अन्य

संस्कार, संस्कृति र बौद्ध धर्मदर्शन

गौतम बुद्धद्वारा देशना भएको धर्मदर्शन एउटै भएकाले चिनियाँ बौद्ध धर्म, तिब्बती बौद्ध धर्म, थाई बौद्ध धर्म, श्रीलंकाली बौद्ध धर्म, जापानी बौद्धधर्म र कोरियाली बौद्ध धर्म भनेर छुट्याउन  नहुने  धारणा पाइए पनि  व्यवहारमा भने यसरी नै नाम दिइन्छ। अमेरिकी बौद्ध धर्म, रसियन बौद्ध धर्म लगायत बौद्ध सम्प्रदाय पनि देखा पर्दै छन्।

अन्य दृष्टिकोणबाट हेर्दा यो अभ्यास गलत होला तर बौद्ध धर्मदर्शनबाट  हेर्दा  यसलाई अन्यथा ठानिँदैन।  बौद्ध विषयवस्तुलाई अन्य दृष्टिकोणबाट बुझ्न पनि सकिन्न। बौद्ध धर्मदर्शनको स्वरूप र इतिहासबारे सामान्य जानकारी राख्नेका लागि यसरी विभिन्न नाममा बौद्ध धर्मको पहिचान दिनु स्वाभाविक अभ्यास मानिन्छ। एकपटक सञ्चारकर्मीबाट ‘मृत्यु संस्कारका क्रममा नाम जलाउने चलन छ, यो किन हो’ भन्ने जिज्ञासा राखियो। उनी आफ्नो तामाङ संस्कार र संस्कृतिसम्बन्धी केही सामग्री तयार गर्न  लागिपरेका रहेछन्। त्यस्तै, उनको दोस्रो प्रश्न छाउप्रथासम्बन्धी थियो।

हिन्दू समाजमा महिनावरीलाई विशेष रूपमा लिइन्छ, चार वा सात दिन बार्ने चलन छ। यस अवधिभित्र आ–आफ्नै सुविधाअनुसार नीतिनियम बनाएर पालना गरिँदै आइएको छ। पश्चिम नेपालको पहाडी क्षेत्रमा यसलाई छाउप्रथा भनिन्छ। महिनावरी हुँदा जहाँतहीँ छुनुहुँदैन, गाईवस्तुका दूध दुहुनु हुँदैन। घरमा सुत्दा देवता रिसाउने हुँदा छाउगोठमा सुतिन्छ। महिलाले  छाउगोठमा अकालमा ज्यान गुमाएका उदाहरण हामीसँग धेरै छन्।  महिनावरी र छाउगोठबारे बौद्ध दृष्टिकोण केही पनि छैन। यसै सम्बन्धमा गम्ने हो भने बौद्ध धर्मको स्वरूपलाई नै बुझ्न सकिन्छ।

तामाङ बौद्ध समाजमा मृत्यु संस्कारको क्रममा मृतकको नाम जलाइन्छ भने हिन्दू र बौद्ध धर्मावलम्बी नेवारी समाजमा मृतकसँगै उसको जन्मकुण्डली  जलाइन्छ। यस्तो  चलन  कुन–कुन समाजमा छ भनेर खोज्नु बेग्लै विषयवस्तु हो। यस्ता विषयलाई सम्बन्धित समाजको परम्परा भन्न सकिन्छ। बौद्ध धर्मदर्शनको कुनै सम्बन्ध हुँदैन। मृतकको नाम जलाइने चलनसँग बौद्ध धर्मदर्शनको कुनै सम्बन्ध नभएको सुनेर ती सञ्चारकर्मी छक्क परे। अज्ञानताका कारण धेरै जनामा आफ्नो संस्कार र संस्कृति अरूले अनुशरण गर्छन् भन्ने भ्रम हुँदो रहेछ, नमनाउनेहरूलाई पनि हीन दृष्टिले हेरिँदो रहेछ। सत्ता र शक्तिमा पुगेपछि आफ्नो धर्म र संस्कृति अरूमाथि जबर्जस्ती लादिन्छ। सामाजिक मूल्य र मान्यता आ–आफ्नै खालका हुन्छन् भन्ने ज्ञानको अभावमा सामाजिक द्वन्द्व सिर्जना हुन्छ।

एउटा समाज अर्को समाजसँग पृथक् छ भनेर जनाउने र आ–आफ्नो पहिचान कायम गर्न प्रयत्नशील रहेरै समाजको विकास क्रमिक रूपमा हुन्छ। छाउप्रथा अनुशरण गर्ने समाजमा हिन्दू र  बौद्ध धर्मका मानिस छन्, तर बौद्ध समाजमा महिनावारीले सांस्कृतिक तथा धार्मिक अर्थ राख्दैन। नेवारी बौद्ध समाज हिन्दू संस्कृतिबाट निकै प्रभावित भएकाले महिलाहरू  महिनावारीको समयमा पूजाआजामा सरिक हुँदैनन्। को कति प्रभावित छ भनेर मापन गर्ने एउटा आधार महिनावारीका बेला उसले अपनाउने जीवन पद्धति हो। अन्य बौद्ध समाजमा महिनावरीलाई प्राकृतिक प्रक्रिया मानेर शरीर सरसफाइ ध्यान दिइन्छ।

