अन्य

नियमितभन्दा दोब्बर पेट्रोल बजार पठाएका छाैँ : निगम

ललितपुरको लगनखेलस्थित पेट्रोल पम्पमा सोमबार तेल भर्न लाम लागेका सर्वसाधरण। पेट्रो पम्पमा यस्तो लाम मंगलबार पनि जारी रह्यो। तस्बिर मोनिका मल्ल : नागरिक

काठमाडौं - बजारमा पेट्रोलियम पदार्थको माग उच्च भएर उपभोक्ता पेट्रोल भर्न लाइनमा बसेपछि नेपाल आयल निगमले उपत्यकामा नियमितभन्दा दोब्बर पेट्रोल बजार पठाएको छ। सामान्य अवस्थामा उपत्यकामा दैनिक ६ सय किलोलिटर पेट्रोल वितरण गर्ने गरेकोमा मंगलबार करिब १२ सय किलोलिटर पठाएको निगमको थानकोट डिपोले जनाएको छ।

बजारमा खपत बढेकाले दोब्बर पेट्रोल आपूर्ति गरेको डिपो प्रमुख विनितमणि उपाध्यायले बताए। कोराना भाइरसको सन्त्रासले पेट्रोलियम पदार्थ आयात रोकिन सक्ने अनुमानका भरमा उपभोक्ताले स्टक राख्न थालेपछि बजारमा माग उच्च भएको हो। ‘नियमितभन्दा दोब्बर पेट्रोल बजार पठाएका छौं,’ उपाध्यायले भने, ‘स्टक राख्नुपर्ने अवस्था छैन।’ निगमले डिजेल पनि सामान्य दिनमा भन्दा धेरै आपूर्ति गरेको छ। थानकोट डिपोबाट दैनिक सात सय किलोलिटर डिजेल वितरण हुँदै आएकोमा मंगलबार १४ सय किलोलिटर वितरण गरेको छ। माग उच्च भएपछि निगमले राजधानीमा इन्धन आयात बढाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)को रक्सौल, बरौनी रिफाइनरीबाट पेट्रोलिय पदार्थ ल्याइरहेकोमा अन्य डिपोबाट पनि ल्याउन थालेको छ।  

निगमको भैरहवा, नेपालगन्ज र अमलेखगन्ज डिपोबाट अतिरिक्त पेट्रोल ल्याउन सुरु गरेको छ।

निगमको भैरहवा, नेपालगन्ज र अमलेखगन्ज डिपोबाट अतिरिक्त पेट्रोल ल्याउन सुरु गरेको प्रमुख उपाध्यायले बताए। ‘राजधानीमा माग बढेपछि अन्य डिपोबाट पनि पेट्रोल ल्याएर धेरै आपूर्ति गरेका छौं,’ उनले भने, ‘एक–दुई दिनमा बजारमा सहज अवस्था हुन्छ।’ थानकोट डिपोमा स्टक तेल पनि रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको निगमले प्रस्ट पारेको छ। ‘विगतमा भन्दा आयात बढाएका छौं,’ उपाध्यायले भने, ‘पुरानो स्टक पनि छ।’ पेट्रोलियम पदार्थको माग बुधबारबाट सामान्य अवस्थामा जाने विश्वास लिएको निगमले जनाएको छ। पेट्रोल पम्पले मागे जति पेट्रोल, डिजेल बिक्री गरेको उपाध्यायले बताए। ‘पम्पले मागे जति दिएका छौं,’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि मूल्य घट्ने अनुमान गरेका पम्प सञ्चालकले सोमबार कम तेल उठाएको कारण पनि मंगलबार पम्पमा भीड बढेको थियो। निगमले पर्याप्त इन्धन भण्डारण बनाएर उपभोक्तालाई आश्वस्त पार्न नसक्दा लाइन बढेको हो। केही उपभोक्ताले ग्यालिन, बोटलमा पनि पेट्रोल भरेर स्टक गरेका छन्। नयाँ मूल्य कायम गरेकाले मगलबार पनि एक बजेबाट मात्र लोड सुरु गर्दा केही समय अभाव देखिएको व्यवसायी बताउँछन्। गत शनिबार निगमले डिपोबाट लोड नदिएका कारण त्यसको असर दुई दिन देखिएको बाग्मती पेट्रोलिय डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले बताए। उनका अनुसार निगमले मंगलबार मागका आधारमा पेट्रोलिय पदार्थ दिएको छ। ‘अहिले मागेजति तेल पाएका छौं,’ उनले भने, ‘अब चाहिए जति बिक्री गर्छौं।’

उपभोक्ताले स्टक राख्न थालेकाले माग बढेको खड्काले बताए। ‘मोटरसाइकलमा दुई–चार लिटर भर्नेले ट्यांकीभरी बनाउँछन्,’ उनले भने, ‘होल्डिङ गर्न थालेकाले माग बढेको हो।’ भारतमा कोरोनाको असर देखिएकाले इन्धन आयात रोकिन सक्ने अनुमानका भरमा उपभोक्ताले स्टक राख्न थालेपछि पम्पमा लाइन बढेको हो। भारतका नाकाबन्दीबाट त्रसित बनेका उपभोक्ताले सामान्य हल्लाका भरमा सवारी साधनका ट्यांकी भर्नुका साथै अतिरिक्त इन्धन संकलन गर्दै आएका छन्। निगमले इन्डियन आयल कर्पोरेसनबाट पनि आयात बढाएको छ। यता बजारमा ग्यास किन्ने उपभोक्ताको लाइन बढिरहेको अवस्थामा ग्यास उद्योगीले आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले मागको आधारमा ग्यास आयात भइरहेकाले ढुक्क हुन उपभोक्तालाई आग्रह गरेका छन्। आवश्यकताभन्दा धेरै सञ्चय नगर्न उद्योगीले आग्रह गरेका छन्।

कोरोनाको त्रासले उपभोक्ताले सबै रित्ता सिलिन्डर भर्न खोजेकाले बजारमा माग बढेको बताए। बजारमा ग्यासको माग बढेपछि निगमले आयात बढाएको छ। औसतमा भारतबाट मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात भइरहेकोमा अहिले ४५ हजार मेट्रिक टन पुर्‍याएको निगमले जनाएको छ। मुलुकभर एक करोड २३ लाख ग्यास सिलिन्डर छन्। उपत्यकामा करिब ४० लाख सिलिन्डर रहेको उद्योगीको दाबी छ।

प्रकाशित: ५ चैत्र २०७६ ०३:४९ बुधबार

पेट्रोलियम_पदार्थ निगम