र मिथिलाको प्राचीन महिमाको यदा–कदा चर्चा परिचर्चाले गर्दा यसको जानकारी महारानीसम्म पुगेको होला र उनी धर्मका लागि एउटा भव्य मन्दिर बनाउने विचार गर्नुभयो । जब जनकपुरधाममा मन्दिर तयार भै प्राणप्रतिष्ठा पनि भै सकेपछि तिनै सम्भवतः साधु सन्तकै आग्रह, प्रयासबाट तीनै महारानी वृजभानु कुअरिबाट १८९१ ई.मा. अयोध्यामा कनक भवन (राममन्दिर) को भव्य मन्दिरको निर्माण गराइयो ।
जनकपुरधामको पुराना मठ मन्दिरको इतिहास खोतल्ने हो भने यहाँका प्रायः जसो सन्त महन्तहरु उतैबाट आएर यहाँ भगवत भक्तिमा लीन रहेका र त्यसअनुरुप यहाँका मठ मन्दिरको सञ्चालन व्यवस्थापन गरेको पाइएको छ । राम मन्दिर र जानकी मन्दिरको निर्माण र स्थापनाको पृष्ठभूमिमा उतैका साधुसन्तहरुकोे योगदान रहेको देखिन्छ ।
यसै क्रममा राममन्दिरको स्थापना र त्यसको व्यवस्थापन देखिएको छ । राम मन्दिरमा संन्यासी खलकका साधुहरुको वर्चश्व रहने गर्दछ । यसका महन्त र पुजारी पनि संन्यासी नै हुन्छन् । हाल यस मन्दिरको रेखदेख गुठी संस्थानले गर्ने गरेको छ ।
जनकपुरधाममा यी दुईटै प्रसिद्ध मन्दिरको उपस्थितिलाई ध्यानमा राखी पर्वहरुको प्रारम्भ भएको हामी देख्छौँ । मैले सुरुमै भने जनकपुर क्षेत्रमा अयोध्या अर्थात् रामका अनुयायी साधुहरुको वर्चश्व रहेकोले यहाँका धार्मिक पर्व तिहार पनि त्यसैअनुसार अनुष्ठित हुँदै गए । यस कारण पनि जनकपुरधाममा प्रारम्भ भएको रामनवमी र विवाहपञ्चमी महोत्सवको पृष्टभूमिमा अवध परम्पराको पभ्राव प्रष्ट हेर्न सकिन्छ । एउटा श्रीरामको जन्म दिवसको रुपमा रामनवमी र अर्को श्रीरामको विवाह उत्सवको रुपमा विवाहपञ्चमी । निकै पछि आएर अब जानकी नवमीको पनि प्रारम्भ हुन थालेको छ ।
रामनवमीको बदलिँदो स्वरुप
रामनवमी पर्व हिन्दूधर्मशास्त्रको अनुसार चैत शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम, साक्षात विष्णुका सातौ अवतारको रुपमा श्री रामको जन्म भएको शुभ अवसरमा मनाइने पर्व हो ।
“चैत्रे नवभ्यां प्राक पक्षे दिवा पुण्ये पुनर्वसौ ।
उदये गुरुगौरांश्चौः स्वोच्चस्थे ग्रह पञ्चके ।।
मेष्ां पूषणि सम्प्राप्ते लग्ने कर्कटकाहवये ।
आवीरसीत्सकलया कौसल्यायां पर : पुमान ।।”
(निर्णय सिन्धु)
पहिला रामनवमी उत्सव निकै धुमधामका साथ मनाइन्थ्यो । पन्ध्र दिन त सघन रुपमा मनाइन्थ्यो, पछि एक महिनासम्म लम्ब्याइन्थ्यो । ठूला–ठूला भारतीय पसलहरु, सिनेमा, थिएटरहरु, सानाठूला सर्कसहरु लामोे समयसम्म बास बस्थ्यो । त्यस बेला जनकपुर त्यति विकसित सहर थिएन । स–साना पसल हुन्थ्यो । भारतीय उनी कपडालगायत अन्य सामग्री आउँथ्यो । मसलाहरु, भाँडा वर्तनहरु पाइन्थ्यो ।
रामनवमीको एउटा थप आकर्षण हुन्थ्यो पहाडिया गााछीको मेला । अहिलेको नगरपालिका रहेको ठाउँमा रुखहरुको छहारीमा पहाडी मेला लाग्दथ्यो । सुन्तला, भटमास, जडिबुटी, भेँडाको कम्बल आदि आउँथ्यो । महिला पुरुषको सम्मेलन, कहिले काहीँ बिहेको रमिता निकै आकर्षणको केन्द्र हुन्थ्यो । अब ती बितेका घटका भै सकेका छन् ।
रामनवमीमा राममन्दिर नै आकर्षणको केन्द्र हुन्छ । संन्यासीमतका साधु सन्तहरुको राम्रो उपस्थिति एक साता अघि देखि नै हुन थाल्छ । नेपाल–भारतका विभिन्न क्षेत्रबाट आएका यी साधुले दर्शनार्थीहरुलाई थप आकर्षण दिन्छन् । रामनवमीका दिनमा बिहानैदेखि पूजा गर्नेहरुको भीड हुन्छ । गंगासागर, धनुष सागरमा स्नान गरी फूलमाला, प्रसाद साथ राममन्दिरको प्राचीन मूर्ति रहेको मन्दिरमा पूजा गर्नेहरु नेपाल बाहिर भारतका पनि प्रशस्त श्रद्धालु हुन्छन् ।
रामनवमीको मूल तिथिमा भजन कीर्तन मण्डलीबाट श्रीराम जन्मोत्सवको बधाई गाउने चलन छ । त्यही दिन विशेष पूजा अर्चना गर्ने पनि गरिन्छ । भोलिपल्ट अर्थात् दशमी तिथिमा गुठी द्वारा साधु, सन्तहरुका लागि मालपूआको सामूहिक भोज गर्ने चलन छ । पछि मालपूआ प्रसादको रुपमा नगरका प्रबुद्ध नागरिक, सेठ, साहुकार र उच्च पदस्थ अधिकारीहरुकहाँ पठाइन्छ ।
रामनवमीमा आएका साधुहरुको खाना र बिदाई गर्दा दिइने नगद गुठी संस्थानबाट दिइने गरिन्छ । मन्दिरका महन्त रामगिरीले गुठीको पुरानो खुराकबाट मन्दिरको दैनिक पूजा अर्चनाको सम्पूर्ण काम अब सम्भव हुन नसक्दा आफू जनसहयोगमा जरुरी खर्चको व्यवस्था गर्ने गरेको भन्छन् । यसका लागी आफू गुठी संस्थानमा निवेदन पनि दिइसकेको बताएका छन् ।
महन्त गिरीले रामनवमीमा आएका साधु सन्तहरुको सेवा गुठीले राम्ररी गर्दै आएको भनिरहँदा महावीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साह पुरानै दरबन्दीमा सन्त महन्तको सेवा र बिदाइ गर्दा खल्लो लाग्ने भएपछि स्थानीय युवाको सहयोगमा सम्पूर्ण रामनवमी पूजा आराधना कार्यलाई व्यवस्थित गर्ने काम हुँदै गरेको दाबी गर्दछन् । जनकपुरधामको रामनवमी पर्व आफ्नो प्राचीन स्वरुपलार्ई बचाई राख्न त सकेनन् तर आध्यात्मिक प्रक्रियाहरु निरन्तर जारी राखेकोमा जनकपुरधामवासी सन्तोष व्यक्त गर्छन् ।
प्रकाशित: २५ चैत्र २०७६ ०७:३५ मंगलबार