इस्बीको प्रथम शताब्दीतिर निर्मित चीनको रेशम मार्ग ( सिल्क रोड) भएर सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक हरक्षेत्रले फड्को मारेको पाइन्छ। यही मार्ग प्रयोग गरी अभियन्यताहरू भारतबाट सँगसँगै हिन्दू र बौद्ध धर्म प्रचारका लागि निस्किएका थिए। तर, बीच बाटोबाटै हिन्दू धर्म फर्कनुपरेको र बौद्ध धर्मले आजसम्म त्यस क्षेत्रमा पकड कायमै  राख्नुमा दुई धर्मबीच रहेको स्वरूपको भिन्नता हो। हिन्दू धर्मले संस्कार, संस्कृति तथा चालचलन पनि सँगसँगै बोक्छ भने बौद्धले यिनलाई पृथक् रूपमा हेरेर सँगसँगै लिएर हिँड्नुपर्ने मान्यता राख्छ। शुद्धाशुद्धिका लागि गंगामा दिनहुँ डुबुल्की मार्न सकिए पनि  हिमाली क्षेत्रमा यो सम्भव छैन।

शास्त्रका नियम सबै क्षेत्रमा शास्त्रकारकै अनुरूप हुँदैनन्। रेशम मार्ग भई यात्रा गरेका हिन्दूहरू धर्म प्रचारमा असफल हुनुको मुख्य कारण दर्शनका साथसाथै संस्कार, संस्कृति र सामाजिक मूल्यमान्यतालाई अरूमाथि थोपर्न खोज्नु हो। वर्ण व्यवस्थाअन्तर्गत ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको तहगत मान्यता नयाँ परिवेश र समाजमा कसरी सम्भव हुन्छ ? जातीय व्यवस्थाको मान्यता पनि नयाँ समाजमा स्वीकार्य भएन। यसको ठीकविपरीत अभियन्ताले यथास्थानको संस्कार र संस्कृतिमै  बौद्ध धर्मदर्शनको सिञ्चन गर्दै यात्रा गरेका थिए।

गौतम बुद्ध कुनै आदि पुरुष होइनन्। उनीभन्दा हजारौं वर्षअघि नै पृथ्वीमा मानव समाज विकास भएको थियो। सबैका आ–आफ्नै मूल्यमान्यता थिए। भिन्नाभिन्नै आस्था, विश्वास र धर्म सम्प्रदायका  मानिस  थिए। चालचलन, परम्परा, संस्कार र संस्कृति पनि बेग्लाबेग्लै थिए। गौतम बुद्धले धर्म प्रचारका क्रममा स्थानीय परम्परा तथा संस्कार र संस्कृतिमा खासै ध्यान दिएनन्। जसको जे–जस्तो संस्कार संस्कृति हो, सो कुलधर्म पालना गर्दै बौद्ध धर्मको अभ्यास गर्न सकिने भएपछि धेरैलाई सजिलो भएको थियो। एउटा निश्चित धर्मदर्शनसँगै संस्कार, संस्कृति, रहनसहन र लवाइखवाइ पनि सम्बन्धित भएर अगाडि बढेको पाइन्छ। धर्मसँगै एउटा निश्चित भाषा जोडिएको हुन्छ। तर बुद्धले कुनै भाषालाई प्रश्रय दिएनन्। स्थानीय भाषामा धर्म प्रचार गर्न निर्देश गरिएअनुसार बौद्धधर्मले  कुनै निश्चित भाषालाई प्रश्रय दिँदैन।  

तिब्बतमा बौद्धअघि बोन धर्मको प्रभाव थियो। प्रकृति धर्मका रूपमा रहेको मिचोको प्रभाव ग्रहण गरी बोन धर्मले पकड जमाएको थियो।  बौद्ध धर्मको प्रवेशका क्रममा कतिपय बोन परम्परा र संस्कृतिलाई  आत्मसात् गरिएको थियो। यही कारण बज्रयान बौद्ध धर्म नै भए पनि अलि बेग्लै प्रकारले विकसित भई तिब्बती बौद्ध धर्मका रूपमा परिचित छ। तिब्बती बौद्ध धर्मको प्रभाव नेपालको उत्तरी क्षेत्रमा पाइन्छ। केही वर्षअघि सिन्धुपाल्चोकका दुई तामाङ बस्तीको अध्ययनका क्रममा  एकै बौद्ध लामाद्वारा गरिएको घेवा संस्कार अवलोकन गर्ने अवसर पाइयो। एउटा तामाङ बस्तीमा  बोन धर्मको प्रभाव अलि बढी र अर्को बस्तीमा  कम प्रभाव भएकाले घेवा संस्कार फरक भएको रहेछ।  

कोरियाबाट छैटौं शताब्दीमा बौद्ध धर्म जापान पुग्दा केही वर्ष अस्वीकार गरियो। शिन्तो धर्मको प्रभाव थियो। त्यसैले बौद्ध धर्मले शिन्तोसँग आत्मसात् ग-यो र जापानी बौद्ध धर्म बन्यो। यसरी नै स्थानीय चालचलन आत्मसात् गर्दै श्रीलंका, बर्मा र थाइल्यान्डमा आफ्नै पहिचानसहितको बौद्ध धर्मको विकास भएको छ। बुद्ध अन्य समाजको संस्कार, संस्कृति र परम्परा मासेर वा तिनलाई विस्थापित गरेर कुनै निश्चित संस्कार र संस्कृति स्थापना गर्न चाहँदैनथे। कथंकदाचित स्थानीय संस्कृतिसँग  नमिल्ने भए नमिल्ने हदसम्म बौद्ध धर्मको अभ्यासका क्रममा स्वतः छाडिन्छन्। कतिपय भूगोल वा समाजमा युद्धमार्फत धर्म विस्तार भएको  पाइन्छ। तर बौद्ध धर्म प्रचारप्रसारमा युद्धको कुनै योगदान छैन।

संस्कार, संस्कृति तथा परम्पराहरू नै बौद्ध धर्मदर्शन नभएको भनेपछि विश्वभरका विभिन्न बौद्ध समाजमा स्वयं भिक्षु, आचार्य, गुरु, पुरोहितद्वारा सम्पादन हुने जन्मदेखि मृत्युपर्यन्तका संस्कार के हुन् भन्ने प्रश्न उठ्छ। निश्चित संस्कार, संस्कृति तथा पूजाआजामा वाचन गरिने मन्त्र तथा श्लोक के हुन् भन्ने प्रश्न पनि उठ्छ। यी प्रश्नमाथि छलफल गर्नुअघि ती मन्त्र तथा श्लोकमा कतै पनि समानता नपाइएको विषयको  हेक्का राख्नुपर्छ। काठमाडौंको नेवारी समाजमा बालिकाको इही गर्ने परम्परा छ। इहीको विकल्पमा थेरवादी बौद्ध समाजले केही वर्षयता ‘ऋषि प्रवज्या’ आयोजना गर्छ, जुन अन्य बौद्ध समाजमा पाइँदैन। तामाङ समुदायमा नाम जलाउने काम लामाले बौद्ध मन्त्र वा सूत्र पाठ गरेरै सम्पन्न गर्छन्। प्रचलनमा नै रहेका कुनै मन्त्र वा सूत्र पाठ गर्न सकिन्छ वा आवश्यकताअनुसार सम्बन्धित समाजका लागि रचना गर्न पनि नसकिने होइन। यस प्रकारका संस्कृति बौद्ध धर्मदर्शनभन्दा भिन्न रहे पनि समाजसँग भिज्न  बौद्ध आचार्य तथा अभियन्ताले त्यसलाई आफूअनुकूल प्रयोग गर्दै आएका छन्।

बौद्ध धर्मले निर्दिष्ट गरेका नैतिक मूल्यमान्यता अन्य धर्मका भन्दा खासै भिन्न छैनन्। चोरी गर्नु, झुटो बोल्नु, वेश्यावृत्तिमा लाग्नु, जाँडरक्सी खाएर मात्तिएर हिँड्नु, अपशब्द बोल्नु, बेइमानी गर्नु भन्ने शिक्षा कुनै पनि धर्मले दिँदैन। अन्यत्र नैतिकताको विषय सामाजिक जीवनमा  भिज्न लागू हुन्छ।  बुद्धले यसलाई धर्म अभ्याससँगै जोडिदिए। उनले दुवै खालको अतिवादलाई त्याज्य भन्दै मध्यम मार्ग अपनाउन प्रेरित गरे । व्यावहारिक जीवन जिएरै धर्मको अभ्यास गर्न सकिने भएपछि यो धर्म बुद्धको समयमै  व्यापक रूपमा फैलियो। इस्बीको तेस्रो शताब्दीपूर्वा मौर्य सम्राट अशोक र इस्बीको पहिलो शताब्दीमा  कुषाण राजा कनिष्कको राजकीय संरक्षणमा बौद्ध धर्मदर्शन विस्तार भयो। व्यापकताको यो क्रम अझै बढ्दो छ।  आ–आफ्नो पहिचानजन्य संस्कार र संस्कृतिलाई बौद्ध धर्मदर्शनसँग जोडेर लाने क्रममा चिनियाँ बौद्ध धर्म, तिब्बती बौद्ध धर्म, जापानी बौद्धधर्म, थाई बौद्ध धर्म लगायत सम्प्रदाय जन्मिए।  यो  नै  बौद्ध धर्मदर्शनको विशेषता हो।

प्रकाशित: ४ माघ २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App